काठमाडौं, वैशाख २६ – बरिष्ठ पत्रकार तथा अन्नपूर्णपोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
प्रधान सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारलाई लिएर ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै धम्काएका थिए।
विनाशकारी भूकम्पबाट प्रभावित भएर पनि देश र जनतालाई सू–सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटि दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्म विपरित धम्क्याउनु निन्दनीय भएको महासंघ महासचिव उजिर मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य के हो भन्ने कुरा सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा प्रधान सम्पादकलाई आरोप लगाइनु आफैंमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ।
आफू अनुकूल नहुँदैमा सञ्चारकर्मीलाई आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकूल हुन नसक्ने भन्दै महासंघले घटना छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको समाचार नागरिक दैनिकमा छ।