एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा !

पाइलटहरूको एउटा परिवार । शुरुमा पिता अनि तीनभाई छोरा पनि बुबालाई पछ्याउँदै पाइलट । संसारमा यस्तो संयोग पनि कमै जुर्छ होला । तेस्रो पुस्तालाई समेत सोही पेशामा लगाउने सोच छ त्यो परिवारको छ। यो पाइलट परिवारले झण्डै ६५ हजार घण्टा विमान उडाएको रेकर्ड समेत बनाएको छ । त्यही रेकर्ड बनाएको परिवारको दोस्रो पुस्ताको जेठो सदस्य हुन् सुवास रिजाल।

रमेश लम्साल –

“अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौ । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’’ कुराकानीको शुरुआत नै यसरी भयो ।

पाइलटहरूको एउटा परिवार । शुरुमा पिता अनि तीनभाई छोरा पनि बुबालाई पछ्याउँदै पाइलट । संसारमा यस्तो संयोग पनि कमै जुर्छ होला । तेस्रो पुस्तालाई समेत सोही पेशामा लगाउने सोच छ त्यो परिवारको छ । यो पाइलट परिवारले झण्डै ६५ हजार घण्टा विमान उडाएको रेकर्ड समेत बनाएको छ । त्यही रेकर्ड बनाएको परिवारको दोस्रो पुस्ताको जेठो सदस्य हुन् सुवास रिजाल।

पाइलट परिवार

नेपालको राष्ट्रिय झण्डा बोकेर उड्ने नेपाल वायु सेवा निगम आफैमा गर्विलो विरासत बोकेको संस्था हो । काठमाडौँको नयाँ सडकको ढोकैमा आकाश भैरवको प्रतिमा शिरमा राखेर ठडिएको यो संस्थाले राजनीतिक उतारचढाव धेरै भोग्यो । सोही संस्थाले दिएको नाम र कामसँग नङ मासु जसरी जोडिएको छ रिजाल परिवार ।

धनकुटाबाट विराटनगर हुँदै काठमाडौँ आइपुगेको रिजाल परिवारले बनाएको प्रतिष्ठा धेरैका लागि लोभ लाग्दो पनि छ । पिता गंगाप्रसाद रिजाल निगमका वरिष्ठ पाइलट थिए । उनी लामो समय सेवा गरेर हाल अवकाश जीवनमा रमाइरहेका छन् । उनका तीन भाई छोरा नै पाइलट छन् । अहिले त उनीहरु पनि वरिष्ठ भइसके ।

कुनै समय थाई एयरलाइन्ससँग जोडिएर आउँथ्यो, निगमको नाम । शाही नेपाल वायु सेवा निगमबाट शुरु भएको यात्रा नेपाल वायु सेवासम्म आइपुग्दा झनै खस्किएको छ । झनै खुम्चिएको छ भन्दा अन्यथा हुँदैन होला । विदेशी एयरलाइन्सको धमाधमको कमाइका अघिल्तिर निगमको गन्तव्य भने सीमित छ । सीमित मात्र होइन झन खुम्चिँदै गएको छ ।
देशभित्रै निजी वायुसेवा प्रदायकले दैनिक दर्जनौँ उडान भर्दा, निगमका जहाज घाम पानी थापेर विमानस्थलमा ग्राउन्डेड हुन बाध्य छन् । आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उड्न सक्छ, सम्भव छ भन्नेहरूका कुरा सायदै सुनिन्छ । पछिल्लो पटक त निगमले ती जहाज व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरिसकेको छ । अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी र दुई वाइडबडीका पनि आ–आफनै कहानी छन् । निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले आँट गरेर जहाज नल्याएको भए आज निगम विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्मा मात्रै सीमित हुन्थ्यो भनेर टिप्पणी गर्नेहरु पनि उत्तिकै छन् ।

निगमलाई धेरै अगाडि बढाउन सकिन्छ, यहाँ त हुँदैन, सकिदैन भन्ने मान्यताले काम गरेको छ । जसले हुँदैन र सकिदैन भन्छन् उनीहरुलाई नै निगमको खास जिम्मेवारी दिइएको आरोप पनि लाग्ने गरेको छ । नेपालको हवाई उड्डयन व्यवसाय रु ९५ अर्ब भन्दा माथिको छ जसमा नेपालमा स्थापित सबै वायुसेवाहरूको कूल हिस्सा रु २० देखि २५ अर्ब मात्र रहेको छ । हामी सबैले कसैको पनि कुभलो नचिताई स्वस्थ प्रतिस्पर्धा गरेरै अघि बढ्दा सम्बृद्धि हाँसिल गर्न सकिने सकारात्मक मत पनि छ ।

