तेक्वान्दोमा सर्वोच्च ९ डान प्राप्त गर्ने ग्राण्डमास्टर गुरुङलाई सम्मान..

पोखरा, तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि ९ डान प्राप्त गरेका ग्राण्डमास्टर तुलसीकुमार गुरुङलाई सम्मान गरिएको छ।

गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार पोखरामा एक समारोह आयोजना गरी उनलाई खादा, दोसल्ला र ताम्रापत्रसहित सम्मान गरेको हो। प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेल, संघ गण्डकी अध्यक्ष जगन गुरुङ, महासचिव रमेश पौडेलसमेतले उहाँलाई बधाई दिँदै सम्मान गरेका हुन्। सो अवसरमा नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेलले आफ्ना गुरु तुलसीकुमारबाटै आफूले तेक्वान्दोको यात्रा सुरु गरी एशियान गेम्ससम्म पुगेको स्मरण गर्दै गुरुङप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले तेक्वान्दोले के दियो भन्दा पनि आफूले के दियौं भन्ने बुझेर समर्पित हुनुपर्ने बताउनुभयो। गण्डकी प्रदेश तेक्वान्दो संघ अध्यक्ष जगन गुरुङले तेक्वान्दो खेलमा तुलसीकुमारले एउटा इतिहास रचेको बताउनुभयो।

सम्मानित गुरुङले आफ्नो लक्ष्यमा पुग्न प्रतिबद्धता र आत्मविश्वास महत्वपूर्ण हुने बताउनुभयो । यहाँसम्म आइपुग्दा परिवारका सदस्य एवं आफन्तको पनि सदा सहयोग रहेको स्मरण गर्नुभयो।

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवं संघका महासचिव रमेश पौडेलले उहाँको सम्मानले सम्पूर्ण खेलजगत्को सम्मान भएको बताउनुभयो । यस क्षेत्रमा लाग्ने नयाँ पुस्तालाई प्रेरणाको स्रोत बनेको उहाँ बताउनुभयो। प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार एवं अग्रज व्यवसायी सुनिलकुमार गुरुङले खेल क्षेत्रमा लाग्न उहाँको प्रेरणा रहेको स्मरण गरे । उहाँको यो उपलब्धि परिवारको मात्र नभई राष्ट्रको गौरव भएको बताउनुभयो।

जिल्ला खेलकुद विकास समिति कास्कीका नवनियुक्त उपाध्यक्ष तिलकबहादुर क्षेत्री, खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछाने, गण्डकी प्रदेश तेक्वान्दो संघका सचिव अधिवक्ता शिव वाग्ले, संघ कास्कीका सचिव दीपेन्द्र पहारी लगायतले गुरुङलाई बधाई दिँदै आगामी दिनमा नेपालमै रहेर खेलकुद क्षेत्रको विकासमा लाग्न आग्रह गरे।

पोखरा–१० निवासी उहाँले गत डिसेम्बरमा तेक्वान्दोमा सबैभन्दा माथिल्लो र सर्वोच्च उपाधि प्राप्त गर्नुभएको थियो । त्यसका लागि उहाँले कोरिया सियोलको विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा उत्तीर्ण गर्नुभएको हो । नेपाली खेलाडीले हालसम्म ७ डानभन्दा माथिल्लो उपाधि प्राप्त गर्न नसकिरहेको अवस्थामा पोखरेली खेलाडी गुरुङले प्राप्त गरेको यो उपाधिले समग्र खेलकुद क्षेत्र उत्साहित छ।

६६ वर्षीय गुरुङ सुरुमा स्वीमिङ खेलेकोमा पछि तेक्वान्दोमा लाग्नुभएको हो । पहिलो राष्ट्रिय खेलकुदमा उहाँले स्वीमिङ खेल्नुभएको थियो । दोस्रो राष्ट्रिय खेलकुदबाट तेक्वान्दोमा भाग लिन थालेको सो अवसरमा जानकारी दिइयो । पूर्वब्रिटिस गोर्खा सैनिक तुलसी गुरुङ हाल हङकङ बस्दै आउनुभएको छ । उनी हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत हुनुहुन्छ।

प्रदेश खेलकुद परिषद् गण्डकीका टेक्निकल डाइरेक्टर बलराम लामा पनि तुलसीकुमार गुरुङबाहके नेपाली अरु कसैले गरेको आफ्नो जानकारीमा नभएको बताउनुभयो । तेक्वान्दो खेलमा ४ डान लिए मास्टर तथा ६ डानभन्दा माथिल्लो ब्ल्याक बेल्ट पाए ग्राण्डमास्टर भनिन्छ ।
यसैबीच, संघले अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त गर्ने रेकमाया गुरुङलाई पनि सम्मान गरेको छ । कोरियाको अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्युकिवोन अध्यक्षले प्रदान गरेको बेल्टबाट उहाँलाई सम्मान गरिएको हो।

तेक्वान्दोमा ६ डान ब्ल्याक बेल्ट प्राप्त गर्ने उनी गण्डकीको पहिलो अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ । पुन्से विधामा अन्तर्राष्ट्रिय रेफ्री प्राप्त गर्ने उहाँ पहिलो नेपाली महिला हुन् । स्याङ्जाकी रेकमाया २५ वर्षदेखि तेक्वान्दोमा क्रियाशील हुनुहुन्छ।





Comments

comments

130429