नेपाल एयरपोर्टमा खतराको संकेत, ‘कमान्डो फोर्स’ परिचालित

विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ ।

सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो । विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले बताए ।

गृह मन्त्रालयबाटै निर्णय गरेर विमानस्थलमा कमान्डो तालिम गरेका प्रहरीलाई खटाइएको हो । एसएलआर हतियार बोक्ने कार्यदलका प्रहरीलाई दुई किसिमको जिम्मेवारी दिइएको हो ।

एक टोलीले गोल्डेनगेटदेखि विमानस्थलको भित्री भागसम्म नियमित पेट्रोलिङ गरेको छ । अर्को टोली उडान समयमा प्रस्थान र आगमन कक्षको वरिपरि स्ट्यान्डबाई डिउटीमा खटिन्छन् । विमानस्थल प्रहरी दैनिक काममा बढी व्यस्त हुने भएकाले सुरक्षामा केन्द्रित हुन कार्यदलको प्लाटुन खटाइएको डिआइजी निरौलाले बताए ।

टर्कीको इस्तानबुलस्थित एयरपोर्ट र बंगलादेशमा आतंकवादी हमलापछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको हो । खासगरी विश्वमा नै आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट (आइएस) ले नेपाली भूमिलाई प्रयोग गर्न सक्ने सूचनाका आधारमा विमानस्थलको सुरक्षामा कडाइ गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।





Comments

comments

Leave a Reply

13656