हत्या गरिएकी हङकङकी मोडल एबी चोईका पूर्व पति तुङ चुङबाट पक्राउ, यसरी भएको रहेछ हत्या…

एचकेनेपाल डट कम –

हङकङ, २५ फेब्रुअरी। हत्या गरिएकी हङकङकी मोडल एबी चोईका पूर्व पति शनिवार दिउंसो तुङ चुङबाट पक्राउ परेका छन्।

तुङ चुङ पियरबाट चीन भाग्नको लागि स्पीडबोट पर्खिरहेका बेला प्रहरीले चोईका पूर्व पति एलेक्स क्वाङलाई पक्राउ गरेको बुझिएको छ।

सादा पोशाक लगाएका प्रहरीले क्वाङलाई पक्राउ गर्दै।

प्रहरीले उनको झोलाबाट कुल ५ लाख नगद हङकङ डलर र लगभग ४० लाख हङकङ डलर मूल्य पर्ने लक्जरी घडीहरू बरामद गरेको छ। उनी ५० लाख हङकङ डलर सुन घोटालामा संलग्न वान्टेड अपराधीसमेत रहेको खुलेको छ।

चोईका हत्या अभियोगमा पूर्व पति एलेक्स क्वाङ पक्राउ, तस्वीरमा दाँया

२८ वर्षीया प्रसिद्ध मोडल एबी चोईको ताई पोस्थित लुङ मेई गाउँमा हत्या भएको थियो। उनको शव टुक्राटुक्रा पारिएको अवस्थामा फेला परेको थियो। उनको टाउको गायब पारिएको थियो, खुट्टा फ्रिजमा भण्डारण गरिएको अवस्थामा भेटिएको थियो भने केही अंग पकाइएको पाइएको थियो।

प्रहरीले अझै पनि चोईको गायब पारिएका टाउको र हात र हत्यामा प्रयोग भएको हतियारको खोजी गरिरहेको जनाएको छ।

उनको पतिसंगै पक्राउ पर्नेको संख्या चार पुगेको छ। चोईको शव व्यवस्थापन गर्न नपाउंदै प्रहरीले चोईका पूर्व पतिका परिवारका तीन जनालाई पक्राउ गरेको थियो।

अहिलेसम्म चोईका पूर्व पति क्वाङ, उनका दाजु र उनका आमाबुवा पक्राउ परेका छन्।

फेसन म्यागजिनका कभरहरुमा देखा परिरहने चोईले मोडल पेशाबाट नाम र दाम कमाएकी थिइन्।

यस महिना फेसन म्यागजिन एल अफिसेल मोनाकोको कभरमा देखा परेकी चोई हो मान टिनस्थित कादुरी हिलमा बस्दै आएकी थिइन्।

उनी मंगलबार (फेब्रुअरी २१) देखि बेपत्ता थिइन्।

२१ फेब्रुअरीमा १२.२९ बजे कादुरी हिलको सीसीटीभी फुटेजमा कैद भएकी चोई।

चोई अन्तिम पटक मङ्गलबार दिउँसो २.१५ बजे ताइ पोको फो चुन रोडमा देखिएकी थिइन्। उनले लामो बाहुला सर्ट, सेतो प्यान्ट, सेतो चप्पल र बैजनी ह्यान्डब्यागसहित सेतो टप लगाएकी थिइन्। उनी १.५५ मिटर अग्ली र उनको तौल करिब ४० किलो थियो।

प्रहरीले शुक्रवार दिउँसो लुङ मेई गाउँमा रहेको फ्ल्याटमा चोईको टुक्रा टुक्रा पारिएको शरीरका अंगहरु भेटाएका थिए।

स्रोतका अनुसार चोईले आफ्ना पूर्व पति र उनका परिवारका सदस्यहरूलाई आर्थिक सहयोग गर्दै आएकी थिइन्, उनका केही आफन्तहरूले उनीबाट पैसा उठाउँदै आएका थिए। उनको हत्याको कारण आर्थिक विवाद भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रारम्भिक अनुसन्धानपछि करोडौं हङकङ डलरको आर्थिक विवादका कारण उनको हत्या भएको प्रहरीको अनुमान छ । यसैबीच, स्रोतहरूले भने कि चोईका पूर्व ससुरा जो २००५ सम्म पुलिस सार्जेन्ट थिए उनले हो मान टिनस्थित कादुरी हिलमा रहेको चोईको विलासी सम्पत्ति हडप्नको लागि षड्यन्त्र गर्दै थिए।

चोई करोडौं पर्ने कादुरी हिलस्थित आफ्नो अपार्टमेन्ट बेच्न चाहन्थिन्।

स्रोतहरूका अनुसार, चोईले गत वर्षको अन्त्यदेखि आफूले किनेको कादुरी हिलको सम्पत्ति बेच्न खोजेकी थिइन्। तर त्यहाँ बस्ने पूर्व ससुराले चोईलाई सम्पत्ति बेच्न नदिने धम्की दिंदै आएका थिए।

हालै पूर्व ससुराले ताई पोको लुङ मेई गाउँमा फ्ल्याट भाडामा लिएका थिए। चोईको निजी चालकको रूपमा काम गर्ने क्वाङको दाजुले छोरीलाई लिनको लागि मंगलबार चोईलाई ताइ पो स्कूलमा बोलाए। कारमा चढेपछि चोईलाई बेहोश पारे।

क्वाङको दाजुले चोईलाई लुङ मेई गाउँको फ्ल्याटमा लगेका थिए, जहाँ चोईलाई निर्ममतापूर्वक हत्या गरिएको थियो।

(स्थानीय मिडियाहरुको सहयोगमा)

यो पनि पढ्नुहोस्
हङकङकी प्रसिद्ध मोडलको दर्दनाक ह.. त्या , शव ब्यवस्थापन गर्न नपाउँदै तीन जना पक्राउ..





Comments

comments

68258