बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका । २६ सय ४६ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोको डेन्भर डाउनटाउनमा शनिबार शान्ति पदयात्रा सम्पन्न भयो।

कोलोराडोमा सकृय संस्था बौद्ध समाजको आयोजनामा बुद्धको जन्मभूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसारभर फैलाउन शान्ति यात्राको आयोजना गरिएको हो।

शान्ति यात्रा शुरु हुनुअघि डाउनटाउनस्थित सिभिक सेन्टर पार्कमा बौद्ध गुरु लोपेन रिन्पोछे, खेम्पो ज्ञान दोर्जे (बसन्त) लामा सोनाम शेर्पाबाट बुद्धको विशेष पूजा र मंगल पाठ गरेका थिए।

बुद्ध पूजापछि गुरु लोपेन रिन्पोछेले बुद्धको महावाणी र बुद्धत्व प्राप्तिको बारेमा प्रवचन दिएका थिए।

पूजापाठ र प्रवचनपछि सोही स्थानबाट शुरु भएको शान्ति पदयात्रा १६ स्टिट महल परिक्रमा गरी पुनः सिभिक सेन्टर पार्कमा आई कोण सभा गरी बिसर्जन गरिएको थियो। यात्रामा सहभागीहरुले बुद्धको प्रतिमालाई खटमा राखेर बोकेका थिए।

नेपालको झण्डा, बुद्धको तस्विर, ध्वजा पतंगा लिएर धिमे बाजाको तालमा नगर परिक्रमा गरेका थिए। कार्यक्रममा कोलोराडोमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। यात्राको क्रममा स्थानीयहरुले ताली बजाएर तथा हात हल्लाएर स्वागत र समर्थन गरेका थिए।

शान्तियात्रा पछिको कोण सभालाई सम्बोधन गर्दै रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका पूर्व अध्यक्ष तथा समाजसेवी शरद आचार्यले कोलोराडोमा २०१६ देखि बुद्धको जन्मभूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसारभर फैलाउन बुद्ध पूर्णिमाको अवसर पारेर कार्यक्रम आयोजना गर्न थालिएको र बुद्धजयन्ती कार्यक्रमलाई आगामी वर्षमा अझ व्यापक बनाउन सबैलाई आग्रह गरे। बौद्ध समाज कोलोराडोका सचिव संजय शाक्यले कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

50634