देशविदेशका २८ जनालाई नइ पुरस्कार..

काठमाडौं, नइ प्रकाशनले शुक्रबार राजधानी काठमाडौँमा नेपाल तथा भारतका २८ जना प्रतिभालाई ताम्रपत्र र नगद राशिसहित २०८० सालका नइ पुरस्कार समपर्ण गर्यो।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि सात दशकदेखि प्राज्ञिक रूपमा समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई एक लाख रुपियाँ राशिसहित नइ चन्द्रधन पुरस्कार समर्पण गर्नुभयो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।

समारोहमा प्रा.चेतोनाथ शर्मा आचार्यले सिर्जना र ‘बिन्दु’ त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि साढे छ दशकअघिदेखि निरन्तर समर्पित रही नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने भारतका अमर प्राज्ञ श्री के.बी. नेपालीलाई दुई लाख रुपियाँ राशिसहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्नुभयो ।

प्रा.आचार्यले भारतीय साहित्यकार डा.जीवन नामदुङलाई नइ ईश्वर बराल पुरस्कार, सङ्गीत भूषण भारतका श्री रञ्जित गजमेरलाई कोइलीदेवी पुरस्कार, भारतीय साहित्यकार डा.शान्ति क्षेत्रीलाई नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्नुभयो । यी पुरस्कारका राशि जनही एकएक लाख रूपियाँ रहेका छन् ।

समारोहमा प्रा.चेतोनाथ शर्मा आचार्यले संस्कृति शिरोमणि श्री हरिराम जोशीलाई नइ भूपालदुर्गा पुरस्कार, देशभक्त चिन्तक प्रा.डा.मोहन लोहनीलाई नइ कीर्तिनिधि पुरस्कार, शिक्षाविद् तथा साहित्यकार प्रा.गोपीकृष्ण शर्मालाई नइ देरुनीख सुकीर्ति पुरस्कार, सञ्चारकर्मी श्री कमल प्रधान र श्री ध्रुव थापालाई संयुक्त रुपमा नइ भाजप पुरस्कार, न्युरो सर्जन डा.वसन्त पन्तलाई नइ भावि पुरस्कार, सहित्यकार श्रीमती रञ्जुश्री पराजुलीलाई नइ रेखा पुरस्कार, पर्वतका सहित्यकार श्री शान्तिनारायण श्रेष्ठलाई नइ धनरूप पुरस्कार र विराटनगरकी सहित्यकार श्रीमती राधिका गुरागाईँलाई नइ बुलु शर्मा पुरस्कार समर्पण गर्नुभयो । यी पुरस्कारका राशि पनि जनही एकएक लाख रूपियाँ रहेका छन् ।

यसै गरी प्रा.आचार्यले साठी हजार रुपियाँ राशिको नइ देरुनीख प्रदीप्ति पुरस्कार पाल्पाका साहित्यकार श्री कृष्णप्रसाद वस्याललाई समर्पण गर्नुभयो । साथै उहाँले जनही पचास, पचास हजार रुपियाँ राशिका नइ कपिल शोध पुरस्कार साहित्यकार श्री ठाकुर शर्मा भण्डारी, नइ देरुनीख गौरव पुरस्कार झापाका साहित्यकार धनकुटे कान्छा, नइ रामलक्ष्मी पुरस्कार तेस्रो लिङ्गी श्री रजनी थकालीलाई र पच्चीस हजार रुपियाँ राशिको नइ देरुनीख पौरख पुरस्कार झापाकी सुश्री मनीषा राजवङ्शीलाई मिस हेरिटेज पेटाइट युनिभर्स भएवापत प्रदान गरिएको थियो ।

यसका साथै समारोहमा प्रा.चेतोनाथ शर्मा आचार्यले छ जना बाल बालिकालाई दस हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ श्री कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ सुश्री श्रीया गुरुङ, गायनतर्फ सुश्री सानवी यादव, नृत्यतर्फ सुश्री अनिका महर्जन र खेलकुदतर्फ सुश्री सुप्रिया ऐर हुनुहुन्थ्यो ।

यसै गरी सात हजार रुपियाँ राशिको नइ कोपिला गायन पुरस्कार सुश्री काव्या शिवाकोटी र नइ कोपिला नृत्य पुरस्कार सुश्री सुधा तामाङलाई तथा नृत्यकलाका लागि पाँच हजार रुपियाँ राशिको ‘नइ चिचिला पुरस्कार’ तीन वर्षीय सुश्री मानषी भण्डारीलाई प्रदान गरिएको थियो ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतमध्ये के.बी.नेपाली, राधिका गुरागाईँ तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।

समारोहमा पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन गरिएको थियो।
(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन





Comments

comments

130426