भूकम्पका घाइतेलाई उपचार गर्न नमान्ने ८ स्वास्थ्यकर्मी निलम्बित

काठमाडौं, बैशाख २४ – सरकारले विनाशकारी महाभूकम्पपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लामा सेवा नदिएको भन्दै विभिन्न स्वास्थ्यचौकीमा कार्यरत आठजना स्वास्थ्यकर्मी निलम्बन गरेको छ।

भूकम्पपछि स्वास्थ्यकर्मीको खाँचो भएको समयमा उनीहरू कार्यक्षेत्रमा अनुपस्थित रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निलम्बन गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीले पटकपटक चेतावनी दिए पनि सेवामा नखटिएको पाइपछि उनीहरूलाई कारबाही गरेको बताए।

निलम्बनमा पर्नेमा खरिबोट उपस्वास्थ्य चौकीका अहेव विजय यादव, आरूअर्वाङ उपस्वास्थ्य चौकीकी अनमी सीता तामाङ घिमिरे, पन्द्ररुङ उपस्वास्थ्य चौकीका अहेव सुब्बाबहादुर गुरुङ, आरूअर्वाङ उपस्वास्थ्य चौकीकी अहेव मीनाकुमारी गुरुङ, लापु उपस्वास्थ्य चौकीकी अहेव सरस्वती सुवेदी, बोर्लाङ स्वास्थ्यचौकीकी अनमी विनिता कुमारी पूर्वे, सौरामानी स्वास्थ्य चौकीकी कुमारी उषा किरण र बोर्लाङ स्वास्थ्य चौकीकी अहेव करुण श्रेष्ठ छन्।

चार स्वास्थ्यकर्मीको मृत्यु, १० बेपत्ता
भूकम्पमा परी चारजना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन्। भूकम्पले घर र स्वास्थ्य संस्था भत्किँदा पुरिएर सीएअहेव, अनमी र हेल्थ एसिस्टेन्टको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंमा २, नुवाकोटमा र धादिङमा एकएकजना छन्।

भत्किएका कतिपय स्वास्थ्य संस्थाको उत्खननसमेत गर्न बाँकी रहेकाले मृतक स्वास्थ्यकर्मीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। भूकम्पमा परी १० जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन्।

दोलखामा २, रसुवामा ३, नुवाकोटमा ४ र सिन्धुपाल्चोकमा १ जना बेपत्ता भएको मन्त्रालयका प्रवक्ता डा.गुणराज लोहनीले जानकारी दिए। ‘भूकम्पले स्वास्थ्यकर्मीले पनि ज्यान गुमाउन पुगेका छन्’, उनले भने, ‘कतिपय सम्पर्कबाहिर छन्, उनीहरूको खोजी जारी छ।’

महाभूकम्पमा परी नुवाकोटमा ७, रसुवामा ५ र दोलखामा १ जना गरी १३ स्वास्थ्यकर्मी घाइते भएका छन्। घाइतेमध्ये कतिपयको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने कतिपयलाई काठमाडौं ल्याइएको समाचार अन्नपूर्णपोष्टमा छ।

महाभूकम्पबाट मुलुकभर गरी ६ सय ९९ स्वास्थ्य संस्था क्षतिग्रस्त भएका छन्। एसियन विपत् तयारी केन्द्रका अनुसार एक सय ९० स्वास्थ्य संस्थामात्र तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थाका छन्।

सिन्धुपाल्चोक र रसुवाका ९० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्था क्षतिग्रस्त भएका छन्। भवन विभागले हालै निर्माण गरेका जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र पनि काम नलाग्ने अवस्थामा पुगेका छन्।





Comments

comments

Leave a Reply

6353