भानभुक्तलाई विवादमा तान्नु जोखिमपूर्ण

माधव अधिकारी / एचकेनेपाल डट कम –
काठमाडौं। आदिकवि भानुभक्त आचार्यलाई विवादमा तान्नु नेपाली साहित्यका लागि जोखिमपूर्ण भएको धारणा चितवनमा आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन्।

भानुभक्त द्वितशतवार्षिकी समारोह नारायणी अञ्चल समितिले शनिवार आयोजना गरेको कविता वाचन तथा विचार विर्मश कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्।

तस्वीरः माधव अधिकारी / एचकेनेपाल डट कम

कार्यक्रममा बोल्दै कवि तीर्थ श्रेष्ठले साम्प्रदायिकताका नाममा विखण्डनमा देश फँसिरहेको बेला भानुलाई विवादित बनाउनु खतरापूर्ण भएको बताए। युवा समालोचक महेश पौड्यालले भानुभक्त आदिकवि हुन् या होइनन् भन्ने विवाद निरर्थक भएको बताउँदै भानु नेपाली संस्कृतिका साझा संयोजक भएकोमा जोड दिए।

राष्ट्रिय एकताका प्रतीकलाई विवादमा ल्याउने क्रममा भानुभत्तलाई पनि प्रहार गर्न खोजिएको भन्दै समालोचक पौड्यालले वधुशिक्षा लगायतका कृतिलाई तत्कालीन परिस्थिति र चेतनाका आधारमा मुल्याङ्कन गरिनुपर्ने आवश्यकता औल्याए।

कवि सुमन पोखरेलले भानुभक्त पहिलो लोकप्रिय कवि भएकाले उनीनै आदिकवि भएको धारणा राखे। समारोहमा चितवन, पोखरा, हेटौंडा, रौतहट, विराटनगर, बारा, तनहूँ, गोर्खा, पर्सालगायतका स्थानबाट आएका ३० जना कविहरुले कविता वाचन गरेका थिए।

सरस्वती प्रतीक्षा, सरिता तिवारी, जेनन नेपाल, तेजविक्रम देबकोटा, अनिल श्रेष्ठ, लालबहादुर क्षेत्री, पुरुषोत्तम, ढकाल, प्रतिमा पाठक लगायतका कविले देशको समसामायिक वेतिथिमाथि गुनासो गर्दै कविता वाचन गरेका थिए।

भानुभक्त द्वितशतवार्षिकी समारोह नारायणी अञ्चल संयोजक भूपिनको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठ रहका थिए। कवि किसान प्रेमीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन कवि निमेष निखिलले गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

464