श्रीलङ्का : राष्ट्रपति निवासमा प्रदर्शनकारी, राजापाक्ष सुरक्षित स्थानतर्फ

कोलम्बो, असार २५ गते । हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिनुभएको छ।

थप तस्वीरहरु यहाँ हेर्नुहोस्

शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उहाँ सुरक्षित स्थानतर्फ प्रस्थान गर्नुभएको डेलि मिरर दैनिकले जनाएको छ । राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ।

यसअघि आन्दोलनकारीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । स्थानीय समय अनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यू आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू कार्यान्वयनका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु परिचालित भएका छन्।

राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उहाँको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन्।

श्रीलङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ । उहाँहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्यूनीकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाइ छ।

दुवै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उहाँहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उहाँहरुले राजीनामा दिएमा अर्को व्यक्तिले सङ्कटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ।

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ। आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनुपरेको थियो। रासस / एएनआई





Comments

comments

52806