‘नानी, तिम्रो अनुहार डढाउने व्यक्ति पक्राउ पर्‍यो नि !’

काठमाडौं, चैत ७ – राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालको बर्न वार्डमा पल्टिएर एसएलसी दिइरहेकी तेजाबपीडित संगीता पुलामी मगर शुक्रबार सहयोगीलाई नेपाली विषयको ११ नम्बर प्रश्नको उत्तर टिपाउँदै थिइन्।

अचानक उनकी आमा चमेली चिच्याउँदै भित्र पसिन् र भनिन्, ‘नानी, तिम्रो अनुहार डढाउने व्यक्ति पक्राउ पर्‍यो नि!’

आमाले ल्याएको खबरले उनको अनुहार एकाएक चम्कियो। सायद आफू एसएलसी दिइरहेकी छु भन्ने पनि बिर्सिइन्। खुसीले उनका हातखुट्टा थर्थराउन थाले । सहयोगी सोनम तामाङको हातमा सल्बलाइरहेको कलम पनि केही बेर रोकियो।

‘मलाई त परीक्षाहलबाट निस्केर त्यो अपराधीलाई पनि तेजाब नै छ्यापेर पीडा दिन मन लाग्यो,’ संगीताले अपराधी पक्राउ परेको खबर सुनेपछिको क्षण व्यक्त गर्दै नागरिकसँग भनिन्, केही बेर खुसी पनि भएँ र आवेशमा पनि आएँ।’

आमा चमेलीले शुक्रबार बिहान १० बजेतिर छोरीलाई यो खबर सुनाएकी थिइन्।

‘मेरो अनुहार डढाउने अपराधी समातेर प्रहरी अंकलहरू परीक्षामा पास हुनुभयो,’ संगीताले मुस्कुराउँदै भनिन्, ‘अब त्यो अपराधीलाई जन्मकैदको सजाय दिनुपर्छ । बल्ल मलाई शान्ति मिल्नेछ।’

यो खबरले आफूलाई एसएलसी दिन थप हौसला मिलेको उनले सुनाइन्। ‘अब म तनाबमुक्त भएर एसएलसी दिन्छु,’ उनले भनिन्, ‘राम्रो नम्बर ल्याएर पास हुन आत्मविश्वास बढेको छ।’

संगीताका अनुसार आक्रमणकारी जीवन विक तीन वर्षअघि उनी बस्ने घरकै माथिल्लो तलामा डेरा गरी बसेका थिए। त्यतिबेला नै एकोहोरो हेरिरहने गरेको उनले सम्झिइन्।

‘एकदिन म दशरथ रंगशालामा कराँते सिक्न जाँदा उसले प्रेमपत्र दिन खोज्यो, मैले लिइनँ,’ संगीताले भनिन्, ‘मलाई त्यो मान्छे मनै पर्दैनथ्यो, उसको हर्कत देखेर मैले त्योसँग ट्युसन पढ्न पनि छाडेको थिएँ।’

यसबारे भाइ सन्तोषलाई सुनाउँदै उनीहरूबीच एक वर्षअघि कुटाकुटसमेत भएको संगीताले सुनाइन् । संगीताले आफ्नो आक्रमणकारीसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिन्।

दुई परिवारबीच दुस्मनी रहेको चमेली बताउँछिन् । ‘हाम्रो दुस्मनी जीवनको परिवारसँग हो भनेर प्रहरीलाई पहिल्यै भनेका थियौं,’ उनले नागरिकसँग भनिन्, ‘प्रहरी अनुसन्धानमा उसको परिवारका सबै आए तर जीवन नआएपछि हाम्रो शंका बढ्यो र मैले नै प्रहरीलाई जीवनसँग बयान लिन आग्रह गरेकी थिएँ।’

वीर अस्पतालको शड्ढयाबाट एसएलसी दिइरहेकी अर्की घाइते सीमा बस्नेतलाई भने प्रहरीले नै यो खबर सुनाइदिएका थिए।

उनी खुसीले हाँस्न थालिन्। आधाजस्तो प्रश्नको उत्तर लेखिसकेकी थिइन्। प्रहरीको पत्रकार सम्मेलनमै सामेल हुने इच्छा लाग्यो उनलाई। रौतहटकी सीमालाई तेजाबले भन्दा बढी पीडा नातेदारले दिए, नागरिक दैनिकमा समाचार छापिएको छ।

‘अब सत्य बाहिर आयो, मनबाट ठूलो तनाब हटेको छ,’ उनले भनिन्।

दुई महिनाकी हुँदै आमा र बुबा दुवैले छाडेर गएपछि सीमा मावली हजुरआमाको काखमा हुर्केकी थिइन्। ‘एसिड आक्रमणमा परेर पीडा खेपिरहँदा मलाई आफन्तले उल्टै केटासँग लागेकी होला, अनि त यस्तो घटना भयो भने, म रोएर मात्र बसिरहेँ,’ सीमाले नागरिकसँग भनिन्, ‘प्रहरी अंकलहरूले सही कुरा बाहिर ल्याउनुभयो। अब ढुक्क भएर निदाउन सक्छु।’





Comments

comments

5184