नेपाली चेलीलाई दुई गोल्ड मेडल, भारतीय राष्ट्रपतिद्वारा सम्मानित

विजय नेपाल / एचकेनेपाल डट कम –
पोखरा, २७ असार। पोखराकी अरुणा पराजुली (तिमिल्सिना) ले भारतस्थित जवाहरलाल नेहरु कृषि विश्वविद्यालयको एग्रिकल्चर इकोनोमी एण्ड फार्म म्यानेज्मेण्ट विषयको स्नातकोत्तर तहमा प्रथम हुँदै दुई स्वर्ण पदक प्राप्त गरेकी छिन्। भारतको मध्यप्रदेशस्थित जबलपुरमा रहेको सो विश्वविद्यालयमा नेपाली चेलीले उच्च अंक ल्याएर दुई अवार्ड प्राप्त गरेको यो पहिलो उपलब्धी हो।

विश्वविद्यालयको हालै सम्पन्न स्वर्ण महोत्सवको अवसरमा आयोजित समारोहमा अरुणालाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उक्त पदक प्रदान गरेका थिए। उनले विश्वविद्यालय नै उच्च अंक ल्याए वापत डी.के. तिवारी स्वर्ण पदक र विभागमा प्रथम भएवापत जेएनकेभीभी स्वर्ण पदक पाएकी हुन्। अरुणाले सन् २०१२/०१३ मा आफ्नो विषयमा सर्वोत्कृष्ट ८६.७ प्रतिशत ल्याएवापत ती दुवै स्वर्ण पदक पाउन सफल भएकी हुन्।

पोखराको २ मिरुवास्थित खगेन्द्रराज र शान्ता पराजुलीकी सुपुत्री अरुणाले पोखराको विन्ध्यश्वरी आदर्श बोर्डिङबाट प्रवेशिका र गण्डकी बोर्डिङबाट विज्ञान विषयमा दश जोड दुई सकेकी थिइन्।

त्यसपछि पूर्वाञ्चल विश्बविधायलयबाट सम्बद्धन प्राप्त काठमाडौको हिमालयन कलेज अफ एग्रीकल्चरल साईन्सस एण्ड टेक्नोलोगी (हिकास्ट) बाट सन् २०१० मा “कृषि अर्थशास्त्र र ब्यापार ब्यबस्थापन“बिषयमा स्नातकतह उत्तीर्ण गरेकी अरुणाले भारतीय दूताबासले प्रदान गर्ने “नेपाल ऐड फण्ड“ नामक छात्रबृत्ति पाएर सन् २०११/१२ मा बिश्बबिधालयमा अध्ययनगर्न पुगेकी थिईन। त्यस बर्ष बिश्बबिद्यालयमा सो बिषयमा अध्ययनका लागि छात्रबृत्ति पाउने उनीमात्र एक नेपाली बिद्यार्थी थिईन्।

सानैदेखि मेहनती र लगनशील अरुणाले यो सम्पूर्ण नेपालीको लागि खुसीको कुरा रहेको बताइन्। उनले आफ्नो सफलताको श्रेय बुवाआमालाई दिन चाहन्छिन्। स्वर्ण पदक ग्रहण कार्यक्रममा परिवारका सदस्यहरुसहित भारत पुगेकी अरुणाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट स्वर्णपदक प्राप्त गरेपछि भारतीय संचारमाध्यमले उक्त विषयलाई प्राथमिकताका साथ प्रसारण गरेका थिए।

यसरी आफू नेपाली नागरिक भई भारतमा आएर विश्वविद्यालयको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुनु र राष्ट्रपतिबाट स्वर्णपदक ग्रहण गर्दा नेपालको पहिचान दिन सफल भएको र यसबाट आफू र आफ्नो परिवार मात्र नभई सम्पूर्ण देश नै गौरवान्वित भएको ती संचारमाध्यमलाई बताएकी थिइन्।

नेपाल कृषिप्रधान देश भएको र देशको अर्थतन्त्रको ठूलो हिस्सा यसले ओगटे तापनि परम्परागत कृषि प्रणाली भएकाले कृषि बजारमा आधुनिकीकरणको आवश्यकता भएको जोड दिँदै आफू भविष्यमा कृषिको व्यवसायिकरणमा काम गर्ने बताउँछिन्।

गत वर्षको माघमा मात्र उनको कास्कीको लेखनाथ–७ अर्घौ निवासी चार्टर्ड एकाउटेण्ट प्रकृतिराज तिमिल्सिनासँग वैवाहिक सम्बन्ध कायम भएको थियो। हाल उनी लि–वर्डअन्तर्गत हुम्लामा प्रोजेक्ट अफिसरको रुपमा कार्यरत छिन्।





Comments

comments

417