एनआरएनए भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख संकलन

गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलन भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपस्थीत नेपालीहरुले स्वतस्फूर्तरुपमा सहयोग रकम घोषणा गरेका हुन्।

१५ लाख रुपैयाँ संकलनको लक्ष्यसहित आयोजित कार्यक्रममा झण्डै २१ लाख रुपैयाँ संकलन भएको कार्यक्रमका आयोजक एवं आईसीसी सदस्य एसी शेर्पाले जानकारी दिनुभयो।

करिव १ हजार नेपालीको बसोबास रहेको वासिङटनको सानो क्षेत्र सियाटलबाट अपेक्षाभन्दा निकै बढि र उत्साहजनकरुपमा रकम संकलन भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईसीसी अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघलाई संस्थागत र दिगो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। सोही अभियान अन्तर्गत आफ्नै कार्यालय भवन निर्माण अत्यन्तै जरुरी भएकाले आफुले बिश्वभरका नेपालीको अपनत्व हुनेगरि रकम संकलन अभियान सुरु गरेको उहाँले बताउनुभयो।

एनआरएनएको नेतृत्वले गरिरहेका बिभिन्न काम र आफ्ना कार्ययोजनाबारे जानकारी दिँदै उहाँले यो अभियानमा आफुलाई सहयोग गर्न अमेरिकामा रहेको गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नुभयो।

एनआरएन आईसीसी सदस्य एसी शेर्पाको आयोजनामा भएको सो डिनर कार्यक्रममा अमेरिकाजका क्षेत्रीय उपसंयोजक सोनामा लामा, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारी, क्यानडाका आईसीसी सदस्य बिनोद केसी, आईसीसी सल्लाहकार राम खरेल, एनआरएनका संरक्षक डा. अम्बिका अधिकारी, अमेरिकी डेमोक्रेटिक पार्टीका सदस्य दर्शन रौनियार, १५ पटकसम्म सगरमाथा आरोहण गरेका लाक्पा शेर्पा तथा एनआरएनए आईसीसी र एनसीसी सदस्यहरुको उपस्थीति थियो।

एनआरएनए क्यानडा सम्मेलनमा सहभागी हुन उत्तर अमेरिका तथा युरोपेली मुलुकको भ्रमणमा रहनुभएका एनआरएनए अध्यक्ष घले यसअघि क्यानडामा आयोजित बिभिन्न कार्यक्रममा सहभागी हुनुभयो।

अगष्ट ८ तारिखमा अध्यक्ष घले भ्यानकोभरस्थित ब्रिटिश कोलम्बिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित खुल्ला बिश्वबिद्यालय सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुनुभयो। अथबास्का युनिभर्सिटीका प्रतिनिधि र एनआरएन प्रतिनिधिवीच खुला बिश्वबिद्यालय संचालनका बिषयमा छलफल भयो। एनआरएनको सहभागितामा नेपाल सरकारले पनि खुला बिश्वबिद्यालय स्थापना गर्दै छ।

अगष्ट ९ तारिखमा अध्यक्ष घले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानडाको सातौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभयो। एनआरएन क्यानडाले आगामी अगष्ट १६ तारिखमा रकम संकलनका लागि टोरन्टोमा बिशेष कार्यक्रम आयोजना गर्दै छ, जहाँ अध्यक्ष घले प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ।

हाल अमेरिकामा रहनुभएका अध्यक्ष घले अगष्ट १३ तारिख बुधबार लस एन्जलस र १५ तारिखमा बोष्टनमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ। १६ तारिखमा टोरन्टमा आयोजित कार्यक्रम सहभागी भएपछि उहाँ पुनः १८ तारिखमा सिकागोमा आयोजित कार्यक्रममा सहभागी हुनुहुने छ । २० तारिखमा टेक्सास, २२ तारिखमा वासिङटन डीसी र २४ तारिखमा न्यूयोर्कमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ।

मन केसी
प्रवक्ता
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ





Comments

comments

945