पञ्चासे समाज यूकेको अध्यक्षमा सुमलकुमार गुरुङ

एचकेनेपाल डट कम संवाददाता-
अल्डरशटः दिनांक १० जनवरी २०१५को दिन अल्डरशट, बेलायत स्थित निरमाया रोंधिघर रेस्टुरेन्टमा पञ्चासे समाज यूकेको तेश्रो अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ।

समाजको अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न सभालाई समाजका महासचिव जया गुरुङले सञ्चालन गरेका थिए। दिनको २ बजेबाट शुरु भएको अधिवेशनमा समाजका प्रायः सबै सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रमलाई संस्थापक अध्यक्ष ले.रि.दानबहादुर गुरुङ तथा अध्यक्ष सुमलकुमार गुरुङले संयुक्त रुपमा द्वीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए।

स्वास्थ्य तथा सुरक्षा सम्बन्धि समाजका सल्लाहकार आरकुमार गुरुङले सहभागीहरुलाई सम्बोधन गरेपछि समाजका सह–कोषाध्यक्ष तेज गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए। समयको पाबन्दिलाई मध्येनजर गरेर शुभकामना मन्तव्यको क्रमलाई छोट्याउँदै समाजको गतिविधि र प्रत्तिवेदनतर्फ सहभागीहरुको ध्यानाकर्षण गराउँदै महासचिव जया गुरुङले विगत एकवर्षभित्र समाजले सम्पन्न गरेका गतिविधिहरुको प्रत्तिवेदन प्रस्तुत गरेका थिए।

सभाले तुरुन्त अनुमोदन गरेपश्चात फेरी समाजको आर्थिक प्रत्तिवेदन समाजका कोषाध्यक्ष टेकबहादुर गुरुङले पेश गरेका थिए। छोटो अवधिभित्र समाजले गरेको उल्लेखनीय कार्यक्रमहरुबाट समाजको आर्थिक स्थिति सुधार भएको कुरा प्रत्तिवेदन मार्फत उजागर भएको थियो। केही जिज्ञासाको सवाल जवाफ पछि कोषाध्यक्षको प्रत्तिवेदन हलले अनुमोदन गरि पारित गरेको थियो । समाजको विधानमा केहि संशोधन गर्नुपर्ने बुंदाहरु नभएकाले केहि छलफल पश्चात यथावत कायम राखिएको थियो।

अत्यन्त सौम्य वातावरणमा सम्पन्न यस अधिवेशनलाई समाजका अध्यक्ष सुमलकुमार गुरुङले आफ्नो धन्यवाद ज्ञापन तथा मन्तव्य प्रकट गर्ने क्रममा समाजको वर्तमान स्थिति, उपलब्धि तथा भविष्यको योजनाबारे बिस्तृत रुपमा हललाई सम्बोधन गरेका थिए । पञ्चासे क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरुलाई समाजले प्रदान गरेको आर्थिक सहयोग साथै श्री पशुपति उच्च माध्यमिक, विद्यालय, राम्जा ठाँटी, पर्वत तथा चित्रे, पर्वतको श्री जनसिद्धस्कुलहहरुमा अध्ययनरत् जेहेन्दर तथा गरिब विद्यार्थीहरुका लागि एक–एक लाख रुपैयाको अक्षयकोष निर्माण गरेर वर्षेनी प्राप्त हुने ब्याजबाट पुरस्कार दिने विषयहरु उपर पनि प्रकाश पारेका थिए।

अन्तमा सबै सदस्यहरुलाई आभार तथा धन्यवाद ज्ञापन गरेर समाजको कार्यकारी समिति विघटन गरेका थिए तथा समाज द्वारा नियुक्त क्रमशः संस्थापक अध्यक्ष तथा समाजका सल्लाहकार ले.रि. दानबहादुर गुरुङ, सल्लाहकार क्या.रि. भोगबहादुर गुरुङ तथा सल्लाहकार विष्णु गुरुङ रहेका तीन सदस्यीय निर्वाचन मण्डलीलाई नयाँ कार्यकारी समिति चयनका लागि आग्रह गरेका थिए । बन्दसत्रको दौरान लन्च पश्चात निर्वाचन मण्डलीले विधान अनुसार पुनः सुमलकुमार गुरुङको अध्यक्षतामा १५ सदस्य सहितको कार्यकारी समिति नियुक्त गरेको छ।

पदाधिकारीहरुमा क्रमशः उपाध्यक्ष द्वय शिवाराम गुरुङ, खुशिमान गुरुङ, महासचिव जया गुरुङ, सह–सचिव किस्मत गुरुङ, कोषाध्यक्ष टेकबहादुर गुरुङ तथा सह–कोषाध्यक्षमा तेज गुरुङ रहेका छन् । निर्वाचन मण्डलीका संयोजक ले.रि. दानबहादुर गुरुङले पूर्व कार्यकारी समितिको कार्यलाई प्रशंसा गर्दै पुनः त्यही कार्यकारी समितिमा केवल नयाँ उपाध्यक्षद्वयलाई चयन गरि कार्यकारी सेमिति गठन भएकोमा खुशी व्यक्त गर्दै बधाई ज्ञापन गरेका थिए । क्रमशः निर्वाचन मण्डलीका अन्य सदस्यहरु क्रमशः सल्लाहकार क्या.रि. भोगबहादुर गुरुङ र सल्लाहकार विष्णु गुरुङले पनि आफ्नो गहन कुरा समाजको भलाईकालागि व्यक्त गरेका थिए । निर्वाचन मण्डलीले समाजलाई थप टेवा दिनका लागि आमा समुहबाट एउटा उपसमिति सारादेवीको संयोजनमा त्यसैदिन गठन गरेको छ समाजका सदस्य तथा बौद्धिक व्यक्तित्व, एभरेष्ट टाईम्सका सम्पादक हरिकाजी गुरुङले अध्यक्षले निकट भविष्यमा प्रकाशित गर्ने समाजको मुखपत्रको भनाईलाई समर्थन गर्दै समाजको लागि पहल गर्नु पर्ने गहकिला आफ्नो भनाई राखेका थिए।





Comments

comments

3695