रविन लिङदेन / एचकेनेपाल डट कम-
हङकङ, “प्रकृतिलाई पूजौं, आफ्नो संस्कार संस्कृतिलाई माया गरौं” भन्ने नाराको साथ किरात धर्म दर्शन अनुसार सावायेतहाङ खिवेक्वा यक्वा सेवा (उभौली पूजा), साकमुरा वादेम्मा सेवा (गाली श्राप वगाउने पुजा) तथा ङा–लाधुङसेमी सेवा (सुख, शान्ति र समृद्घिको कामना पुजा) सम्पन्न भएको छ।
प्रकृति पूजक किरातीहरुको सामजिक मुम्धुम अनुसार नयाँ रोपेको अन्नबाली राम्रो होस् भनि खिबेक्वा यक्वा सेवा गरिन्छ भने वर्ष भरिको गाली श्रापलाई बगाउदै प्रकृतिका मानव जगत चर–अचर प्राणीहरुको रक्षा, सुख शान्ति र समृद्घिको कामना पुजा गरिने चलन अनुसार यस वर्ष पनि मङकी हिल डाडामा सेवा सम्पन्न भएको हो।
किरात धर्म तथा सहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङद्वारा आयोजना गरिएको सेवामा सेवासावा (किरात धर्मका पुजारी) हरुद्घारा उक्त सेवा गरिएको हो। किरात मुन्धुम (धर्म दर्शन) अनुसार सावायेतहाङ खिवेक्वा यक्वा सेवा, साकमुरा वादेम्मा सेवा तथा ङा–लाधुङसेमी सेवा छुट्टा–छुट्टै गरिएको थियो।
सेवामा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष मोहनमान नेम्बाङले सेवाको वारेमा वताउदै आदि अनादिकाालदेखि नै किरात समुदायको आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति, पर्वहरु विद्यमान रहदै अएको वताए। किरात युगपुरुष येहाङ, सोधुङगेन लेप्मुहाङ, मावोहाङ तथा शिरीजङगाहाङद्घारा स्थापित किरात धर्म दर्शन तथा मौलिक संस्कारहरु विचलन हुदै आएकोले किरात धर्मलाइ महागुरु फाल्गुनन्द लिङदेनको जन्मावतार भइ उहाँले किरात धर्मलाई पुनरउत्थान गरेको नेम्बाङले वताए। महागुरु फाल्गुनन्द लिङदेनले धर्मलाई स्थापित गरि सत्य र अहिंसाको मार्गमा किरात सन्ततीलाइ डो¥याएको वताए।
गाली सराप वगाइरहेको अवस्थामा झरि परेकोमा किरातीहरुमा राम्रो हुने वताउदै पुजामा उपस्थित संघका सचिव इन्द्र लोक्समले त्यहाँ भइरहेको अवस्था तथा किरात धर्मको वारेमा ब्याख्या गरेका थिए। उनले उभौलि पूजा, गाली सराप पूजाको वारे भक्तजनहरुलाई प्रष्ट्याएका थिए।
किरात मुन्धुम अनुसार गरिएको सेवामा सेवासावा (पुजारी) हरु उत्र बहादुर राई, कसिव राई, शान्ती आङवोहाङ रहेका थिए भने मुख्य सेवासावामा तुलकहङ तुम्सा रहेका थिए।
हङकङमा सन २००४ देखि यस्तो सेवा गरिदै आएको छ। किरातीहरुमा वर्षमा एक पल्ट गाउंघरतिर पनि समुदाय मिलेर यस्तो सेवा गर्ने चलन रहि आएको छ। धर्मका अनुयायीहरु तागा र मेख्लीले सजिएर सेवामा आएका थिए। किरात धर्म अनुसार पुजामा सवैले फूल अक्षता र सतबीउ–पलबीउ चढाएर सेवा गरेका थिए।
बीबीक्यू स्थानमा गरिएको सेवामा मासु पोल्ने चुल्हामा फल–फूल राखिएको थियो भने अन्य चुल्हाहरु खालि देखिएका थिए।