शताब्दी पुरुष सत्यमोहन जोशीले कोरेका इतिहास…!

पिता शंकरराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशीको आइतवार (२०७९ असोज ३० गते) ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ।

जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरेका थिए।

दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि विसं २०१७ र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गरेका जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक भएका थिए।

जोशीले विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गरेका थिए।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा संग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन्।

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रंगमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा छ । यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषय समेटिएका छन्।

उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उनले दुई काव्य, पाँच कथा संग्रह, १० नाटक र केही नेवारी भाषाका कृति लेखेका छन् । समालोचकले उनले ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उनका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ।

जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बीर अंकित चाँदीको सिक्का निस्काशन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ।

काठमाडौं विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्राप्त गरेका वरिष्ठ साहित्यकार जोशीलाई विसं २०६९ मा ‘पद्मश्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो। नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जानेका थिएनन् । रासस





Comments

comments

59502