एनआरएनए युके काउन्सिल बैठक अगष्ट ३१ मा हुने

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको काउन्सील बैठक यहि अगष्ट महिनाको ३१ तारिख आइतबार हुने भएको छ।

फार्नबरोस्थित स्यामुयल कोडी स्पेशलिष्ट स्पार्ट्स कलेजमा हुने काउन्सील बैठकका लागि सम्पूर्ण तयारी पुरा भइसकेको एनआरएनए युकेका महासचिव योग कुमार फगामीले जानकारी दिए।

महासचिव फगामीका अनुसार काउन्सील बैठकका लागि विभिन्न क्षेत्रको अध्ययन गरि सुझाव संकलनका लागि समितिहरु बनाइएको छ। अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा आइतबार फार्नबरोमा बसेको एनआरएनए युकेको आठौं बैठकले समितिहरु बनाएको हो।

सहभागिहरुबीच बुंदागत विषयमा छलफल गरी त्यसबाट आएका सुझावहरुलाई काउन्सील बैठकमा प्रस्तुत गरिने छ।

गैरआवासीय नेपालीहरुले उठाउंदै आएको नागरिकता निरन्तरताको सम्बन्धमा छलफल चलाउन एनआरएन आइसीसीका सल्लाहकार विश्व आदर्श पण्डितले संयोजन गर्नेछन् । त्यस्तै भूपू गोर्खाहरुको सवालमा आइसीसीका सल्लाहकार एवं एनसीसी युकेका संरक्षक मेरि. डमर घलेको संयोजनमा समिति गठन भएको छ।

नेपालमा बन्दै गरेको एनआरएन भवन, गलेश्वर धामस्थित बृद्धाश्रम र च्यारिटीको सम्बन्धमा साझा अवधारणा बनाउन एनआरएनए युके संरक्षक एवं आइसीसी सदस्य कुल आचार्यको संयोजनमा समिति गठन गरिएको छ।

यसैगरी काउन्सिल बैठकको कन्सेप्टबारे संरक्षक एवं पूर्व अध्यक्ष सुर्य गुरुङ, विधान चुनावी प्रकृया, एनआरएनए युकेको विबाद र नीति नियमबारे प्रमुख संरक्षक सुर्य सुवेदी, महिला तथा युवा सम्बन्धमा आइसीसी सदस्य सुष्मा राई, स्कटल्याण्ड, आयरल्याण्ड लगायत अन्य क्षेत्रीय प्रतिनिधित्वको सवालमा सल्लाहकार कमल भण्डारी, संघ संस्थाहरुको तर्फबाट सुझाव संकलन गर्न तमुधि युकेका अध्यक्ष कमल गुरुङ, चुनावी प्रकृया सुधारका लागि आइसीसी सल्लाहकार डा. हेमराज शर्माले अध्यक्षता गर्ने भएका हुन्।

एनआरएन भवन निर्माणमा फण्ड रेइजिङ गर्न अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीको अगुवाईमा समिति गठन गर्ने बैठकले निर्णय गरेको छ । तमुधिं युकेको आयोजनामा हुने बेलायतस्थित नेपालीहरुको सबैभन्दा ठूलो मेला नेपाली मेलामा एनआरएनए युकेले विशेष सहभागिता जानउने पनि बैठकले निर्णय गरेको छ।





Comments

comments

922