पोखरामा उर्लियो धर्म निरपेक्षताको जनसागर

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २८ साउन। सफल जनआन्दोलन भाग दुई पश्चात सबै धर्म सम्प्रदायलाई समानता प्रदान गर्न २०६३ साल भदौ ४ गते घोषणा गरी अन्तरिम संविधानमा समेत व्यवस्था गरिएको नेपाल धर्म निरपेक्ष राष्ट्र नेपालविरुद्ध षडयन्त्र भइरहेको भन्दै पोखरामा विहीवार जनसागर उर्लिएको छ।

विभिन्न धार्मिक, सामाजिक, नागरिक संघ संस्थाको भेलाबाट गठित धर्म निरपेक्ष राष्ट्र नेपाल, सरोकार समिति कास्कीको आयोजनामा नयाँ बन्ने संविधानमा धर्म निरपेक्षता यथावत कायम राख्नुपर्ने माग राख्दै आयोजित धर्म निरपेक्ष शान्ति यात्रा जनसागर उर्लिएको हो।

पोखरा चिप्लेढुंगास्थित मानवधिकार चोकबाट एक सय भन्दा बढी धार्मिक, जातिय, सामाजिक संघ संस्थाको सहभागीतामा धर्म निरपेक्ष नेपाल जिन्दावाद, धर्म निरपेक्षता कार्यान्वयन गर, धार्मिक सहिष्णुता कायम राख नारा लेखिएको प्ले कार्डका साथ शुरु भएको बृहत शान्ति यात्रा विपी चोक, भिमसेन चोक, नयाँबजार हुदै लखन चोकमा पुगी धर्म निरपेक्ष सभामा परिणत भएको थियो। धर्म निरपेक्ष शान्ति यात्रामा ब्यानर, प्लेकार्ड र शान्ति बाजा सहित बृहत जनसहभागीता रहेको थियो।

सभामा बोल्ने धार्मिक सम्प्रदायका अगुवाहरुले नयाँ बन्ने संविधानमा धर्म निरपेक्षता यथावत राख्न आग्रह गरेका थिए। उनीहरुले धर्म निरपेक्षता सुनिश्चित नगरिए मुलुकमा द्ध्न्द्ध हुन सक्ने आशंका गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्नुहुदै बौद्ध दर्शनका आचार्य, बौद्ध अर्घौ सदन रामघाटका प्रमुख लामा आचार्य थुप्तेन येसे गुरुङ(सिर लामा)ले सबै धर्म समुदायलाई समान अधिकार र सम्मानका लागि नयाँ बन्ने संविधानमा धर्म निरपेक्षता सुनिश्चित हुनुपर्ने बताउनुभयो । उहाँले बौद्ध गुम्बा र लामा धर्म सापेक्ष राष्ट्रको पक्षमा छन भन्ने अर्नगल प्रचारमा विश्वास नगर्न आग्रह गर्नुहुदै मानव कल्याण र भेदभाव रहित समाजका लागि बुद्ध भगवानले प्रतिपादन गर्नुभएको पञ्चशीलको सिद्धान्त व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । देशको धर्म हुदैन, धर्म व्यक्तिको आस्था र विश्वास हो भन्नुहुदै आचार्य थुप्तेनले कुनै धर्मलाई कसैले प्रहार नगर्न आग्रह गर्नुभयो । उहाँले रिसलाई करुवाले प्रतिकार गर्नुपर्ने सुझाव दिनुभयो।

नदिपुरस्थित धर्मशीला बुद्ध विहारका भन्ते श्रद्धानन्दले धर्म निरपेक्षतामा मात्रै सबै धर्म सम्प्रदायले सम्मान भएको महसुस गर्ने भएकाले नयाँ बन्ने संविधानमा अन्तरिम संविधानमै व्यवस्था गरिएको धर्म निरपेक्ष राष्ट्र नेपाल कायम राख्नुपर्ने बताउनुभयो । उहाँले बुद्ध जन्मेको देशमा बुद्धको सम्मान गरिएको छैन बरु नेपालका नेताहरुले बुद्धको नाम अन्र्तराष्ट्रिय क्षेत्रमा बेच्ने गरेको दुखेसो व्यक्त गर्नुभयो।

क्रिश्चियन समुदायका धर्म गुरु डाक्टर सामुयल संग्राम राईले नयाँ बन्ने संविधानमा धर्म निरपेक्षतामा माथि षडयन्त्र भईरहेकाले धर्म निरपेक्षता पक्षधर सबै धर्म सम्प्रदायको भावनामा चोट पुगेको बताउनुभयो । नेपालमा हिन्दुहरुले सनातन धर्मको गलत प्रचार गरिएको बताउनुहुदै राम राज्य चाहनेले राम जन्मेको भारतको अयोध्यालाई राम राज्य घोषणा गर्न चुनौति दिनुभयो । नेपालका भूमिपुत्रहरु शान्तिप्रिय हुन बताउनुहुदै नेपालमा धार्मिक अशान्ति निम्त्याउनेहरुले धर्म सापेक्षता चाहेको उहाँको भनाई थियो । धर्म निरपेक्ष राष्ट्र घोषणाका लागि क्रिश्चियन समुदायको ऐक्यवद्धता जाहेर गर्नुहुदै भ्वाइस नेपालका अध्यक्ष समेत रहनु भएको डा. राईले कसैको अस्तित्व मेटाउन खोज्नेहरु आफै मेटिने बताउनुभयो । हामी शान्ति चाहान्छौ, सद्भाव चाहान्छौ भन्नुहुदै उहाँले धर्म स्वतन्त्रताको नाउँमा निरंकुशता र छाडातन्त्र नेपालमा प्रवेश गर्न नदिने चेतावनी दिनुभयो।

