देशविदेशका पचास जनालाई नइ पुरस्कार

काठमाडौं, २०७८ असोज २३ गते

नइ प्रकाशनले आज राजधानी काठमाडौमा नइ रजत महोत्सव मनायो।

नइ रजत महोत्सवका अवसरमा वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले प्रा.डा.वासुदेव त्रिपाठीलाई पाँच लाख रुपियाँ राशिसहित ‘महासमालोचक’को उपाधि र ‘नइ रजत महोत्सव पुरस्कार’ समर्पण गर्नुभयो । डा.त्रिपाठीलाई बहुआयामिक, समन्वयवादी र युगकै केन्द्रीय समालोचक उल्लेख गरेर उहाँकै उचाइको सप्तनाग जडित ताम्रपत्र समर्पण गरिएको छ । सोही अवसरमा उहाँलाई एक लाख रुपियाँ राशिको ‘नइ ईश्वर बराल पुरस्कार’ पनि समर्पण गरियो।

नइ प्रकाशनको रजत महोत्सवका अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीलाई ‘नइ रजत महोत्सव पदक’ समर्पण गर्नुभयो । आजै सो पदक प्रा.डा.महादेव अवस्थी, प्रा.केशव सुवेदी, प्रा.डा.लक्ष्मणप्रसाद गौतम लगायत पचास जनालाई समर्पण गरिएको थियो । निकट भविष्यमा सो पदक देशदेशान्तरका महानुभावहरूलाई पनि समर्पण गरिने भएको छ।

समारोहमा भारतीय नेपाली साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाख रुपियाँ राशि सहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरिएको थियो।
नइ प्रकाशनले कोरोना महामारीका कारण २०७६ र २०७७ सालका पुरस्कार समर्पण गर्न सकेको थिएन । यी दुवै वर्षका पुरस्कार आज समर्पण गरिएका हुन्।

२०७६ सालका जनही एक लाख रुपियाँ राशिका पुरस्कारमध्ये जनप्रिय र विशिष्ट चिकित्सक डा.गौरीशङकरलाल दासलाई ‘नइ भावि पुरस्कार’, नेपालको राष्ट्रिय झण्डाका मानक निर्माता इन्जिनियर शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, अन्तर्राष्ट्रिय स्तरको अभिनयका लागि मनीषा कोइरालालाई ‘नइ भूपालदुर्गा पुरस्कार’, जनचेतनाका लागि हास्यव्यङ्यका नायकद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवङ्श आचार्यलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, विशिष्ट साहित्यकार झापाका चूडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’, धर्म तथा संस्कृतिमा योगदान पुर्‍याउने प्रा.डा.सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’, विशिष्ट सङ्गीतकार प्रा.दीपक जङ्गमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकाका गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण भयो।

त्यसै गरेर साठी हजार रुपियाँ राशिका ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र ‘नइ रेखा पुरस्कार’ साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई समर्पण गरियो । साथै जनही पचास हजार रुपियाँ राशिका ‘नइ बुलु शर्मा पुरस्कार’ रुपन्देहीका दुर्गा पौडेललाई, ‘नइ देरुनीख गौरव पुरस्कार’ साहित्यकार महेश थापालाई र ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिङ्गी सोफी सुनुवारलाई समर्पण गरियो । त्यसै गरेर मिस मङ्गोल सुश्री सिविरा लामालाई पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिएको थियो।

वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले नौजना बाल बालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । दस हजार रुपियाँ राशिसहित पुरस्कृत हुनेहरूमा विनम पोखरेल, कीर्ति पोखरेल, आयुष्मा तिवारी, सुश्री सन्ध्या खत्री, प्रोशेष पाण्डे, सुश्री लुँस्वां मानन्धर थिए । साथै सात हजार रुपियाँ राशिबाट पुरस्कृत हुने रेवती महर्जन तथा सुप्रिया विष्ट र पाँच हजार राशिसहित पाँच वर्र्षीय कृति राई थिए।

वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले आज २०७७ सालका जनही एक लाख रुपियाँ राशिका पुरस्कारमध्ये सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि प्रा.डा.दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’, सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमानका लागि कमल थापालाई नइ कीर्तिनिधि पुरस्कार, नेपाल टेलिभिजनको स्थापना, नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, विशिष्ट चिकित्सक डा.मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’, विशिष्ट चित्रकार शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’ र राजधानी बाहिर रहेर साहित्यको साधना गर्ने रुपन्देहीका जङ्गबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरियो।

भाषासाहित्यमार्फत नेपाली राष्ट्रिय एकतामा जोड दिने प्रा.डा.राजेन्द्र विमल ‘नइ भूपालदुर्गा पुरस्कार’, साहित्यको सिर्जना र वाङमय संस्थाको निर्माण, विश्व कविता यात्रामार्फत नेपाली भाषाको गौरव वृद्धिका लागि वसन्तकुमार चौधरी ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र म्युजिक नेपालको स्थापना गरी नेपाली गीतसङ्गीतको संरक्षण सम्बर्धन र सम्प्रसारका निम्ति सन्तोष शर्मा ‘नइ भाजप पुरस्कार’बाट सम्मानित हुनुभएको छ।

त्यसै गरी साठी हजार रुपियाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’बाट साहित्यकार घनश्याम राजकर्णिकार र जनही पचास हजार रुपियाँ राशिका ‘नइ बुलु शर्मा पुरस्कार’बाट राजधानीबाहिर बसेर भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित झापाकी भवानी क्षत्रीलाई ‘नइ बुलु शर्मा पुरस्कार’ र हिन्दूधर्म, संस्कृति र समाजसेवामा समर्पित भागवत मञ्जरी श्री राधिका दासीलाई ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिएको छ । पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’बाट साहित्यकार युवराज अधिकारी ‘स्मरण’लाई पुरस्कृत गरिएको छ।

शताब्दी पुरूष डा.सत्यमोहन जोशीले नौजना बाल बालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । आज दस हजार रुपियाँ राशिसहित पुरस्कृत हुनेहरूमा सोइना दाहाल, सुविन रिमाल, देभान्स अग्रवाल, सफलता श्रेष्ठ, अदिति उपाध्याय र ऋषान्त घिमिरे थिए भने सात हजार रुपियाँको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’बाट समीर डङ्गोल र सुश्री युकी कुँवर पुरस्कृत भए । साथै पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’बाट पाँच वर्षीय दृश्ना महर्जन सम्मानित भएकी थिइन्।

शताब्दी पुरूष डा. जोशीले नइ प्रकाशनबाट यस वर्ष प्रकाशित १६ वटा कृतिको पनि लोकार्पण गर्नुभयो।

श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, पूर्व उपप्रधानमन्त्री कमल थापा, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन





Comments

comments

45696