बालगृहमा सामूहिक भाइटीका

काठमाडौं, तनहुँको व्यास नगरपालिका–१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन्। तिहारको पाँचौ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन्।

बालगृहमा आश्रय लिइरहेका बालबालिकाले भाइटीका लगाएर तिहार मनाएका हुन् । बालगृहमा रहेका दुई बालिकाहरूले चार बालकलाई टीका लगाइदिएका थिए ।

तनहुँको भिमाद नगरपालिका–१ घर भएकी कुशा नेपाली र व्यास नगरपालिका–११ तनहुँसुर घर भएकी बर्मिला प्रजाले चार जना बालकलाई भाइटीका लगादिनुभयो । ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर घर भई बालगृहमा रहेका सुमन विकले तिहारको बेला भाइटीका लगाउन पाएकामा खुसी व्यक्त गर्नुभयो ।

सुमनले भन्नुभयो, “तिहारमा कोसँग टीका लगाउने भन्ने चिन्ता रहेन, बालगृहमै टीका लगाउन पाउँदा खुसी लागेको छ ।” अभिभावकविहिन विकले बालगृहमा आश्रय लिँदै आउनुभएको छ । बारा घर भई बालगृहमा रहेका शिव यादवले पनि दुई बालिकाको हातबाट भाइटीका लगाउनुभयो ।

बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिनुभयो । “दुई जना बालिकाले चार जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुसी छन्,” उहाँले भन्नुभयो, “बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यही भाइटीका मनाउँदै आएका छन् ।”

बालगृहमा रहेका छ जनामध्ये पाँच जना तनहुँ ठेगाना भएका र एक जना बारका हुन् । त्यसमध्ये पाँच जना अभिभावकविहिन हुन् भने एक जना विविध कारणले बालगृमा आइपुगेका हुन् ।

आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि विगत पाँच वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ । बालगृह सञ्चालनका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग हुँदै आएको छ । घिमिरेले भन्नुभयो, “बालगृह सञ्चालनका लागि सरकारी निकायबाट सहयोग छैन, विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त हुन्छ । व्यक्तिहरूले जन्मदिन, वैवाहिक वर्षगाँठको अवसरमा सहयोग प्रदान गर्नुहुन्छ । यसैबाट बालगृहको खर्च व्यवस्थापन हुँदै आएको छ ।”

रासस





Comments

comments

90252