तमु प्ये ल्हु संघ केन्द्रीय समितिका प्रमुख सल्लाहकार, बोन धर्मका तर्फबाट बोल्नुहुदै लेप्टेनेण्ट इन्द्रबहादुर गुरुङले नयाँ बन्ने संविधानले सबै धर्मको सम्मान गर्न धर्म निरपेक्ष राष्ट्र यथावत राख्नुपर्नेमा जोड दिनुभयो । प्ये संकलन, लेखन तथा प्रकासनका संयोजक समेत रहनुभएका उहाँले बोन धर्म नै गुरुङ लगायत आदिवासी जनजातिले अप्नाउदै आएको सबै भन्दा पुरानो धर्म भएको दावी गर्नुभयो।

किराँत धर्म समुदायका गजेन्द्र सुब्बाले बोल्नुहुदै धर्म निरपेक्षता विनाको संविधान स्विकार नगर्ने बताउनुभयो। किराँत सेवा समाज कास्कीका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका सुब्बाले मुलुकमा फेरि पनि हिन्दु राष्ट्र कायम गर्ने षडयन्त्रको सबैले प्रतिकार गर्नुपर्ने बताउनुभयो।

मुश्लिम समुदायका मुहम्मद गफुर मियाँले धर्म निरपेक्ष यात्राको ऐक्यवद्धता जाहेर गर्नुहुदै धर्म निरपेक्षतामा नै सबै धर्म सँस्कृतिले समान अवसर प्राप्त हुने बताउनुभयो । अहिले धर्म निरपेक्षता विरुद्ध नयाँ संविधान जारी गर्ने नाँउमा चलखेल भइरहेको छ भन्नुहुदै प्रतिगामी चलखेल नगर्न चेतावनी दिनुभयो। धर्मको नाउँमा मान्छे मान्छे विच छुवाछुत छ भन्नुहुदै मियाँले धार्मिक स्वतन्त्रताका नाउँमा एकल धर्म राज्य सञ्चालन गर्न नेताहरुकालाई चेतावनी दिनुभयो।

स्वागत मन्तव्य व्यक्त गर्नुहुदै धर्म निरपेक्षता अभियानका अभियन्ता दीपक वाईवा तामाङले नयाँ बन्ने संविधानले सबै धार्मिक समुदायको पहिचान स्विकार गरी सम्मान गर्नुपर्ने बताउनुभयो। तामाङ घेदुङ कास्कीका प्रमुख सल्लाहकार समेत रहनु भएका तामाङले संविधान निर्माणका नाँउमा केही नेताहरुले धर्म निरपेक्षतामा विरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । उहाँले नयाँ बन्ने संविधानले सबैको अस्तित्व स्विकार गरिएन भने नयाँ युद्ध हुने ठोकुवा गर्नुभयो।

धर्मोदय सभाका अध्यक्ष समेत रहनु भएका धर्म निरपेक्ष राष्ट्र नेपाल, सरोकार समितिका संयोजक कुलामान बुद्धाचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन तमु धिं नेपालका केन्द्रीय सदस्य समेत रहनु भएका सरोकार समितिका सचिव हुमबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो।

धर्म निरपेक्ष शान्ति यात्रा र धर्म निरपेक्ष सभा समापन पश्चात धर्म निरपेक्ष राष्ट्र नेपाल सरोकार समिति कास्कीका संयोजक कुलामान बुद्धाचार्य सहितको अगुवाहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र संविधानसभाका सभाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई आफ्नो माग पठायो।
बौद्ध, बोन, क्रिश्चियन, मुश्लिम र किराँती धर्म समुदाय लगायत ४२ सामाजिक तथा नागरिक संघ संस्थाको ऐक्यवद्धतासहित धर्म निरपेक्ष राष्ट्र यथावत कायम हुनुपर्ने एक सुत्रीय माग रहेको ज्ञापन पत्र संयोजक बुद्धाचार्यले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीलाई हस्तान्तरण गर्नुभएको हो । उक्त ज्ञापन पत्रका बाचन गर्नुहुदै सरोकार समितिका सचिव हुमबहादुर गुरुङले विहीवार धर्म निरपेक्ष माथि षडयन्त्र नगरियोस भन्दै पोखरामा बृहत शान्ति यात्रा सम्पन्न गरेको जानकारी गराउनुहुदै आफुहरुको भावनाप्रति नेताहरु गैर जिम्मेवार बने, आवाजसहित सडकमा उत्रने र त्यतिले पनि धर्म निरपेक्षता सुनिश्चितता नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो।





Comments

comments

Leave a Reply

7947