निगमका वरिष्ठ पाइलट समेत रहेका सुवास भन्छन्, “उच्च व्यवस्थापनमा रहेकाहरुले जे कुरा सम्भव छैन भनिरहनुभएको छ, त्यो कुरा हामी सम्भव छ भनेर देखाउन सक्छौँ । हामीमा आँट छ, गर्ने ल्याकत पनि छ ।” सबैतिर बन्द भएको उडान तत्कालीन अवस्थामा सुगतरत्न कंसाकार महाप्रबन्धक भएको समयमा शुरु भएको थियो । सुवासको बुझाइमा सन् २०१६ देखि २०१८ को बीचमा झण्डै ४० गन्तव्यमा उडान शुरु भएको थियो । सो समयमा सुवास निगमको अपरेशन डाइरेक्टर रहेका थिए । त्यसपछि झनै गन्तव्य थपिनुपर्ने थियो । नयाँ नयाँ जहाज पनि थपिनुपर्ने थियो ।

अवस्था भने ठिक विपरित भएर गएको छ । आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ जहाज घाम तापेर, बर्षा सहेर बसेको छ । भएका दुई वटा ट्वीनअटर जहाजले कुन कुन गन्तव्यमा उडान भरोस् । निजी विमान कम्पनीले धमाधम उडान भरिरहँदा निगमका जहाज भने पखेटा काटिएको चरा जस्तै रहन किन बाध्य भयो त ? सुवासको टिप्पणी छ “यो पनि सकिँदैन, त्यो पनि सकिँदैन, हुँदैन भन्ने मान्यताले निगममा घर गरेको छ । यो प्रवृत्तिलाई बदलेर, सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिए सबै कुरा सम्भव छ । हामी सम्भव बनाउन सक्छौँ ।”

“जहाज उडाउने भनियो, पाइलट छैन भनिन्छ, इन्जिनियर छैन भनिन्छ, अर्कोलाई दोष लगाउन थालिन्छ तर म यो काम गर्छु, यसरी सम्भव छ भनेर कोही कसैले पनि तयारी गरेको देखिएन । बरु राम्रा काम गरेकालाई हिलो छ्याप्ने काम गरियो”, वरिष्ठ क्याप्टेन सुवास भन्छन्, “जसलाई संस्थाको भन्दा अन्यत्रकै माया छ भने कसरी निगम उभो लाग्छ ।”

गुनासै गुनासाका पोका मात्रै होइन, हामीसँग निगमलाई अगाडि बढाउने मास्टर प्लान पनि छ । खुम्चिएर बसेको निगमलाई फुकाउने, व्यवसायिक कार्ययोजनाका साथ अगाडि बढ्ने सोच पनि छ । विगतमा अगाडि बढाइएका सकारात्मक कार्ययोजना पूरा गर्ने हो भने निगमले चोला फेर्न धैरै पर्खनुपर्ने छैन ।

सुवासको भनाइ छ, “जे हुँदैन, सम्भव छैन भनिन्छ त्यो काम सम्भव छ, गर्न सकिन्छ । निगम पनि अन्य व्यवसायिक निजी कम्पनीभन्दा अब्बल बनाउन सकिन्छ । प्रतिस्पर्धी बनाउन सकिन्छ ।” हुन पनि हो । काम गर्दा भन्दा नगर्दा नै फाइदा भएपछि किन मानिसले दुःख गरोस् ? अहिले निगममा भएको पनि त्यही हो । सायद यसैले हुनसक्छ उनको आक्रोशपूर्ण अभिव्यक्ति देखिन्छ बेलाबखतमा ।

कोरोनाको विपदमा उद्धार गर्नु पर्दा निगमको जहाज चाहिएको छ । स्वास्थ्य सामग्री ल्याउनुपरेको छ, जहाज त फेरि पनि निगमको नै चाहिन्छ तर निगमलाई व्यवसायिक बनाऔं भन्ने सन्दर्भ कहीँ कतैबाट आयो भने, कोही जिम्मेवारी लिन तयार नभएको उनको गुनासो छ । किनकी त्यहाँ जवाफदेही हुनुपर्छ । निगम बनाउँछु भनेर आएका एकाध बाहेक अधिकांशसँग जवाफदेहिता छैन भन्ने आफूले देखेको सुवासको भनाइ छ ।

