अनिश खालिङ राई –
वैदेशिक रोजगारको सिलसिलामा म यूएई गएँ, २०६८ माघमा । जाँदा नै खर्च धेरै भो १ लाख २० हजार रुपैयाँ। आफन्तले कम्पनीमा काम गर्ने हो भनेर भनेका थिए। उता पुगेपछि भेडीगोठमा पुगें । अहिले कम्पनीमा काम गर्ने भिसा ‘चेन्ज’ गर्न मिलेन, पछि गरौंला भनेपछि भेडीगोठ गएँ। म सुरुदेखि नै ठगिएँ, पैसा पनि त्यत्रो तिर्नुपर्यो।
अनिश खालिङ राई परिवारका साथ हेर्नुहोस् भिडियो
भेडीगोठ मरुभूमिमा थियो। यो यूएईका एक शेखको हो, उनको नाम, ठेगाना थाहा भएन। अल एइन भन्ने ठाउँको त्यो भेडीगोठमा हाम्रै गाउँका एक जना र एक बंगाली कामदार पनि थिए । बजारबाट सामान ल्याएर खाइन्थ्यो । कहिलेकाहीँ एक पाकिस्तानी ड्राइभरले ल्याइदिन्थे। उनीसँग दुई/तीन पटक भेट भइसकेको थियो।
एक दिन म पनि उनीसँग बजार गएँ र सामान लिएर भेडीगोठ आयौं। ती पाकिस्तानी ड्राइभरले सामान झारे र मलाई कुदाएर मरुभूमि लागे। रातको ८ बजेको थियो होला। उनले अरूलाई पनि फोन गरेर बोलाउन थाले। मलाई डर लाग्यो।
उनले दुर्व्यवहार (समलिंगी यौन हिंसा) गर्न थालेपछि मलाई मन परेन र प्रतिकार गरें। जबर्जस्ती गर्न खोज्दा साहस र आँट देखाएर लडेंं। उसले हान्दा मैले पनि हान्थें। बेस्सरी लडाइँ भो। ऊ भुईंमा ढलेपछि म भागें।
मरुभूमिबाट अलि पर राजमार्ग थियो। दौडिँदै त्यहाँसम्म पुगें र गाडी चढेर भेडीगोठ आएँ। भोलिपल्ट त्यहीबेला पुलिस आएर मलाई पक्रेर लग्यो। बल्ल पो ऊ मरेको थाहा भो। मर्यो होला भन्ने लागेको थिएन। अस्पतालमा मर्यो वा मरुभूमिमै, मैले थाहा पाइन।
अब बाँचिने भएन भन्ने लाग्यो । मेरै जस्ता समस्या अरूका पनि छन्। कोही त ३०, ३५ वर्षसम्म जेल परेका छन्। देश-विदेशबाट धेरैको सहयोगले म बाँचें। पाकिस्तानीको परिवारलाई ८१ लाख रुपैयाँ ब्लडमनी तिर्नुपथ्र्यो। त्यो रकम नेपालबाट गयो तर त्यहाँ पैसा अरू कसैले तिरिदिएछ। त्यत्रो रकम कसले तिर्यो, मलाई थाहा छैन।
जे होस् म बुधबार जेलबाट दुबई विमानस्थल र त्यहाँबाट नेपाल आएँ । अहिले पनि कताकता डर लाग्छ, म उतै छु भन्ने । तर, होइन म नेपालमा छु । अब ढुक्क भएको छु । यहाँ श्रीमती, छोरी र आफन्त, सहयोगीलाई भनें । छोरी म गएको एक महिनापछि जन्मेकी हुन्, अहिले साथमा हुँदा खुसी छु ।
आमा गाउँमै हुनुहुन्छ, बुवा सिक्किममा । एक दाइ र विवाह भइसकेकी एक बहिनी छन् । जे जस्तो दु:ख भए पनि यहीँ गरेर खान्छु । म जस्तै परदेशमा कति निर्दोष छन्, तिनलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेतिर लाग्छु । मलाई सहयोग गर्नेहरूलाई सहयोग गर्छु ।
नयाँ जिन्दगी पाएर आएको छु । २ वर्ष ९ महिना १८ दिन जेल बिताएर फर्किएँ । जिन्दगी सपनाजस्तो लागिरहेको छ । अब म मातृभूमि र आमालाई छाडेर विदेश जान्न (उनी आमाको सम्झना गर्दै रोए ) । आमा अब म कतै जान्न । (रुँदारुदै भने) ‘साग र सिस्नु खाएको बेस, आनन्दी मनले ।’ मेरो जीवनमा पनि यही लागू हुन्छ।
(यूएईबाट बुधबार फर्केका २५ वर्षीय राईले पत्रकार भेट र कान्तिपुर संवाददाता दिनेश रेग्मीसँग गरेको कुराकानीमा आधारित। उनलाई दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो)