सडकको ठेक्का कमिसन विवादमा दुई समूहबीचको झगडामा साजन गुरुङ समूहले पहलमान तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।
२४ माघ ०७० मा गुरुङसहितका व्यक्तिले तामाङको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। गुरुङ फरार थिए। नुवाकोटको सामरी घर भएका तामाङको धादिङको सेमजोम गाविसमा हत्या भएको थियो। धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको थियो।
हत्यामा संलग्न राजकुमार तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । मध्यपहाडी राजमार्गअन्तर्गत नुवाकोट–पोखरा सडकखण्डको २७ करोड रुपैयाँको ठेक्का ठेकेदार टंकबहादुर गजुरेलले पाएका थिए। तामाङको समूहले गजुरेललाई सहयोग गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।
तर, राज तामाङ तथा साजन गुरुङको समूहले २० लाख रुपैयाँ मागेको थियो। सोही विषयमा काठमाडौंमा पनि उनीहरूबीच झगडा भएको थियो। हत्या भएको केही दिनअघि मात्र तामाङ धादिङ गएका थिए। आफूमाथि आक्रमण हुने सूचना पाएपछि उनी धादिङबेसीबाट सेमजोममा गएका थिए। त्यहीँ पुगेर गुरुङको समूहले धारिलो हतियारले छातीमा रोपेर तामाङको हत्या गरेको थियो।