नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना..

नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ।

पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन्।

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ।

पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सबैजसो देवी मन्दिर बन्द गरिएको थियो । यस वर्ष भने जोखिम कम हुँदै गएकाले भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित मन्दिर भने खुला गरिएको छ । यस वर्ष नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भीड लागेको छ।

प्रशासनले कोरोना जोखिम कम देखिए पनि महामारी नहटेकाले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दसैँ, तिहारजस्ता चाडपर्व मनाउन आह्वान गरेको छ । तीनै तहका सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेरमात्र चाडपर्व मनाउन आह्वान गरेका छन्।

शक्तिपीठमा भक्तजनले मास्क लगाएपनि दूरी कायम हुन नसकेको मैतीदेवी मन्दिरमा पूजा आराधना गर्न पुग्नुभएकी दर्शनार्थी सविता सिग्देलले सुनाए।

रासस





Comments

comments

45727