हङकङबाट गएर विपन्नका घर बनाउँदै मनकारी

म्याग्दी, आपत्‌विपत् पर्दा जसले सघाउँछ, गाउँबस्तीले त्यसलाई सम्झन्छ। तिनै सम्झना भइरहनेमध्येका हुन् दलबहादुर शेरवुजा मगर। हङकङमा मासिक २० हजार डलर कमाइ र परिवार छोडेर उनी ६ महिनादेखि म्याग्दीका गाउँ डुल्दै गत वर्षको बाढीपहिरोमा विस्थापितलाई पुनर्वास गराउन खटिएका छन्। गाउँमा सबै खर्च उनको निजी हुन्छ। शेरवुजाका अनुसार कात्तिकयता खल्तीबाट ६ लाख खर्च भइसकेको छ।

उनले दसैंतिहार पहिरोपीडितसँगै पालमा मनाएका थिए । ‘सक्ने मान्छेले आफैं गर्छ, नसक्नेका लागि पो सहयोग गर्नुपर्छ । विपत्ले क्षणभरमै मानिसलाई निरीह बनाइदिन्छ,’ शेरवुजाले भने, ‘विदेशमा आर्जित सीप र समय गाउँलेको सेवामा लगाउन आएको हुँ ।’ बाढीपहिरोले जिल्लामा गत वर्षायाममा धेरै मानवीय तथा भौतिक क्षति पुग्यो।

सबैभन्दा बढी धवलागिरि–६ मराङ र मालिका–७ विम बस्ती प्रभावित भयो । ३२ जनाभन्दा बढीले ज्यान गुमाए । मनसुनजन्य विपत्बाट जिल्लाका एक हजार ६८ परिवारले घरखेत गुमाए । अर्को मनसुन लाग्ने बेलासम्म विस्थापित अझै त्रिपालमुनि छन् । शेरवुजाको पुर्ख्यौली थलो विम हो । घरविहीनमध्ये ४० परिवारलाई पुनर्वास गराउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले नयाँ घर बनाइरहेको छ।

स्थानीयसंग दलबहादुर शेरवुजा मगर

मोनाले स्थानीय सरकारको सिफारिस र गृह प्रशासनको स्वीकृतिमा अति विपन्न परिवारलाई नयाँ घर बनाइदिन लागेको हो । शेरवुजा यिनै ४० घर निर्माणको कानुनी प्रक्रिया मिलाउने, विपन्न परिवार छनोट गर्ने, पुनर्वास गराउने घर/शौचालयको डिजाइन इस्टिमेट, काम लगाउने र गुणस्तर मापन अनुगमनसमेतका काम गर्न ६ महिनादेखि हङकङको आफ्नो व्यवसाय छाडेर गाउँमा खटिएका हुन् । ‘असार २६ गते बिहानको पहिरोले टोलका सबै ५ घर लग्यो । ज्यान बाँच्यो । बर्खाको झरी र हिउँदको जाडो गरी ७ महिना त्रिपालमुनि बित्यो,’ विम नैरुङका ७२ वर्षीय अमप्रसाद दर्जीले भने, ‘बाहिर देश गएकाले उठाएको पैसाले घर बन्दै छ । अबको वर्षा नयाँ घरमा बस्न पाइने आशामा छौं।’

मोनाले विममा १० घर, धवलागिरिमा १४, मंगला, रघुगंगा, अन्नपूर्ण गापा र बेनी नगरपालिकामा ४/४ वटाका दरले ४० नयाँ घर निर्माण थालेको छ । सबै घर सुत्ने कोठा २, एउटा/एउटा बैठक कोठा, भान्सा र शौचालयसहित मोडेलमा भूकम्पप्रतिरोधी हुनेछन् । एउटा तयार पार्दा ५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

पहिरोले जन्मगाउँ विम र छिमेकी मराङका बस्ती क्षतविक्षत भएको समाचार पढेपछि विपत्मा परेका दाजुभाइलाई यो बेला सहयोग नगरे कहिले गर्ने भन्ने लागेर आफू गाउँ आएको शेरवुजाले बताए । उनले सहयोग जुटाएर राहत लिएर आएका थिए । ‘यहाँ आएपछि थाहा पाएँ, पहिरोपीडितलाई दालचामलको होइन पुनर्वासको आवश्यकता छ,’ उनले भने, ‘कतिको त घर बनाउने जमिनसमेत थिएन, त्यसैले निजी आवास निर्माण थालेका हौं।’

यो समाचार कान्तिपुरमा घनश्याम खड्काले लेखेका छन्।





Comments

comments

41346