नरेन्द्रराज प्रसाई –

सत्यमोहन जोशीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहसदस्य भएर जुम्लामा जति काम गरे; प्रशंसनीय काम गरे । सहसदस्य भएपछि उनले पुनः अर्को पनि काम गरे अथवा भनौं उनको संयोजकत्वमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले चौध भाषाको पर्यायवाची कोश प्रकाशन गरेको थियो । त्यसमा नेपाली भाषालगायत शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, मैथिली, लेप्चा, थारू, दनुवार, नेवाः, चेपाङ, राजवंशीका पर्यायवाची शब्द थिए।

सत्यमोहन जोशीकै सक्रियतामा त्यति बेला नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले निक्कै काम गरेको थियो । २०२८ सालसम्मको तथ्याङ्कअनुसार त्यस बखतसम्म कुनकुन विदेशीले नेपालका बारेमा लेखरचना र किताब लेखे भन्ने एउटा दस्तावेज ग्रन्थसूची पनि प्रज्ञाप्रतिष्ठानबाट तयार भएको थियो । त्यो ग्रन्थसूची तयार गर्ने संयोजक नै पनि सत्यमोहन जोशी थिए। अनि खड्गमान मल्लले त्यस बृहद् ग्रन्थको सम्पादन गरेका थिए।

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहसदस्य पदमा रहेर पनि सत्यमोहन जोशीले आफ्नो काम, कर्तव्य र अधिकारमा टड्कारो हैसियत देखाएका थिए। बौद्धिक समुदायका माझ उनी त्यस बेला कामका नम्बरी सुनझैं खरो साबित भएका थिए । त्यतिन्जेलसम्ममा नेपालका प्राज्ञ र विशिष्ट स्रष्टाहरूसँग उनको बरोबर बसउठ हुन थालिसकेको थियो । साथै उनको काम पनि उच्चकोटिको नै थियो । त्यसैले उनलाई थप जिम्मेवारी दिन माथिल्लो निकायमा छलफल भएको थियो । उनले सहसदस्यमा ५ वर्ष सेवा गरेपछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सदस्यसचिव पदमा बढुवा भएका थिए।


जोशीका साथमा लेखक नरेन्द्रराज प्रसाई (दायाँ)


सत्यमोहन जोशी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यसचिव हुनुको सानो कथा छ । राजा वीरेन्द्रले राज्यारोहण गरिसकेपछि राजदरबारअन्तर्गत जाँचबुझ केन्द्रको स्थापना गरिएको थियो । यस केन्द्रबाट हरेक ठाउँको कसरी राम्रो व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्य राखेको थियो । तदनुरूप नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानलाई पनि के गरेर अझ विकसित गर्न सकिन्छ भन्ने जाँचबुझ केन्द्रको काँधमा जिम्मेवारी आएको थियो । त्यति बेला त्यो काम गर्ने अवसर पनि जोशीले नै पाएका थिए । त्यसैले उनले त्यस संस्थाको नयाँ शैली, स्वरूप र ढाँचाको रेखाङ्कन गरेका थिए ।
त्यति बेला शिक्षामन्त्री कृष्णराज अर्याल थिए । त्यति खेर उनले जोशीलाई आफ्नै कार्यालयमा बोलाएर भनेका थिए— ‘तपाईंको काम हामीलाई चित्त बुझ्यो । महाराजाधिराज सरकारले पनि तपाईंको कामप्रति खुसी व्यक्त गरेको बेहोरा म तपाईंलाई सुनाउन चाहन्छु । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा साहित्यिक काम मात्र राम्रो भएर भएन; प्रशासनिक रूपमा पनि यसलाई सबल बनाउनुप¥यो । त्यसैले त्यस संस्थालाई उकास्ने हेतुले तपाईंको नाउँ सदस्यसचिव पदमा सिफारिश भइसकेको छ।’

