Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आज तीज पर्व मनाईदै, किन मनाईन्छ त तीज? (Audio Report)

एचकेनेपाल डट कम संवाददाता-

काठमाडौं, ३० भदौ। । आफ्ना श्रीमानको लामो आयु तथा सुस्वास्थ्यको कामना गर्दै हिन्दूनारी आज शिवको पूजाअचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्।

परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दूनारी निराहार र निर्जल बसी आजको दिन शिव मन्दिरमा गई पूजाअर्चना गर्नाका साथै उन्मुक्त भई बिहानैदेखि नाचगानसमेत गरिरहेका छन्। हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीजपर्व पञ्चमीको दिन सप्तषिर्को पूजा गरेपछि सम्पन्न हुन्छ। दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाची-गाई रमाइलो गरी दरका रूपमा मीठामीठा परिकार खाने चलन पनि तीजको अङ्गसरह भएको छ। दर खान विशेषगरी माइतीले छोरीचेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ।


फाईल तस्वीरः मिलन तमु / एचकेनेपाल डट कम

हिन्दू महिलाको महान् धार्मिक पर्वका रूपमा लिइने तीजको व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ। नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौँको पशुपतिलगायत देशका अन्य शिव मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ। धार्मिकस्थलमा महिलाको सौभाग्यका सामग्रीको किनबेच गर्नेको पनि घुइँचो लागेको छ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि “महादेव स्वामी पाऊँ” भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले “महादेव स्वामी पाऊँ” भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका तीज भन्ने गरिएको पुराणमा वर्णन छ। पार्वतीले शिवजीलाई पतिका रूपमा प्राप्त गर्न व्रत बसेपछि शिवजीलाई पति पाएकाले तीजको व्रतको महत्व बढेको हो। त्यसैले राम्रो र चिताएको पति पाउन कुमारी केटीले पनि तीज व्रत बस्ने गरेको देखिन्छ।

पहिले पहिले वर्षदिन घरदैलो ननाघेका नेपाली चेली तीजका दिन रातो साडी र पोतेमा सजिएर मन्दिर-मन्दिर धाएर नाच्दै गाउँदै ‘वर्षदिनको तीजमा माइती लिन नआए, मनका बह पोख्ने कता हो -’ भनी गाउँदै हिँड्थे। अहिले पनि गाउंघरमा त्यही प्रचलन छ। भगवानको आराधनासहित आजका दिन महिलाले तीजको गीतको भाकामा आफ्ना वर्षभरिका पीडा पोख्ने चलनस्वरूप विभिन्न धार्मिकस्थलमा महिलाले मादल घन्काउँदै नारीवादी गीतमा नाचगान गरेको दृश्य पनि देखिन्छ। विवाहित चेलीले वर्षभरिमा एकदिन भए पनि तीजमा माइत जान पाउने र आफ्ना बाल्यकालका साथीसङ्गिनीलाई भेटी विभिन्न गीत र नृत्यबाट मनोरञ्जन गर्ने हुनाले चेलीबेटीका लागि यो पर्व विशेष महत्व रहन्छ।

नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्मसंस्कृतिअनुसार मनाइने नेपाली महिलाका लागि दसैँ ठानिएको तीजमा विगतका केही वर्षदेखि सरकारी र गैरसरकारीस्तरमा सामूहिकरूपमा तीजको दर खाने र चुरापोते बाँड्ने चलन पनि बढिरहेको छ। नेपालमा परम्परादेखि मनाइँदै आएको नेपाली महिलाको राष्ट्रिय पर्व तीजमा विवाहित महिला माइत जाने, मीठो खाने र माइतीलाई आफ्नो पीडा पोख्ने गर्छन्। यस दिन महिलाका लागि सरकारी बिदा पनि घोषणा गरिएको छ। अहिले तीज पर्व फेसनको रूपमा पनि बढ्दै गएको देखिन्छ।





Comments

comments

Leave a Reply

8657