भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानीसँग भेटवार्ता

कोपनहेगन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता गर्नुभएको छ।

युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नुभएको हो । कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गर्नुभएको प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ।

भेटवार्तापछि प्रधानमन्त्री मोदी रानी मार्गरेटले आयोजना गर्नुभएको रात्रीभोजमा समेत सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यहरुसँग पनि भेटवार्ता गर्नुभएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमर्ककी रानी मार्गरेट द्वितिय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। एक दिने डेनमर्क भ्रमणका क्रममा उहाँले अति व्यस्त कार्यतालिकाकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरु गर्नुभएको छ । उहाँले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नुभएको थियो।

प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ संभावनाहरुका बारेमा छलफल गर्नुभएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उहाँले डेनमार्कमा छलफल गर्नुभएको छ। सोमबारदेखि तीन दिने युरोप भ्रमण सुरु गर्नुभएका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुग्नुभएको हो।

उहाँले भ्रमणको पहिलो दिन नै सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गर्नुभएको थियो । उहाँहरुका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल गर्नुभएको बताइएको छ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिनुभएको जानकारीअनुसार प्रधानमन्त्री मोदीले यस पटक युरोप भ्रमणका क्रममा उहाँले युक्रेनमाथी रुसको हमलाका बारेमा पनि धेरै जसोसँग छलफल गर्नु भएको छ । सोमबार जर्मनीबाट युरोप प्रवेश गर्नुभएका प्रधानमन्त्री मोदीले मङ्गलबार डेनमार्कको भ्रमण गर्नुभएको छ भने बुधबार फ्रान्सको भ्रमण गर्नुहुने भएको छ। रासस / एएनआई





Comments

comments

50340