यसरी जालमा पर्यो, १३ वर्षपछि रानीबारी हत्याकाण्डका नाइके…

काठमाडौं, चैत ३ – रामेछापका प्रमेश चौहानले करिब नौ वर्ष कारागारमा बन्दी जीवन बिताए। त्यस अवधिमा त्यहाँ धेरै किसिमका अपराधमा सजाय पाएका कैदीहरुसँग उनको संगत भयो। २० वर्षकै उमेरमा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जेल सजाय पाएका चौहान फूर्तिलासमेत रहेकाले थोरै समयमै जेलका रमणीय नाइके भए। त्यसको केही समयपछि भाइ नाइके बने। अनि नाइके हुँदै नौ वर्ष जेल बिताइसक्दा आचरण सुधारको सुविधामा उनले जन्मकैदको सजायबाट उन्मुक्ति पाए।

केन्द्रीय कारागारमा रहँदा उनले पटक–पटक रानीबारी प्रसंग निकाल्ने गरेको र बाहिर गएपछि पनि त्यस्तै गर्ने गरेको सोचाइ राखेको सुराकी नेपाल प्रहरीले गत असोजमा पायो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सो सम्बन्धमा अनुसन्धान गर्न डीएसपी भीम दाहालको नेतृत्वमा टोली बनाएर खटायो। सोही टोलीले रानीबारीको अनुसन्धान गरिरहँदा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्याकाण्डको सुराकी फेला पारेर उता मोडिएपछि केही ढिला भएको थियो। धनुषा प्रहरीले चोरी काण्डको अनुसन्धान गर्दा न्यायाधीश बमको हत्याको सुराकी फेला परेपछि दाहाल नेतृत्वको टोली सर्लाही र धनुषा पुगेको थियो सोही क्रममा रानीबारी हत्याकाण्ड केही समय पर सरेको समाचार आजको राजधानी दैनिकले छापेको छ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान टोलीले सुरुमा प्रमेशको पिछा गर्न थालेको थियो। त्यही क्रममा म्यानपावर व्यवसायी लीलामाया गिरीलाई हत्या गर्न लगाउने उनकै श्रीमान् सीताराम रेग्मीको समेत सुक्ष्म अध्ययन गर्न थालिसकेको थियो। लीलामायाको हत्या प्रकरणमा मनराज गुरुङ डेढ वर्ष सजाय पाएर निस्केको र घटनाको सबै जिम्मेवारी प्रमेशले लिएको भन्ने तहसम्म पुगेपछि एक महिनाअघिदेखि प्रहरी मनराजको पिछा गर्न थालेको थियो।

एक महिनाअघि सीआईबीमा कार्यरत एक प्रहरीले मनराज र प्रमेशसँग दोस्ती बढाउँदै गएका थिए। सीआईबीले खटाएको प्रहरी मनराज र प्रमेशको निकै मिल्ने साथीमध्येमा परेपछि गुन्डागर्दी गर्न र हप्ता असुली गर्ने तहसम्मको योजनामा संलग्न हुने गरे। यसै क्रममा ठूला आपराधिक घटनामा आफू संलग्न रहेको बताउँदै जाँदा मनराजको पुरानो फोटोसमेत हात पारे। त्यतिले मात्रै होइन, प्रमेशसँग जेल बसेका व्यक्ति पनि प्रहरी र मनराजका मिल्ने साथी भए। उनीहरुले धेरै पटक सँगै मदिरा पान गरे।

शहरमा ठूला आपराधिक घटनाको विषयमा आफू प्रहरीबाट बच्न सफल भएको फूर्ति पनि लगाए। मनराजले पनि रानीबारी घटना आफैंले गरेको भए पनि अहिलेसम्म प्रहरी उल्टो बाटो हिँडिरहेको एक पटक होइन, पटक–पटक बताएपछि प्रहरीको निसानामा परेका हुन्।





Comments

comments

5096