शिक्षामन्त्री कृष्णराज अर्यालले सत्यमोहन जोशीलाई सूचना दिएको केही दिनमा नै जोशी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यसचिवमा नियुक्त भए । अनि उनका काँधमा एउटा ठूलो दायित्वले प्रवेश ग¥यो । त्यसैले सदस्यसचिव भएर जोशीले मन लगाएर निष्ठापूर्वक आफ्नो कार्य सम्पादन गर्न थाले । वास्तवमा उनले सहसदस्य भएर धेरै अनुभव ग्रहण पनि गरिसकेका थिए । अनि उनको अहोरात्रको चिन्तनबाट नै प्रज्ञाप्रतिष्ठानको विकास हुन थालेको थियो । त्यस बेला पनि उनले काम गरेर नथाक्ने अवस्थामा आपूmलाई पु¥याएका थिए । त्यस समयमा शिक्षामन्त्री कृष्णराज अर्यालको सकारात्मक सोच र सक्रियताका कारण उनले धेरै काम गर्ने अवसर प्राप्त गरेका थिए । जोशी सदस्यसचिव भएको समयमा प्रज्ञाप्रतिष्ठानले थप राम्राराम्रा काम गरेको बेहोरा पछिसम्म पनि लैनसिंह वाङ्देलदेखि कृष्णचन्द्रसिंह प्रधानसम्मले पनि दोहो¥याइरहेका थिए ।
२०३१ सालको आरम्भमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको नयाँ गठन भएको थियो । त्यति बेला कुलपति र उपकुलपतिमा चाहिँ सूर्यविक्रम ज्ञवाली र लैनसिंह वाङ्देल मनोनीत भएका थिए । अनि नेपाली मूलका यी दुवै भारतीयलाई राजा महेन्द्रले नेपाल ल्याएका थिए । साथै सदस्यसचिवमा चाहिँ सत्यमोहन जोशीको मनोनयन भएको थियो । जोशीले कार्यभार सम्हालेपछि नै त्यहाँ एक प्रकारको परिवर्तन आएको थियो । त्यसपछिका दिनहरूमा त्यहाँको कार्यविधि, परिपाटी र संरचनामा नै नयाँ रूपरेखा तयार भएको थियो । वास्तवमा त्यसै बखत राजदरबारमा स्थापित जाँचबुझ केन्द्रले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानलाई पनि नयाँ रूप दिने एक प्रकारको नयाँ बनावट आयो, नयाँ ऐन आयो र त्यहाँ धेरै कुरा पहिलाका जस्ता रहेनन् । त्यति बेला सहसदस्य भन्ने पद पनि खारेज गरियो।


सत्यमोहन जोशीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सदस्यसचिव भएकै बेला ‘महेन्द्र स्मृतिग्रन्थ’को सम्पादन गरेका थिए । त्यस ग्रन्थले नेपाली शैलीमा आफ्नै ऐतिहासिक महिमा बढाएको थियो । वास्तवमा त्यो बृहत् स्मृतिग्रन्थमा राजा महेन्द्रलाई सम्पूर्ण रूपमा प्रस्तुत गरिएको छ । सायद राजा महेन्द्रका बारेमा त्योभन्दा धेरै जानकारी अन्य कुनै कृतिमा पनि देखिँदैन।


नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सूर्यविक्रम ज्ञवाली कुलपति भएका बेला नेपालको इतिहास प्रकाशनमा ल्याउने विचारविमर्श भएको थियो । त्यही अनुरूप कार्यसम्पादन पनि भइरहेको थियो । त्यस बेला ज्ञवालीको सल्लाह र सक्रियतामा सत्यमोहन जोशीले प्राचीन कालदेखि आधुनिक कालसम्मको इतिहास निर्माणका लागि गुरुयोजना तयार पारेका थिए । त्यो कार्यका लागि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा इतिहासकारहरूको जमघट पनि गराइएको थियो । विशेषज्ञद्वारा यी ग्रन्थहरू बेग्लाबेग्लै कृतिका रूपमा प्रकाशनमा ल्याउने नीति पनि त्यसै बेला पारित भएको थियो । तर त्यसै बेला ज्ञवालीको कुलपति पदको म्याद नै सकियो । यस विषयमा जोशीले भनेका थिए— ‘त्यो काम अधुरै भयो; अहिलेसम्म पनि त्यस प्रकारको किताब निक्लन सकेन।’


सत्यमोहन जोशी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यसचिव भएका बेला त्यहाँका कर्मचारीलाई उनले प्रोत्साहन दिइरहे । उनले खास गरेर कलाकारहरूलाई आआफ्नो दक्षता प्रस्तुत गर्न जागरूक बनाए । त्यही बमोजिमकै कामको अर्को एउटा नमुना थियो— ‘ऐश्वर्य राग’ । त्यो राग गोपालनाथ योगीले तयार गरेका थिए । त्यो राग ३५ मिनेटको थियो । त्यस रागमा मादल मात्र सोह«वटा राखिएको थियो । त्यति बेलादेखि नै त्यो राग चर्चित बन्यो । धेरै श्रोता र कलाकारले त्यस रागको मुक्तकण्ठले प्रशंसा गरेका थिए।


