प्रणय दिवसको अवसरमा ‘ लभ लेटर ‘ प्रतियोगिता

सुवास मल्ल / एचकेनेपाल डट कम –
पोखरा, फागुन १ – प्रणय दिवसको अवसरमा हरेक वर्षजस्तै यस वर्ष पनि पोखरा विश्वविद्यालय साहित्य समाजको आयोजनामा पोखरा विश्वविद्यालयमा प्रेमपत्र लेखन प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिताको अन्तिम चरणमा छनौट भएका उत्कृष्ट दश प्रेमपत्रको वाचन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न अन्तिम चरणमा ईञ्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल कलेजकी प्रतीक्षा पोख्रेल, गण्डकी कलेज अफ ईञ्जिनियरिङ्ग एण्ड साइन्सेसका स्वतन्त्र एमआर जोशी र स्कूल अफ ईञ्जिनियरिङ्गका सागर पौडेलका प्रेम पत्रलाई सर्वाेत्कृष्ट तीन घोषित गरिएको छ। त्यस्तै पोखराकी मिर्मिषा पराजुली र स्कूल अफ विजनेसकी रक्षा पौडेललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले प्रेमलाई बासना र विकृतिभन्दा माथि उठाउनु पर्नेमा जोड दिए। उनले साहित्यले समाजको प्रगतिको बाटो खन्नु पर्ने समेत उल्लेख गरे। कार्यक्रममा उनले लेखनाथ नगरपालिकाको बारेमा एउटा गीत तथा अन्य केही जागरण गीतहरु समेत गाएका थिए।

प्रमुख अतिथि ढकालले लेखनाथ पौड्यालको कविताका पंक्तिहरु वाचन गरेर शुरु भएको कार्यक्रममा प्रेमपत्रका अलावा केही गजल तथा मुक्तकहरु पनि वाचन गरिएको थियो। सरला लामिछाने सरु, टीकाराम रेग्मी, प्रतीक्षा पोख्रेल, स्वतन्त्र एमआर जोशी र प्रकाश काफ्लेले रचना वाचन गरेको कार्यक्रममा केआर ढकाल र आशिष दनाईले अप्रतियोगी प्रेमपत्रहरु वाचन गरेका थिए।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष सुवास मल्ल र मुक्तक मञ्चकी सचिव सरला लामिछाने सरुले अन्तिम चरणको निर्णायकको भूमिका निर्वाह गरेका थिए। अन्तिम चरणमा पुग्ने सहभागीहरु, पुरस्कृतहरु तथा निर्णायक मण्डललाई प्रमुख अतिथि ढकालले मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रमुख अतिथि ढकाललाई समेत समाजका अध्यक्ष आशिष दनाईले मायाको चिनो अर्पण गरेका थिए।

कार्यक्रम समाजका अध्यक्ष आशिष दनाईको सभाध्यक्षता, सचिव केआर ढकालको सञ्चालन तथा उपाध्यक्ष रोशन तल्कोटेको स्वागतमा सम्पन्न भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4321