बाढीपहिरोका कारण राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति

अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ।

वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति पुगेको छ भने ती स्थानमा यातायात अवरुद्ध भएको थियो । जसमध्ये ३४ स्थानमा अझै अवरोध हटेको छैन भने कतिपय ठाउँमा आंशिक रूपमा सडक सञ्चालन भएको छ।

फाइल तस्वीर

सडक विभागले सडकखण्डमा रहेको अवरोध हटाउने प्रयास जारी राखे पनि भारी वर्षा तथा बाढीपहिराका कारण समस्या भइरहेको जनाएको छ । अवरुद्ध सडक खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सडक विभागका कर्मचारीलगायत खटिरहेका छन्।

अवरुद्ध कतिपय ठाउँमा डाइभर्सन गरेर यातायात आवतजावत गराइएको छ भने कतिपय ठाउँमा सडक मर्मतको काम भइरहेको छ । सडक विभागले कतिपय ठाउँमा मंगलबारसम्मै भारी वर्षा भएकाले सडक खुलाउन अप्ठ्यारो भएको जनाएको छ।

सडक विभागका अनुसार अरनिको हाइवेअन्तर्गत सिरिसेमा ३० असारदेखि सडक अवरुद्ध रहेको छ । यस्तै, अरनिको हाइवेअन्तर्गतको जम्बु र झ्यालेको अवरुद्ध सडक पनि खुल्न सकेको छैन। सडक विभागले अरनिको हाइवेअन्तर्गतकै डाकलांगका विभिन्न तीन ठाउँका सडक अवरोध पनि नखुलेको जनाएको छ। राजधानी दैनिकमा समाचार छ।





Comments

comments

37724