निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै

काठमाडौं, आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहौल बढ्दै जाँदा राजधानी काठमाडौं भित्रिने र बाहिरिने यात्रुहरूको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । “निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ”, उहाँले भन्नुभयो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले यात्रुको भीडभाड बढेको हो । यात्रुको सङ्ख्या बढेपछि दशैं तिहारमा जस्तै एयरलाइन्सको बिजनेस पनि बढेको छ ।

वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताउनुभयो । उहाँका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ । “निर्वाचन अघिका तीन दिन र निर्वाचन पछिका दुई दिन हवाई उडानमा अत्यधिक चाप हुनेछ, अहिले निर्वाचनको सङ्घारमा पनि उडानका यात्रु बढेका छन्”, प्रवक्ता शर्माले भन्नुभयो ।

निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ ।

बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताउनुभयो । उहाँका अनुसार अहिले बुद्ध एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ ।

“अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको सङ्ख्या बढेको छ, आगामी शुक्रबार र शनिबार सङ्ख्या अझ बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो, “यी दुई दिनका लागि बुकिङ पनि बढेको छ ।” बुद्ध एयरले हाल दैनिक एक सय ५० उडानमार्फत सात हजार पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटिआर र दुई बिचक्राफ्ट गरी कूल १६ जहाज छन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले निर्वाचनको सङ्घारमा आन्तरिक उडानमा चहलपहल बढेको बताउनुभयो । कम्पनीको अहिले उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत हाराहारीमा रहेको उहाँको भनाइ छ ।

तर, पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरू पनि बढेको उहाँको भनाइ छ । उहाँका अनुसार काठमाडौँदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम रु तीन हजार छ सय र बढीमा चार हजार १५ भाडा दर कायम छ । साथै, काठमाडौं–धनगढीका लागि अधिकतम रु १६ हजार भाडा तोकिएको छ । यती एयरलाइन्सले छ थान एटिआरमार्फत् सेवा दिइरहेको छ ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार अहिले आन्तरिक उडानमा सामान्य चाप छ । “निर्वाचनले उडानमा चाप बढेको छ तर धेरै चाप भने छैन”, उहाँले भन्नुभयो ।

मङ्सिर ४ गते उडान नहुने

मतदान हुने दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान भने हुने छैन । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ ।

“चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुँदैन”, विमानस्थलका प्रवक्ता सिटौलाले भन्नुभयो । निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन हुने उहाँको भनाइ छ । रासस

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

61462