सत्यमोहन जोशीकै सक्रियतामा त्यस बेला राष्ट्रव्यापी बाजागाजाको पनि प्रदर्शनी गर्ने योजना तयार भयो । भैरव नृत्यदलका संस्थापक भैरवबहादुर थापा, रामशरण दर्नाल आदिलाई लिएर जोशीले त्यस बेला सो प्रदर्शनी गरेका थिए । त्यति बेला उनैको प्रबल इच्छाले नेपाली बाजाहरूको नालीबेली भएको सानो पुस्तक पनि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशनमा आएको थियो । वास्तवमा त्योभन्दा अघि त्यहाँ यसरी बाजागाजा सम्बन्धी कामकुराहरू भएका पनि थिएनन्।


सत्यमोहन जोशीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा रहेर धेरै काम गरेका थिए । उनको काम पनि कस्तो थियो भने त्यतिन्जेल त्यस ठाउँमा त्यस प्रकारका कुनै पनि कार्यक्रम सञ्चालन भएका थिएनन् । त्यस बेलाको समयमा जोशीले नेपाली भाषा, साहित्य र लोकसंस्कृतिका लागि जति काम गरे, धेरै नै गरेका थिए । उनी पनि आफ्ना कामहरूबाट ज्यादै सन्तुष्ट पनि थिए । तर प्रज्ञाप्रतिष्ठानको पुनर्गठनमा उनी सदस्यसचिवबाट बाहिरिए । अनि प्रज्ञाप्रतिष्ठानको सदस्यसचिवमा विजय मल्ल प्रवेश भए । वास्तवमा जोशी सदस्यसचिवमा नदोहोरिएपछि प्राज्ञहरूसमेतले चित्त दुखाएका थिए । यस विषयमा उनले भने पनि— ‘मैले काम त राम्रै गरेको जस्तै लाग्थ्यो म पुनः प्रज्ञाप्रतिष्ठानको सदस्यसचिव हुन्छु भन्ने कुरामा म आफैंमा विश्वस्त थिएँ । त्यति खेरको मेरो विश्वास पनि अधुरो नै रहेछ!’

त्यस बेला प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरू छान्ने जिम्मा शिक्षामन्त्री पशुपतिशमशेरलाई दिइएको थियो । त्यसैले जोशीजस्ता क्रियाशील स्रष्टाहरू पानीमाथि तैरन थाले । हुन त त्यो रोग पञ्चायती व्यवस्थाको मात्रै थिएन । २०४६ सालपछि पनि त्यस रोगका किटाणुले स्रष्टाहरूलाई पनि दुख्ख दिइरह्यो ।
सत्यमोहन जोशीजस्ता शिखर साहित्यिक व्यक्तित्व नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति हुनुपर्छ भन्ने तमाम साहित्यकारको माग थियो । तर उनी न राजाका पालामा कुलपति वा उपकुलपति हुन सके र न बहुदलीय व्ययवस्था आएपछि हुन सके ! अझ राजा फालिइसकेपछि पनि प्रज्ञाप्रतिष्ठानजस्तो गरिमामय ठाउँका लागि उनको खोजीनिती नै हुन सकेन । वास्तवमा राजनीतिक दलका खुरहरूद्वारा सरकारी स्वामित्वमा सञ्चालित प्रज्ञाप्रतिष्ठानहरू ढाकिन थालेको बेहोरा सत्यमोहन जोशीहरूले पनि टुलुटुलु हेरिरहे।


