किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन्।

गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाको लेटर प्याड र अध्यक्ष डा. भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेको खुलासा भएको हो।

यससम्बन्धी छानबिन गर्न वैदेशिक रोजगार विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई छानबिनका लागि १ महिनाको समय दिइएको छ।

जानका अध्यक्ष डा. भुसालले कुरा गर्दै भने– ‘हामीले गत असारको पहिलो सातामा जानको भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरू जापान पुगेको भेटेपछि सम्बन्धित मेनपावर कम्पनीलाई सोधेका थियौं । उक्त कम्पनीले ती व्यक्तिहरू जापान पुगेको पुष्टि गरेपछि हामीले यो कसरी सम्भव छ भनेर कागजात मगाउँदा कम्पनीले जापान पुगेका व्यक्तिको भाषा उत्तीर्णको नक्कली प्रमाणपत्रको फोटोकपी हामीलाई उपलब्ध गराएको थियो । जेठ २१ गतेको मिति उल्लेख भएको उक्त प्रमाणपत्र जानको लेटरप्याड र मेरो हस्ताक्षर किर्ते गरिएको बनाइएको थियो । त्यसपछि हामीले असारको ८ गते वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, सम्बन्धित मेनपावर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र त्रिभुवन विमानस्थलको अध्यागमनलाई यसबारे जानकारी गरायौं र यसमा छानबिन गर्न आग्रह ग¥यौं।’

उनले त्रिभुवन विमानस्थलको अध्यागमनमा ती कामदारहरूको प्रमाणपत्रलाई जानको चिठ्ठीसँग जुधाएर हेरेको भए यस्तो गलत काम हुनै नसक्ने दाबी गरे। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।





Comments

comments

85088