‘आपत विपदको समयमा काम लाग्ने भनेकै आफ्नाहरु हुन्’ नेपाली समाजमा यो भनाई लोकप्रिय छ । कुनैपनि सार्वजनिक संस्था स्थापना गर्नुको पछाडि पनि यही सामाजिक चरित्रले काम गरेको छ तर निगमलाई आम जनताको संस्था बनाउनेतर्फ कोही कसैले सोचेका छैनन् जस्तो देखिनु आफैमा दुःखद छ ।

निगमका दुई वाइडबडी जहाजमध्ये एउटालाई जानी बुझीकनै बिरामी बनाइएको छ । बिरामी निगम सुधार्न ठूलै पापड पेल्नुपर्ने बताउने सुवासलाई शुरुमा आमाले छोरो डाक्टर बनोस् भन्ने चाहनु भएको थियो । बुबा पाइलट भइहाल्नुभयो अब छोरो डाक्टर बनोस् भन्ने भएपनि परिस्थितिले पाइलट नै बनाइदियो । पिता गंगाप्रसादका तीन भाई छोरा नै पाइलट बने ।

बनारसमा आइएस्सी सकेपछि सुवास पाइलट पढ्न अमेरिका गए । सन् १९८८ मा उनी त्यहाँ पुगेर करिब १० महिनामा १०–१२ हजार अमेरिकी डलर खर्च गरेर अध्ययन गरे र व्यवसायिक पाइलट बनेर फर्किए । उनले नेपाल फर्केपछि जहाज उडाउने सपना बोकेर आएका थिए तर त्यति नै बेला भने निगमसँग पर्याप्त जहाज थिएनन् । त्यसमाथि सरकारी संस्थान भएकाले सजिलै जागिर पाउने कुरा पनि थिएन ।

जहाज उडाउन नपाएपछि केही समय शिक्षक भएको स्मरण गर्छन्, सुवास । बेरोजगार पाइलट भनेर पहिलो अन्तरवार्ता दिने पनि मै थिएँ, सुरुवाती दिनहरुको स्मरण उनी यसरी गर्छन् । संयोगले तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठसँग भेट्ने अवसर मिल्यो । मरिचमानले विस्तारमा सुवासहरुको कुरा सुने । उनलाई भेटेको कही समय लगत्तै सुवासलाई रोजगारीको खवर आयो ।

नेपाल एयरलाइन्सका पाइलट सुवासले ट्वीनअटर, बोइङ हुँदै अहिले एयरबस ३२० उडाइरहेका छन् । उनले आफनै पितासँग एउटै ककपिटमा बसेर पनि जहाज उडाएका छन् । सन् १९६७ मा पाइलट बनेका गंगाप्रसाद, सन् २००३ मा अवकाश भएका हुन् ।

कुनै बेला बाबु छोराले जहाज हाँक्ने सुवासका दाजुभाई पनि बेला बेलामा त्यस्तै संयोग मिलेर आएको हुन्छ । भाइ श्रवणसँगै सुवासले एअरबस ३२० उडाउँछन् । अहिले भाई एअरबस ३३० मा छन् भने सुवास ३२० मा प्रशिक्षक पाइलट रहेका छन् । केही वर्ष पहिले तीनै जना दाजुभाई एअरबस ३२० उडाउँथे ।

क्याप्टेन गंगाप्रसादका तीन भाइ छोरा, तिनै जना पाइलट । “बुबाले झण्डै १८ हजार घण्टाभन्दा भन्दा बढी उडाउनुभयो” सुवास भन्छन्, “मेरो नै २१ हजार घण्टा माथि पुग्यो । भाइहरुको १८– १८ हजार घण्टा माथि पुग्यो । यसबाट प्रष्ट हुन्छ हाम्रो परिवारको मात्रै ६५ हजार घण्टाभन्दा माथि जहाज उडाएको पुगेको छ ।”

विभिन्न क्षेत्रमा नयाँ रेकर्ड कायम भएका छन् । चारैजना एउटै एयरलाइन्स राष्ट्रिय ध्वजाबाहकमा काम गरेको पनि विरलै पाइन्छ । एउटै संस्थामा लामो समयसम्म आवद्ध भएर बसेको पनि लामो नै भएको छ । “पिताजी ८० पुग्नुभएको छैन । म ५३ वर्ष भएँ । भाइहरू मभन्दा चार वर्ष कान्छा छन् ।” सुवासले पारिवारिक पृष्ठभूमि बताए । माइला सुदीप पनि केही पहिले निगमको पाइलट थिए । अहिले उनी संयुक्त राष्ट्रसङ्घमा कार्यरत छन् ।

विराटनगर–४ बरगाछी स्थायी ठेगाना भएपनि रिजाल परिवार काठमाडौंँमा नै बस्यो । सुवासमात्रै विराटनगरमै जन्मिएका हुन् । सुदीप र श्रवण काठमाडौंमै जन्मिए । सुवासले भानुभक्त र ल्याब्रेटरी स्कुल पढेका हुन् ।
सुदीप र श्रवणले सिद्धार्थ वनस्थलीमा पढे । खासमा सुदीप र श्रवण पाइलट बन्न खोजेका थिएनन् तर पछि उनीहरु पनि अन्तिममा पाइलट बन्न पुगे । सुदीप–श्रवणले इन्जिनियरिङ पढेका हुन् । त्यसमा पनि सुदीपको सफ्टवेयरमा इन्जिनियरिङ हो । श्रवणको इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङ विषय थियो ।

इन्जिनियरिङ सकेर दुबै जना नेपाल फर्केर जागिरको खोजी शुरु भयो । तर केही गर्दा पनि पाउन सकिएन । काम गर्ने ठाउँ नै पाउन सकिएन । के गर्ने त भन्ने जिज्ञासाका बीचमा दुबै जनाले पाइलट पढ्ने निधो भयो । पाइलट कोर्सका लागि अमेरिका गए ।

बाबु र जेठा छोरा जतिबेला सँगै जहाज उडाउँथे त्यसबेला माइला र कान्छा भने पाइलट कोर्स पढ्दै थिए । सन् १९९७ मा पाइलट कोर्स सकेर आउँदा निगममा नै जागिर खुलेको थियो । बाबु र तीन भाइ छोरा सबै निगमको नै जागिरे पाइलट भए ।
सुवास र श्रवण अनुभवी पाइलटका रुपमा स्थापित छन् । दाजुभाई नै एकै पटक ककपिटमा रहँदा कस्तो अनुभव हुँदो रहेछ त ? “अरुजस्तै सामान्य” सुवासको छोटो उत्तर थियो । झण्डै अढाई सय हाराहारी उडानमा दाजुभाइ सँगै हुन्छन् । प्रायः एकैसाथ उडेका छौँ । दाजुसँगै एउटै ककपिटमा धेरै उडान भरेका सुदीपले भने बुबासँग जहाज उडाउन पाएको अनुभव छैन ।

उनलाई बेला बेलामा मलाई त्यो सौभाग्य भने मिलेन भन्ने लाग्दछ । एउटै ककपिटमा रहँदा दाजुभाइको नाता कि एउटा व्यवसायिक पाइलटको सम्बन्ध ? कुन बढी देखिन्छ ? हाम्रो अर्को जिज्ञासा थियो सुवाससँग । उनले भने, “दाजुभाई भन्दा पनि साथी जस्तो लाग्छ मलाई । उडेपछि हामी साथीभाइ ।” श्रवणको पनि उस्तै भनाइ छ “ककपिटमा बस्दा दाजुभाइ भन्ने जस्तो नै हुँदैन ।”

नेपालका अधिकांश विमानस्थलमा उडान भरेको अनुभव छ, सुवाससँग । यस्तै अनुभवको खानी नै छ श्रवणसँग पनि । रुम्जाटारबाट काठमाडौँका लागि उडेको ट्वीनअटर जहाजको एकापट्टिको इन्जिन उड्नेवित्तिकै बन्द भयो । जहाजलाई नियन्त्रण गर्नुको विकल्प थिएन उनीसँग । रुम्जाटारै फर्किन पनि सकिएन । काठमाडौँ सजिलै अवतरण गराउनु ठूलो चुनौती थियो तर बन्द भएको इन्जिन दस मिनेट पछाडि स्टार्ट भयो र सङ्कट टर्यो ।

उनीहरुसँगको कुराकानी सुन्दा लाग्छ कि हवाई उडान आफैंमा जोखिमपूर्ण हो । त्यो नेपालमा मात्रै नभई संसारभर नै उस्तै हो । मात्रै जोखिम नियन्त्रण गर्ने उपाय खोज्नुपर्छ । “उडान मार्ग परिवर्तन गर्दै खराब मौसमलाई चिर्ने हो । आकाशमा समस्या हुन्छ नै अमेरिकाको आलास्कामा यहाँको भन्दा बढी जोखिम छ तर पनि उडान त भइरहन्छ” सुवासको भनाइ छ ।

