हङकङबाट पोखरा जाँदा कोरोनाका कारण ज्यान गुमाएका बिल तामाङको पूण्य तिथीमा वृद्धहरुलाई भोजन

केशव पाठक / एचकेनेपाल डट कम –

पोखरा । सहारा क्लव पोखराले स्वर्गिय बिल तामाङको प्रथम वार्षिक पूण्य तिथीमा बुधबार एक कार्यक्रमको आयोजना गरी उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

स्वर्गिय बिल तामाङ

क्लबले स्व. तामाङको पूण्य तिथीमा पोखरा १७ स्थित पोखरा वृद्धाश्रमका वृद्ध–वृद्धाहरुलाई भोजन तथा फलफूल प्रदान गर्नुका साथै एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरेको हो। तामाङको गत वर्ष कोभिड १९ का कारण उपचारका क्रममा ४४ वर्षको उमेरमा पोखरामा निधन भएको थियो। पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका तामाङ एफसी ‘ए लेभल’ लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक समेत थिए।

फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

सहारा हङकङका संस्थापक महासचिव हुँदै वरिष्ठ उपाध्यक्षसमेत भएका स्व.तामाङ १९ औं संस्करणको आहा रारा फुटबल प्रतियोगिता र एफसी ए लेभल फुटबल प्रशिक्षकको लाइसेन्स प्राप्तीका लागि हङकङबाट पोखरा आएका थिए।

पोखरा वृद्धाश्रममा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहारा क्लवका पूर्व अध्यक्ष विरभद्र आचार्यले सहारा क्लवले फुटबल विकासका लागि प्रतिवद्ध व्यक्तित्वको निधनले ठूलो क्षती पुगेको बताए। उनले भने–“विदेशमा बसेर पनि स्व. तामाङ संधै फुटबलप्रति प्रतिवद्ध थिए । उनले पोखरामा फुटबल विकासका लागि योजना तयार गरेका थिए। क्लवले उनको सपनालाई साकार पार्न छिट्टै छलफल अघि बढाउने छौं।”

कार्यक्रममा पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले स्व.तामाङको निधनले फुटबलका लागि अपूरणीय क्षति पुगेको बताउँदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष केशव वहादुर थापा, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, महासचिव रामजी प्रसाद अधिकारी, सह कोषाध्यक्ष बिनु राना, कार्यसमिती सदस्य रोजिना राना, अग्रज खेल पत्रकार सुदर्शन रञ्जित लगायतको सहभागिता रहेको थियो। यसअघि स्व. तामाङप्रति मौन धारण गर्नुका साथै तस्विरमा माल्यापर्ण गरेका थिए। उक्त कार्यक्रम अग्रज खेल पत्रकार रञ्जितको पहलमा भएको थियो ।





Comments

comments

50700