अपडेटः हङकङबाट लगिएको झण्डै एक क्वीन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद, को को परे पक्राउ…?

काठमाडौं, राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको (झण्डै एक क्वीन्टल) सुन बरामद गरेको छ।

फाइल फोटो

विभागका महानिर्देशक नवराज ढुंगानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको ढुंगानाले बताए।

ढुङ्गानाले सुन हङकङबाट आएको खुलेको जानकारी दिए। थप अनुसन्धान जारी रहेकाले धेरै कुराहरु खुल्ने पनि ढुंगानाले बताए।

अपडेटः

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार गत जुलाई १६ मा आएर तीन दिन भन्सार कार्यालयको गोदाममा बसेको सुन बुधवार भन्सार जाँचपास सकेर बाहिर निकालिएको थियो।

सुन ओसारपसरमा संलग्न रहेका ६ जनालाई पक्राउ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिएका छन्। पक्राउ पर्नेमा एक भन्सार एजेन्ट पनि छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको ढुंगानाले बताए।

हङकङबाट ल्याइएको सुन बरामद गरिएको सुनमध्ये सम्भवतः सबैभन्दा ठूलो परिमाणको सुन भएको बताइन्छ। सुन तस्कर गिरोहले सुनको बिस्कुटलाई मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याइएको थियो। सुन मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा ल्याइएको थियो।

पक्राउ पर्नेहरुमा ‘रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, भारतीय नागरिक थाप्तेन छिरिङ, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा रहेका छन्।

रेडी ट्रेडर्स प्रालिले सन् २०२३ अप्रिल २४ तारिखबाट १८ (मंगलवार) जुलाईसम्म तीन महिनाको अवधिमा ‘स्पेयर पार्ट्स’ भनेर जम्मा ३४ पटक समान आयात गरेको पाइएको छ।

उच्च राजनीतिक नेतृत्व र भन्सार कर्मचारीसहित चिनियाँ, भारतीय र नेपालीको मिलेमतोमा भारततर्फ निकासी गर्न उक्त सुन ल्याइएको आशंका गरिएको छ।

राजस्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित टक्सार महाशाखामा पठाएको छ।

छानबिन समिति गठन

भन्सार विभागले विभागका अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई विमानस्थल भन्सारबाट एक क्विन्टल सुन बाहिरिएको बारे पूरै छानबिन गर्न विभागले पाँच दिनको समय दिएको छ।

विमानस्थल बाहिरबाट झन्डै एक क्विन्टल सुन बरामद गरिएको भए पनि विमानस्थलमा अझै एकसय किलो जति सुन हुनसक्ने आशंका गरिएको छ। बरामद सुनको परिमाण एकिन भइसकेको छैन। बरामद गरिएका आठ वटा बाकसमा रहेको सुन जोख्न थापाथलीस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पठाइएको छ।

यसैबीच, केही सञ्चारमाध्यमा बरामद गरिएको सुन व्यवसायी दीपक मल्होत्राको नाम आएपछि उनले सुन तस्करीमा आफ्नो कुनै पनि प्रकृतिको संलग्नता नरहेको बताएका छन्। उनले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो गैर कानुनी कार्यमा आफू र आफ्ना परिवारको कुनै संलग्नता नरहेको बताएका छन्।

सुन तस्करीमा संलग्न एक चिनियाँ नागरिक पक्राउ

सुन तस्करीमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए। तिब्बतीयन एअरलाइन्सबाट चीन जान लागेका वेला उनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाइएको जनाएको छ।

सुन तस्करीको सुराकी दिनेलाई ५० लाख इनाम

झण्डै एक क्वीन्टल बरामद सुन तस्करीको सुराकी गर्नेले ५० लाख रुपैया इनाम पाउंने भएका छन्। २०७५ मा संशोधित आर्थिक ऐनमा व्यवस्था भएअनुसार उनले सो बराबरको इनाम पाउने भएका हुन्।

थप दुई जना पक्राउ

सुनसहितको ‘ब्रेक सु’ ल्याउने कार्गो कम्पनीका दुई सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन्। झण्डै एक क्वीन्टल सुनसहित सामान चिनियाँ नगारिकले पठाएको पाइएको छ। हङकङमा रहेको क्लियरिङ एजेन्टले ‘अटो पार्ट्स’ भनेर सामान नेपाल पठाएका थिए। क्याथे एयरलाइन्सले पनि ‘एयर विल’मा ती सामग्री ‘अटो पार्ट्स’ भएको उल्लेख गरेको छ।

हालसम्म पक्राउ परेकाहरुको नामावलीः
१. जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२. थिप्तेन छिरिङ (तिब्बतीय मूलका भारतीय नागरिक)
३. रामकुमार भुजेल (दोलखा)
४. दीलिप भुजेल (सुन भित्र्याउने रेडी ट्रेड प्रालिका सञ्चालक, दोलखा)
५. हर्कराज राई (भोजपुर)
६. अशोक लामा (ट्याक्सी चालक)
७. राजन श्रेष्ठ (एलिस ट्रान्स ग्रुपका सञ्चालक)
८. पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
९. कृष्ण श्रेष्ठ (ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक)
१०. राजेन्द्र राई (भन्सार एजेन्ट)







Comments

comments

80546
%d bloggers like this: