एनआरएनले सरकारलाई राहत वितरणको प्रतिबेदन बुझायो

एचकेनेपाल डट कम –
काठमाडौं, २८ जेठ। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमसंग भेट गरी गैरआवासीय नेपाली संघले भूकम्पपिडीतका लागि गरेको पहिलो चरणको राहतबारे जानकारी गराउनुभएको छ।

गृह मन्त्रालयमा भएको भेटमा उहाँले गैरआवासीय नेपाली संघले तीन हप्ताको अवधिमा गाउँगाउँ पुगेर करिव १४ हजार परिवारलाई त्रिपाल, खाद्यान्न र औषधि वितरण गर्नुका साथै २६ स्थानामा स्वास्थ्य शिविर समेत संचालन गरिएको जानकारी दिनुभयो। यसका लागि बिभिन्न देशबाट ३ सय भन्दा बढि स्वयंसेवी नेपाल आएर सेवा गरेको उहाँले जानकारी दिनु भयो। सो अबसरमा अध्यक्ष घलेले गैरआवासीय नेपाली संघले गरेको राहत वितरण सम्बन्धी विस्तृत प्रतिबेदन गृहमन्त्री गौतमलाई हस्तान्तरण गर्नुभयो।

अध्यक्ष घलेले राहत वितरणका क्रममा गृह मन्त्रालयबाट भएको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीज्यूहरु र सुरक्षा निकायले गैरआवासीय नेपाली संघसंग गरेको समन्वय र सहयोगले नै यो सफलता हात लागेको बताउनुभयो। सवै जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी उहाँहरुले सिफारिस गरेको स्थानमा राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो।

पहिलो चरणको आपतकालिन राहत वितरण सम्पन्न भएको जानकारी दिंदै उहाँले अब दोस्रो चरणमा पुन:निर्माण र पुन:स्थापना अभियानमा सहभागी हुने योजना रहेको जानकारी दिनुभयो।

३५ करोड रुपैयाँको लागतमा करिव १ हजार घर निर्माण गर्ने तयारी भइरहेको भन्दै अध्यक्ष घलेले नेपाल सरकारसंगको सहकार्यमै पुन: निर्माण अभियानमा साझेदार बन्न लागेको जानकारी दिनुभयो। यस्ता घरहरु भूकम्प प्रतिरोधी, पर्यावरणमैत्री र स्थानीय संस्कृतिलाई संरक्षण गर्ने खालका हुने घलेले जानकारी दिनुभयो।

उपप्रधान तथा गृहमन्त्रीले संघले भूकम्प पीडितको लागि गरेको प्रथम चरणको राहात कार्यक्रमको प्रसंसा गर्दै देशले गैरआवासीय नेपालीहरुको तर्फबाट धेरै सहयोगको आशा राखेको वताउनुभयो। मुलुक अब पुन: निर्माण अभियानमा लागेको हुँदा गैरआवासीय नेपालीहरुबाट सरकारले थप सहयोगको अपेक्षा गरेको गृहमन्त्री गौतमले बताउनुभयो।

एक हजार परिवारका लागि आवास निर्माण गर्ने गैरआवासीय नेपाली संघको योजनाको स्वागत गर्दै मन्त्री गौतमले त्यस कार्यमा नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई सम्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

यसअघि, अध्यक्ष घलेले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतसंग वेग्लावेग्लै भेट गरी पहिलो चरणको राहत वितरण र दोस्रो चरणको पुन:स्थापना अन्र्तगत एक हजार घर निर्माण योजनाबारे जानकारी गराउनुभयो। आवास निर्माणका लागि गैरआवासीय नेपाली संघले तयारी तिब्र पारेको जानकारी दिंदै उहाँले सरकारको पुन:निर्माण खाका कुरिरहेको जानकारी दिनुभयो।





Comments

comments

Leave a Reply

6264