नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो , अमेरीका। बहुचर्चित गलबन्दी, पीर, बोलमायां जस्ता गीतहरु गाएर चर्चित बनेका गायक प्रकाश सपुतले कोलोराडोमा बेजोड प्रस्तुती दिएका छन्।
अमेरिकाको विभिन्न शहरमा सांगीतिक कार्यक्रम दिने उद्धेश्यले अमेरीका आएका प्रकाशले शनिवार साझ डेनभर साउथ हाईस्कूलमा आफ्नो प्रस्तुती दिएका हुन्। बहुचर्चित गीत पीरबाट प्रस्तुती थालेका उनले गलबन्दी, मायाका कुराले, बोलमयां, कुराबुझ्नु पर्छ जस्ता गीतहरु गाएर सबै उमेरका श्रोता दर्शकलाई नचाएका थिए।
दिदीबहिनी समूह कोलोराडोको आयोजामा सांझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन भएको कार्यक्रममा स्थानीय कलाकारहरु महादेव त्रीपाठी, संझना पाण्डे, बसन्त लम्साल, दिपक गौतम, मनोजकाजी तुलाधर, रुपेश न्यौपाने, प्रकाश पौडेल लगायतका कालाकारहरुले बिभिन्न सुमधुर गीत मार्फत श्रोता दर्शकहरुको मन जित्न सफल भएका थिए।
त्यसैगरी ऐश्वर्या तिवारी, परी चौलागाई दिया ढकाल लगायतका बाल कलाकारहरुले नेपाली लोक संगीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा महादेब त्रीपाठीले जादु पनि देखाएका थिए।
दुई बर्ष भन्दा बढि कोरोनाको त्रासले कुनै ठूला मनोरञ्जनात्मक कार्यक्रम हुन नसकेको कोलोराडोमा सांस्कृतिक कार्यक्रममा यतिधेरै सहभागीता यसअघि कहिल्यै नभएको सहभागीहरुको प्रतिकृया थियो। कार्यक्रममा कलाकार तथा प्रायोजकहरु सबैलाई दिदीबहिनी समूहका सदस्यहरुले खादा लगाईदिई प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए।
नेपाल र अमेरिकाको राष्ट्रियगानको धुन बजाएर शुरु गरिएको कार्यक्रममा दिदीबहिनी समूहका सांस्कृतिक समितीका संयोजक शान्ति भुषालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य मार्फत स्वागत गरेकी थिईन्। कार्यक्रम किरण अधिकारी र यमुना केशीले संचालन गरेका थिए।
कार्यक्रमको अन्त्यमा दिदीबहिनी समूहका संयोजक धन पौडेलले नेपाली भाषी दाजुभाई दिदीबहिनीहरु भेलाभई नाचगानको माध्यमबाट मनोरञ्जन गरी लामो समयदेखि मनमा रहेको डर त्रास भगाउदै दैनिक जीवनलाई लयमा फर्काउन राष्ट्रिय स्तरका कलाकारमार्फत कार्यक्रम आयोजना गरिएको बताइन् । उनले अहोरात्र खटेर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने दिदीबहिनी, कलाकार, सबै सहयोगी दाताहरु तथा कार्यक्रममा सहभागीहरु सबैलाई धन्यवाद दिएकी थिईन्।