एयरबस उडाउने १२ जना पाइलटमा वरिष्ठमध्ये एक हुन् सुवास । अफगानिस्तानबाट नेपालीको उद्धारका लागि भएको उडानमा सुवास र श्रवण नै गएका थिए । त्यहाँ अवतरण गरेको केही समयमै विमानस्थलको एक भागमा बम विष्फोट भएको थियो । यस्ता दर्जनौँ उदाहरण छन् उनीहरुसँग ।

सन् १९९९ डिसेम्बर २४ मा इन्डियन एयरलाइन्सको एयरबस ए–३०० अपरहणमा परेको थियो । त्यसपछि नेपाल वायु सेवा निगमको जहाज नै काबुलका लागि सोझो उडान भरेको थियो । रिजाल दाजुभाइले पटक पटक आफनो ऐतिहासिक दायित्व पूरा गरेका छन् । विगतमा अपरशेन डाइरेक्टर भएर ४० गन्तव्यमा नेपाली ध्वजाबाहक जहाज पुर्याउने श्रेय समेत सुवासको नाममा छ । व्यवसायिक हितका लागि काम गर्दा निगमको हित नचिताउनेहरुले दुःख दिएपनि त्यसको परवाह नगर्ने स्वभाव छ मेरो, सुवास स्पष्ट भन्छन् । निगममा पटक पटक प्रमुख व्यवस्थापक परिवर्तन भए । पूर्व सचिव सुशील घिमिरे दोहोर्याएर अध्यक्ष बने । मदन खरेल पनि दोहोर्याएर कमान सम्हाल्न पुगे तर अवस्था जहाँको त्यहीँ रहेको छ । उनीहरु दुवै जना कार्यकाल नै पूरा नगरी राजीनामा दिएर हिँडे । निगमलाई बचाउन सफलता प्राप्त होस् भनी धेरैले दिएको आशीर्वाद, बधाई र सफलताका शुभकामनाहरु फेरि अधुरै रहेको गुनासो उत्तिकै छ । यो नियति दोहोरिरहँदा नेपालको राष्ट्रिय ध्वजावाहकलाई माया गर्नेहरु पटक पटक मर्माहत हुनु परेको बताउँछन् वरिष्ठ क्याप्टेन सुवास ।

आँट गरेर ल्याएको अन्तर्राष्ट्रिय उडान गर्ने चारवटा जहाजको भरमा निगमको साख कति दिन जोगिएला ? धेरैको जिज्ञासा छ । वरिष्ठ क्याप्टेन सुवासको भनाइ छ– मौजुदा अवस्थालाई परिवर्तन गर्न आँट चाहिन्छ । त्यस्तो आँटका लागि प्लान चाहिन्छ । टिम पनि चाहिन्छ । विद्यमान व्यवस्थापनले त्यो काम गर्न सक्दैन ।

नयाँ सोचका साथ काम गर्नैपर्छ । निजी सेवा प्रदायकले गर्न सक्छ भने निगमले किन गर्न सक्दैन ? तपाईले जिम्मेवारी पाए निगमलाई सुधार गर्न सक्नुहुन्छ ? हाम्रो यो प्रश्नको उत्तरमा सुवास धेरै आशावादी देखिए । भने, “निगमलाई धेरै सुधार गर्न सकिन्छ । छ महिनामा परिणाम दिन सकिन्छ । निगम भित्रका तमाम विकृति पनि हटाउन सकिन्छ । दर्जन बढी जहाज पनि किन्न सकिन्छ । गन्तव्य पनि विस्तार गर्न सकिन्छ । नसकिने भन्ने केही पनि छैन । सबै सम्भव छ । गर्न सकिन्छ ।”

त्यो काम हामी गर्न सक्छौँ । कुराकानीको विट मार्दै वरिष्ठ क्याप्टेन सुवासले भने, “एउटा इतिहास बनेको परिवारको एउटा सदस्य भएकाले पनि मेरो रगतमा नै निगम छ । निगम डुबेको होइन, निगम फैलिएको हेर्ने धोको छ । किनकी मेरो परिवारको रगत पसिना नै यसका लागि बगेको छ । मेरा लागि यसको विकास र विस्तारभन्दा अरु कुनै स्वार्थ छैन ।”

रासस





Comments

comments

Leave a Reply

43281
%d bloggers like this: