प्रकाश सिलवाल/सिबी अधिकारी –
‘आहै झिलीमिली झिलिझिली, के को झिलिमिली,
आहै बत्तिको झिलिमिली, सिमल बारुलै सिमल बारुलै…….’
काठमाडौं, गायक नवीनकुमार खड्का र पुस्तका खड्काका मात्रै होइन धेरै लोकप्रिय गायक र कलाकारका स्वरमा हरेक तिहारमा टेलिभिजन, रेडियो र सामाजिक सञ्जालमा देउसी–भैलोका गीत गुञ्जिएका हुन्छन्। मौलिक नेपाली संस्कृतिका रुपमा रहेको यो देउसी–भैलोको परम्परा पछिल्लो समयमा प्रत्यक्ष खेलेरै संस्कृति संरक्षण गर्ने कार्यमा कमी आएको देखिन्छ। तिहारको रौनकसँगै गाउँ–सहरमा भिलिमिली बत्तीको उज्यालो छाउँछ। घरका ढोका र आँगनदेखि ढोकासम्म सयपत्री र मखमली फूलका माला र रङ्गोलीले सजिएका हुन्छन्।
पहिला पहिला गाउँघरको दैउसी–भैलीको रौनक बेग्लै हुन्थ्यो। राँको, टर्च लाइट, लालटिन वा मैनटोल बालेर कात्तिक कृष्णपक्षका रातमा परबाट देउसी–भैलीको टोली गाउँदै हिँडेका हुन्छन्। कुनै घर नजिकै पुग्न लागेपछि कुकुर भुक्न थाल्छ। घरका बा–आमाले आँखा तन्काउँदै हेर्छन्। ओहो, देउसी–भैलो टोली आएछ है भन्दै स्वागतको तयारीमा जुट्छन्। ‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको, ए…. औँशीको बारो गाईतिहारो भैलो’ गाउँदै विभिन्न भाकामा बूढाबुढी, बालबालिका र युवाहरु एकसाथ नाचगान गरेर जाने बेलामा घरधनीले खुसी मनले नाङ्गलामा चामल, दियो बत्ती, सेल–रोटी, फलफूल, मिठाइ र दक्षिणा ठीक पार्छन्। देउसी भैलो खेल्नेले ‘ढुङ्गा छुँदा अन्न होओस्, यो घरमा सुनको छाना होओस्’ आदि भनेर आशिष पनि दिने गर्दछन्।
नेपाली मौलिक संस्कृतिका रुपमा रहेको यो परम्परा पछिल्ला वर्षमा हराउनुमा सहरिया जीवनशैली, युवाहरुको विदेश पलायन, आर्थिक मन्दि, कोभिड–१९ पछिको अवस्था, समय समयमा आइपर्ने विपद्का घटना आदि कारण देखिएका छन्। देउसी–भैलो तिहारको मौलिक गहना हो। तिहार भन्नासाथ देउसी–भैलोको झझल्को हरेकलाई आउने गर्छ। समयक्रमसँगै सांस्कृतिक रहनसहनमा परिवर्तन आएकाले तिहारको रौनक क्रमिक रुपमा घट्दै गएको छ। यो वर्ष पनि तिहारको चहलपहल निकै घटेको छ। विगतका वर्षहरुमा गाउँघरदेखि सहरमा देउसी–भैलो खेल्ने हुलका हुल रातभर हिँड्थे। तिहारलाई थप उल्लासमय बनाउँथ्यो। तर, यसपटक तिहारमा विगतका वर्षमा जस्तो उल्लासमय देखिँदैन। त्यसो त विदेशमा रहने नेपालीले आफू बसेका ठाउँमा पनि चाडपर्व मनाएका हुन्छन्। उनीहरुले त्यहाँ नेपाल र नेपालीको संस्कृतिप्रतिको माया दर्शाउँदै नाचगान गरेका भिडियो सामाजिक सञ्जालमा देखिन्छन्।
काठमाडौँ उपत्यकालगायत मुख्य सहरदेखि भित्री गल्लीहरुमा पनि देउसी–भैलोको चहलपहल देखिँदैन। कतिपय घरटोलमा त बत्तीको झिलिमिली पनि छैन। अति व्यस्त बजार असन, नयाँसडक, वसन्तपुरतिर त्यत्ति चहलपहल छैन। वसन्तपुर क्षेत्रमा केही विदेशी पर्यटक घुमिरहेका भेटिए पनि बजारमा किनमेल खासै बढेको छैन। पहिला पहिला खैजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा नै हाम्रो संस्कृतिको वैभव हो। देउसी–भैलोबाट जम्मा भएको रकम विद्यार्थीको पठनपाठन, मठ, मन्दिर, चौतारी, पँधेरा, कुवा निर्माण तथा दिनदुःखीलाई दान दिने जस्ता सामाजिक पवित्र काम गरिने असल परम्परा पनि हुने गर्दथ्यो।
पश्चिमा संस्कृति र आधुनिक पप–सङ्गीतको प्रभावका कारण मौलिक संस्कृतिमा प्रतिकूल असर परेको संस्कृतिविद् एवं पाका नागरिकको बुझाइ रहेको छ। संस्कृतिविद् जगमान गुरुङ मेमोरी कार्ड राखेर डिस्को बजाउँदै नाच्नेजस्ता विकृतिले मौलिक संस्कृतिलाई गाँज्दै गएको बताउँदै देउसी र भैलोको आदर्श र मर्यादा गुम्दै गएको जानकारी दिन्छन्।
‘राजनीतिक दलका भातृ सङ्गठन र संस्थाले राजनीतिक अभिष्ट र आर्थिक सङ्कलनको स्वार्थ राखेर देउसी भैलो खेल्न थालेका पनि देखिएको छ। सनातन कूलधर्म र परम्परालाई बजारमुखी बनाइएको छ। नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको मुहान सुक्न थालेको छ’, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गुरुङले भने, ‘गाउँघरमा द्वन्द्वकालदेखि नै मानिस विस्थापन हुँदै गए। सहरमा सहरिया जीवनशैलीले मानिसमा सामाजिकता हराउँदै गएको छ। संस्कृतिलाई संयमित बनाउने नाममा सरकार र स्थानीय तहले यतिबजेसम्म खेल्न पाइने र नपाइने भनेर नियम बनाएको छ। यी सबैको मारमा देउसी भैलो पनि परको छ।’
साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ यमपञ्चकसहितको तिहारले काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइपूजा गरेर जनावर, प्रकृति र कृषि कर्मको पूजादेखि आपसी भातृत्वको संरक्षण गर्ने बताउँछन्। यस्तो असल परम्परालाई जोगाउनु सबैको दायित्व भएको पुडासैनीको आग्रह छ। अर्का साहित्यकार सरिता अर्याल सामाजिक अपराधका घटनाको डरले सहरमा रातिसम्म हिँडडुल गर्न असुरक्षा हुने गरेको र संस्कार–संस्कृतिमा कमी आएका कारण यस वर्ष देउसी भैलो खेल्नेहरु न्यून भएको बताउँछन्। भोजपुरको साल्पा सिलिछो गाउँपालिका–४ का ७० वर्षीय उद्धवबहादुर राई गाउँघरमा पनि पहिला पहिला जस्तो उल्लासमय तिहार नभएको बताउँछन्। ‘गाउँमा तन्नेरीहरु छैनन्। बूढाबुढीले खेल्न जानु पनि भएन। पहिलाको जस्तो मजा हुनै छाडेको छ।’
संखुवासभा घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ६८ वर्षीय लालबहादुर बुढाथोकी आजभोलि देउसी खेल्ने र मनाउनेहरु धेरै कम देखिएको जनाउँदै साना साना बालबालिका अलिअलि देखिए, अरु देखिएनन्। युवा पुस्तामा धर्म–संस्कृतिप्रतिको विश्वास र लगाव कम भएर पनि उनीहरुको रुचि घटेको हुन सक्ने उनको भनाइ छ। प्यूठान घर भइ हाल भक्तपुर बस्दै आउनुभएका खुम केसीको अनुभवमा सरहको तिहार न्यास्रो भएको छ। कोभिडपछि धेरै व्यावसायी काठमाडौँ उपत्यकाबाट बाहिरएकाले पनि चलहपलहमा कमी आएको उनको भनाइ छ। पौराणिक मान्यताअनुसार दानवीर कहलिएका बलीराजालाई दमन गर्न वामनको रुप धारण गरेका भगवान विष्णुको सहारामा देवताहरु लागेका बेला तीन पाउ जमिन पाउँ भनेर माग्दा बलीराजाले त्यति जमिन दिने सङ्कल्प गरे। वामनको अवतार ठूलो हुँदै गएकाले उनको एउटा पाउले पृथ्वी र अर्को पाउले आकाश ढाक्न थाले।
वामनको तेस्रो पाउ पर्नासाथ बलीराजा भासिएर पाताल पुगे। त्यसपछि राजाले विष्णुसँग वर्षमा एक पटक तिहारमा पृथ्वीलोक घुम्न पाउने वरदान लिए। तिनै बलीराजा पृथ्वीमा आउने भएपछि दीप प्रज्ज्वलनसहित देउसी भैलो खेल्ने गरिन्छ। सबै ठाउँमा बलिराजा जान नभ्याउने भएकाले देउसी र भैलो खेल्ने समूहले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए……’ भन्दै घरघरमा पुग्ने गरेका हुन् भनिएको छ।
रासस