श्रीलङ्काका विभिन्न ठाउँमा कर्फ्यू आदेश..

कोलम्बो, श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

स्थानीय समय अनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यू आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यू आदेश जारी गरिएको हो।

कर्फ्यू अन्तर्गतका नियमहरूलाई कडाइका साथ पालना गराउन प्रहरीले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । त्यसका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालित भएका छन्।

कर्फ्यू आदेश लागू भएका क्षेत्रमा हिड्नु परेमा प्रहरी तथा सरकारी अधिकारीहरूको अनुमतिमा मात्रै हिड्‌न पाइने व्यवस्था गरिएको छ । अत्यावश्यक परेमा हिड्‌न पाइने पनि अधिकारीहरूले जनाएका छन्।

राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उहाँको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन हुन लागेको हो।

श्रीलङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ । उहाँहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य वृद्धि न्यूनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाइ छ।

दुवैजना आफ्नो जिम्मेवारीमा असफल भएकाले उहाँहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उहाँहरुले राजीनामा दिएमा अर्को व्यक्तिले सङ्कटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ।

गिर्जाघरको तर्फबाट जारी गरिएको वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्री दुबैले नैतिकताका आधारमा आफै राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ।

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ। आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनुपरेको थियो। रासस / सिन्ह्वा





Comments

comments

52802