व्यापारीको अपहरणपछि गुन्डा नाइके गणेश लामा फरार

काठमाडौं – जग्गा लेनदेन विवादमा पैसा उठाउन खोज्दा राजधानीका चर्चित गुन्डा नाइके गणेश लामा प्रहरीको निगरानीमा परेका छन्। उनले ललितपुर भैंसेपाटीका कैलाश बास्कोटालाई अपहरण गरी आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गरेको ललितपुर प्रहीले जनाएको छ।

त्यो घटनामा लामाका सहयोगी विक्रमजीत लामा पक्राउ परेकाछन् भने गणेश फरार छन्। गत ३० साउनमा लामासहितका व्यक्तिले ललितपुर भैंसेपाटीका बास्कोटालाई अपहरण गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए।

‘एक महिलाको जग्गाको विवादमा त्यसरी अपहरण गरी गणेश लामाकै घरमा ४० लाख रुपैयाँको कागज गरिएको अनुसन्धानमा खुलेको छ,’ एसएसपी अधिकारीले भने,‘लामाको घरमा समेत हामीले छापा हानेका छौं, तर उनी पक्राउ परेका छैनन्।’

नयाँ पत्रिका दैनिकका अनुसार पीडित भनिएका बास्कोटाले आफूलाई अपहरण गर्न गणेश लामा स्वयं गएको र उनकै घरमा बन्धक बनाएर कागज गराएको बताएका छन्। पक्राउ परेका विक्रमजितले पनि गणेश लामाकै सहयोगमा फसेको पैसा उठाउन अपहरण गरेको बयान दिएका छन्।





Comments

comments

Leave a Reply

8765