सेभेन इलिभेन पसल लुट्ने २ नेपालीमध्ये १ जना पक्राउ..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ डिसेम्बर । गत बुधबार (१५ तारिख) चिम शा चुईको अस्टिन रोडस्थित एउटा सेभेन इलिभेन पसलमा लुटपाट भएको थियो।

दुईजना दक्षिण एसियाली त्यस दिन बिहान पेय पदार्थ किन्ने बहानामा पसलभित्र प्रवेश गरे र बिल तिर्न काउन्टरमा पुगे। जब महिला क्लर्कले नगद खोलिन् तब दुईले आफ्नो फोल्डिंग चक्कु देखाएर ८४० हङकङ डलर लुटेर भागे।

क्लर्क महिलाको बायाँ पाखुरामा चोट लागेको थियो। घटनालाई डकैतीको रूपमा वर्गीकृत गरेर प्रहरीले अनुसन्धान थाल्यो।

याउ सिम जिल्ला प्रहरीको अपराध अनुसन्धान टोलीले सीसीटीभि फूटेजको गहिरो अनुसन्धान गरेर अपराधीको खोजीमा लागे।

प्रहरीले घटनामा संलग्न ४३ वर्षीय एक नेपालीलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका हङकङ आईडी होल्डर नेपालीबाट अपराधको बेला लगाएका लुगा र करीब ६ सय डलर बरामद गरेको छ। प्रहरीका अनुसार उनी लागुऔषधको बानी परेका निर्माण मजदुर थिए। उनले लागुऔषधका लागि पैसा लुटेको स्वीकार गरेका छन्।

प्रहरीले घटनामा संलग्न अर्का नेपालीको खोजी गरिरहेको जनाएको छ। प्रहरीले अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने बताएको छ। प्रहरीले लुटपाटलाई गम्भीर अपराध बताउंदै यस्तो अपराधको बाटोमा नलाग्न भनेको छ।





Comments

comments

47320