एचकेनेपाल डट कम –
हङकङ, १२ अगष्ट । अगस्ट ७ तारिखदेखि बेपत्ता भएका एक पुरुष लानताउ टापुको फंग वोङ ट्रेल खण्डस्थित लो केई वानको समुद्र तटमा मृत फेला परेका छन्।
आज दिउँसो १:०१ बजे हाईकिङ गएका समूहले लडिरहेको अवस्थामा उनलाई देखेपछि प्रहरीलाई खबर गरेको थियो।
घटनास्थलमा पुगेको प्रहरी टोलीले उनको मृत्यु भएको पुष्टि गरेको हो। घटनास्थल दुर्गम स्थानमा भएकाले उनको शव सरकारी उडान सेवाको हेलिकप्टरबाट ल्याइएको स्थानीय मिडियाले जनाएको छ।
प्रहरीले मृतक ४६ वर्षीय लिन डनवेन भएको पुष्टि गरेको छ। उनी पछिल्लो पटक अगस्ट ७ मा साई यिङ पुनको डोङ बियान स्ट्रिटमा देखिएका थिए र बेपत्ता भएका थिए। उनको परिवारले अगष्ट १० गते प्रहरीलाई बेपत्ता भएको उजुरी गरेको थियो।
हङकङमा हाईकिङ (पैदलयात्रा) ले फेशनको रुप लिदै जाँदा त्यतिकै जोखिम पनि बढ्दै गएको छ। पछिल्लो समय पैदलयात्री बेपत्ता हुने र मृत्यु हुने घटना बढिरहेका छन्।