को बन्दैछन् नयाँ गभर्नर ?

काठमाडौं, फागुन ६ – बहालवाला गभर्नरको पदावधि सकिनु एक महिनाअघि नै नयाँ नियुक्ति गर्नुपर्ने प्रावधानअनुरुप बिहीबारसम्म नाम घोषणा हुनुपर्नेछ। तर, यसपालि नयाँ गभर्नर नियुक्तिको सुरसारै थालिएको छैन।

गभर्नर युवराज खतिवडाको पदावधि चैत ७ गते सकिँदैछ। सरकारले भने नयाँ नियुक्तिका लागि नाम सिफारिस गर्न समिति नै गठन गरेको छैन। नियमअनुसार मन्त्रिपरिषद बैठकले अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गर्छ। जसले तीन जनाको नाम सिफारिस गर्ने र त्यसैमध्येबाट नियुक्ति गर्ने कानुनी प्रावधान छ।

सिफारिस समिति गठन नभएकाले सरकारको मुख्य आर्थिक सल्लाहकारका रूपमा अर्थतन्त्र सबल राख्न प्रमुख भूमिका निर्वाह गर्नुपर्ने भाबी गभर्नरको दौडमा अन्तिम तीन प्रतिस्पर्धी को हुने र त्यसमध्ये कसले बाजी मार्ने टुंगो लागिसकेको छैन।

अन्तिम समय आइपुग्दा दौडमा रहेका सम्भावित उम्मेदवारबीच शक्तिकेन्द्र धाउने क्रम सुरु भइसकेको स्रोत बताउँछ। मन्त्रिपरिषद तथा अर्थ मन्त्रालय स्रोतहरूका अनुसार मुख्य चार उम्मेदवार प्रतिस्पर्धाको अग्रस्थानमा छन्– पूर्व अर्थसचिवद्वय रामेश्वर खनाल र युवराज भुषाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल। यी चारै उम्मेदवार कांग्रेस कोटाका हुन्। यसपालि गभर्नर नियुक्ति कांग्रेस कोटाबाटै गर्ने तयारी रहेको मन्त्रिपरिषद स्रोत बताउँछ।

अन्य सम्भावित उम्मेदवारमा डेपुटी गभर्नरद्वय महाप्रसाद लामिछाने र गोपाल काफ्ले, सिटिजन्स बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्की, पूर्व मुख्यसचिव विमल कोइरालालगायत पनि चर्चामा रहेको स्रोत बताउँछ।

प्रतिस्पर्धामा रहेका यी नाममध्ये अर्थमन्त्री रामशरण महतले रुचाएका व्यक्ति रामेश्वर खनाल हुन्। उनले अर्थसचिवका रूपमा खनालसँग लामो समय सँगै काम गरेका छन्। आर्थिक क्षेत्रमा दक्षता र वित्तीय मामिलामा आन्तरिक तथा बाह्य निकायहरूसँग कुशलतापूर्वक कुरा राख्नसक्ने खुबी भएकाले अर्थमन्त्री महतले उनलाई नै भाबी गभर्नर बनाउन चाहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार अर्थसचिव हुँदा राम्रो कार्यदक्षता देखाएकाले गभर्नरका रूपमा पनि राम्रो काम गर्न सक्ने हुँदा उनको सम्भावना बढी छ। नेपाली कांग्रेस प्रवेशपछि समानुपातिक सभासदमा समेत नपरेकाले अहिले गभर्नर बनाउनुपर्छ भन्नेहरू धेरै छन्।

आर्थिक तथा वित्तीय सुझबुझ र दक्षता हुँदाहुँदै दुइटा कमजोरी देखाएर पार्टीभित्रै खनालको आलोचना पनि भइरहेको मन्त्रिपरिषद स्रोत बताउँछ। एकीकृत माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार बन्न गएको र श्रीमती स्टक ब्रोकर रहेका आधारमा उनलाई गभर्नर बनाउन नहुने तर्क अघि सारिएको स्रोतको भनाइ छ।

