एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, फागुन ५ – नाट्यकर्मी कृष्ण शाह यात्रीको परिकल्पना एवं निर्देशनमा नाटक ‘हर्कबहादुर’ काठमाडौंको राष्ट्रिय नाचघर लगायत ललितपुर र भक्तपुरका विभिन्न प्रेक्षालयहरूमा मञ्चन गरिएको छ। गीतकार दिनेश अधिकारीको चर्चित कविता ‘हर्कबहादुर’मा आधारित यस नाटकलाई ज्योतिपुञ्ज साइन थिएटरले प्रस्तुत गरेको हो।
हरिऔनका बासिन्दा हर्कबहादुर नाटकमा केन्द्रिय पात्र हुन्छ। मानिसहरु उसलाई दाउरे, चाउरे, काले आदि नामले बोलाउँछन्। उसले आफ्नो सक्कली नाम सुन्न बाबुको सराद्दे नै पर्खनु पर्ने हुन्छ। रातदिन नाङगो आङले धर्ती जोत्दा समेत एक छाक खान र एक सरो लाउन धौ–धौ पर्ने हर्कबहादुर एक प्रतिनिधि नेपाली पनि हो। ऊ गाउँका सभा समारोह जाँदा टिठ लाग्दा आँखाले घरी झण्डा र घरी आफ्नो नाङ्गो आङलाई हेर्छ। अनि बोल्छ –
‘मान्छेको प्रयोगमा आउनुभन्दा पर
वस्तुको कुनै उपयोगिता छैन भने
बटुलेर संसारभरीका झण्डाहरु
लुगा सिउँदा
हरेक नाङ्गोलाई भाग पुग्छ
हरेकलाई कछाड र मजेत्रो पुग्छ ।’
मेहनती हर्कबहादुर पीडाका अनेक आवरणले बेरिएको हुन्छ। उसकी सात वर्षे छोरी सर्पले टोकेर उपचार नपाइ अभावमा मर्छे। अनिकालबाट जोगिन छोरो मुग्लान भासिन्छ। दुःख रित्तिदैन। बाढिले उसको गाउँ नै बगाउँछ। ऊ एक्लो हुन्छ। त्यतिबेला उसको नागरिकता, राष्ट्रियता र स्वाधिनतामाथि निर्लज्ज भई राजनीति गर्न खोज्नेहरुप्रति घृणा लाग्छ। छातीमा आफ्नै शहीद तस्बीर टाँगिरहेको हर्कबहादुरको दूरावस्था देखेपछि नाटकको सुत्रधारले निश्कर्ष निकाल्छ –“हर्कबहादुरको देश छैन। ऊ जुनै पनि गाउँ, सहर र देशमा भेटिन सक्छ। हर्कबहादुर एकलब्यको नयाँ संस्करण हो ।”
कविता नाटक ‘हर्कबहादुर’मा अशोक शिवाकोटीले एकल अभिनय गरेका छन्। उनले कविताका विम्बलाई अनेक सङकेत, स्वर र अभिनयद्वारा कलात्मक रूपमा प्रस्तुत गरेका छन्।
कविता मञ्चनमा नियमित काम गर्दै आएका निर्देशक यात्रीले यसअघि महाकवि देवकोटाको ‘बाघले बच्चा किन खान्छ?’, भूपी शेरचनको ‘हामी’ र ‘यो हल्लै हल्लाको देश हो’, भीमनिधि तिवारीको ‘दागबत्ती’, बैरागी काइलाको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’, पूर्ण विरामको ‘त्यो योद्धा को हो?’, विप्लव ढकालको ‘निर्जन बन्दरगाह’, गोबद्र्धन पूजाको ‘अनामनगरकी अम्बिका’ लगायत दर्जनबढी कवितालाई रंगमञ्चमा मञ्चन गरिसकेका छन्। यात्री भन्छन्, “नाटक जत्तिक्कै मेहनत गर्नु पर्ने हुन्छ कविता मञ्चनमा पनि। मलाई आख्यानात्मक र नवीन विम्बका कविताहरू मञ्चमा उतार्न मन पर्छ।”