भूकम्प रोकिएन, तर ६ रेक्टर मुनिकाले कुनै असर नगर्ने…

काठमाडौं, वैशाख १७ – आज बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको १०७ वटा भूकम्पको धक्का महसुस गरिएको छ। त्यसअघि हिजो राति ११ बजे गोरखा केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ। तीनदिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गएपनि बुधबार छवटा मात्र गएको थियो। गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो।

भूकम्पको सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविदहरूले बताएका छन्। ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया भएकाले यसबाट अतालिनुपर्ने अवस्था नरहेको भूकम्पविद् डिल्लीराम तिवारीले बताए।

भूकम्पको कम्पन कम भएसँगै पानी परेपछि सर्वसाधारणमा थप आशङ्का बढिरहेका बेला उनले पानी र भूकम्पको कुनै सम्बन्ध नहुने भएकाले यसबाट नअतालिन सर्वसाधारणलाई आग्रह गरे। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको कम्पन क्रमशः कम हुँदै गएको र अब ६ रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने बताए।

“तुलनात्मकरुपमा भूकम्पको दुरी कम हुँदै गएको छ। एक हप्तासम्म दिनमा दुई÷चार वटा जान सक्छ, अब यो हप्तामा एउटा, महिनामा एउटा तथा चार महिनामा एउटा हुँदै जान्छ, ठूलो कम्पन आउँदैन र छ रेक्टरमुनिकाले खासै असर पनि गर्दैन,”–उनले भने। रासस





Comments

comments

Leave a Reply

6215