अर्का प्रत्यासी शंकर शर्माको अर्थमन्त्री र प्रधानमन्त्री दुवैसँग राम्रो सम्बन्ध छ। सत्तासाझेदार नेकपा एमालेले पनि सजिलै समर्थन गर्नसक्ने भएकाले भाबी गभर्नरमा उनको उच्च सम्भावना रहेको मूल्यांकन गरिएको छ। राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रूपमा उनले आफ्नो खुबी देखाइसकेका छन्। अमेरिकाका लागि राजदूत हुँदा पनि राम्रै काम गरेका थिए।

उनीमाथि पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि योजना आयोगको उपाध्यक्षबाट राजीनामा नदिएर पदको लोभ देखाएको आरोप भने छ। कांग्रेसभित्र एकथरि समूह यही कारण देखाएर ‘अरू कोही योग्य व्यक्ति नै नभएजस्तो सधैं शर्मालाई मात्र पद दिइरहनुहुन्न’ भन्दै गभर्नर बनाउन नहुने पक्षमा लागेका छन्।

तेस्रा दाबेदार पूर्व अर्थसचिव युवराज भुषालले योजना आयोगमा लामो समय काम गरेका छन्। उनी जागिरे जीवनको अन्तिम समयमा अर्थसचिव बनेका थिए। योजना आयोगबाट एकैपटक अर्थसचिव बनेकाले उनको पकड मजबुत देखिन्छ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलका सम्धी भएकाले पनि उनको सम्भावना बढी रहेको स्रोत बताउँछ। उनले यही आधारमा लीलामणि पौड्याललाई हटाएर मुख्यसचिव हुने प्रयास गरेका थिए। प्रधानमन्त्री सुशील कोइरालाले नमान्दा उनको प्रयास पूरा भएको थिएन।

यसपालि भने पौडेल आफैं भुषाललाई गभर्नर बनाउन लागिपरेको कांग्रेसका एक नेताले जनाए। पार्टी महाधिवेशनका कारण आन्तरिक समीकरण मिलाउन यसपटक कोइरालाले उनको कुरा मान्ने सम्भावना रहेको ती नेताको भनाइ छ। अर्थमन्त्री महतसँग पनि भुषालको सम्बन्ध राम्रै छ।

अर्का प्रतिस्पर्धी चिरञ्जिवी नेपाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार हुन्। प्रधानमन्त्री कोइराला र अर्थमन्त्री महत दुवैसँग राम्रो सम्बन्ध भएका उनलाई कांग्रेस नेतृ सुजाता कोइराला र रामकृष्ण ताम्राकारको समर्थन छ। उनी धितोपत्र बोर्ड प्रमुखसमेत रहिसकेका छन्।

भावी गभर्नरका यी चारै दाबेदारसँग राम्रो सम्बन्ध रहे पनि अर्थमन्त्री महत पार्टीका बफादारभन्दा दक्षलाई गभर्नर बनाउनुपर्ने पक्षमा रहेको मन्त्रालय स्रोतको भनाइ छ। ‘गभर्नरले विदेशीहरूसमक्ष नेपालको प्रतिरक्षा गर्नुपर्ने र अनेकौं आर्थिक तथा वित्तीय मुद्दामा अडान लिनुपर्ने भएकाले उच्च दक्षता भएको हुनुपर्ने उनको मान्यता छ,’ अर्थ स्रोतले भन्यो।

राष्ट्र बैंक कर्मचारी नियमावलीमा पदावधि सकिनु एक महिनाअघि नै विदा बस्नुपर्ने प्रावधान भए पनि गभर्नरको हकमा यो लागू हुँदैन। त्यही भएर गभर्नर खतिवडा तत्काल विदा नबस्ने उनका निकट स्रोत बताउँछ। नागरिक दैनिकमा समाचार छ।





Comments

comments

4477