२०६६ सालको कुरा हो; सत्यमोहन जोशीको नेपाल प्रज्ञाप्रतिष्ठानमा कुलपतित्वका लागि डा.मोदनाथ प्रश्रित र नरेन्द्रराज प्रसाई प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गएका थिए। त्यस बेला प्रधानमन्त्री नेपालले प्रश्रित र प्रसाईलाई भनेका थिए— ‘हेर्नुहोस्, दलगत व्यवस्था भएको देशमा दलकै सिफारिसमा प्राज्ञहरूको चयन गरिनुपर्छ । हाल संस्कृति मन्त्री मिनेन्द्र रिजाल हुनुहुन्छ। त्यही मन्त्रालयका भागमा कुलपति पद परेको छ र उहाँले आफ्नै नेपाली काङ्ग्रेस पार्टीको कोटाबाट कुलपति पदका लागि बैरागी काइँलाको नाउँ सिफारिस नै गरिसक्नुभएको छ।’ त्यसपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघु पन्तले त्यहीँ अर्को उत्तर दिएका थिए— ‘नेपाल कम्युनिष्ट पार्टीका भागमा उपकुलपतिको सिट परेको छ र त्यसको क्यान्डिडेट गङ्गाप्रसाद उप्रेती हुनुभएको छ। अब त्यही अनुसार प्रज्ञाप्रतिष्ठान गठन हुन्छ, सायद ।’ त्यसपछिको केही दिनमा नेपाल प्रज्ञाप्रतिष्ठानको गठन पनि भयो । त्यस बेला गठित कुलपति, उपकुलपति र सदस्यसचिव मात्र होइन— प्रायः दलगत स्वार्थले मुछिएको नेपाल प्रज्ञाप्रतिष्ठानको दुःखद गठनको बेहोरा सत्यमोहन जोशीलाई पनि थाहा भयो । त्यसपछिको अर्को कार्यकाल अर्थात् २०७१ सालमा गठन गरिने विभिन्न नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्यहरूको नामावली तयार गरेर नइ प्रकाशनबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें ‘रोहित’ लगायत विभिन्न दलका प्रमुखका हातमा सुझाव पठाइएको थियो । तर परिणाममा नेपाल सरकारले त्यस सुझावको ठीक बिब्ल्याँटो काम गरिदियो । ज्ञानले भरिपूर्ण उच्चस्तरका पदाधिकारी र सदस्यहरूको आसन हुनुपर्ने गरिमाशाली स्थानमा कुलपति, उपकुलपतिलगायत झन्नै ९७ प्रतिशत सदस्यहरू या त दलकै झोले या त पहुँचवाला नातेदार, या त नौटङ्की चाकरीदार या त टपर्टुयाँलाई मनोनीत गरेर नेपाल सरकारबाटै नेपाली साहित्य, सङ्गीत, कला र संस्कृतिको धज्जी उडाउने काम भयो भनेर बौद्धिक जगत्बाट टिप्पणी भने ओइरिरह्यो।

नेपालमा धेरै प्रज्ञाप्रतिष्ठानको आवश्यकता छैन भन्ने सत्यमोहन जोशीको विचार थियो । २०५५ सालतिर नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको स्थापना गर्नेबारे नेपाल सरकारद्वारा नीति निर्माण हुँदै गरेको तथ्य सत्यमोहन जोशीलाई पनि अवगत थियो । त्यही सिलसिलामा नइ प्रकाशनलाई पनि सो कुराबारे जानकारी भयो र त्यस संस्थाबाट संस्कृति मन्त्री पूर्णबहादुर खड्कासमक्ष नेपालमा तीनतीनओटा प्रज्ञाप्रतिष्ठानको स्थापना नगर्न सुझावपत्र बुझाएको थियो । तीनओटा प्रज्ञाप्रतिष्ठान निर्माण गर्ने बारेको मस्यौदा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सांसद नारायणमान विजुक्छेँ ‘रोहित’लाई पनि पठाइएको रहेछ । रोहितबाट सोको छायापत्र सुझावका लागि नइ प्रकाशनलाई प्राप्त भएको थियो । नइ प्रकाशनले सुनील प्रजापतिमार्पmत विजुक्छेँलाई पनि मन्त्री खड्कालाई प्रेसित गरेको पत्रकै छायाप्रति प्रदान गरेको बेहोरा सत्यमोहन जोशीलाई पनि जानकारी गराइएको थियो।

नइ प्रकाशनले संस्कृति मन्त्रीसमक्ष प्रदान गरेको सुझावपत्रमा लेखिएको थियो— ‘राष्ट्रका विशिष्ट स्रष्टा या साहित्य, कला र संस्कृति क्षेत्रका सर्वमान्य अथवा केदारमान व्यथित, माधव घिमिरे या सत्यमोहन जोशीजस्ता एकजना प्रबुद्ध व्यक्तित्वलाई नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा चयन गरिनुपर्छ । यसो भएमा कुलपतिप्रति श्रद्धाले शिर झुकाउन पाइयोस् । अनि त्यत्तिकै ओजपूर्ण स्रष्टा कुलसचिवका साथै साहित्य, सङ्गीत, नाट्य र ललितकला क्षेत्रका सुप्रसिद्ध चारजना गरिमाशाली व्यक्तित्वलाई उपकुलपति तथा उपकुलपतिझै चारजना सम्बन्धित क्षेत्रको विज्ञमध्येबाट सदस्यसचिवको पदमा मनोनीत गरेर एउटै प्रज्ञाप्रतिष्ठानको छाता बलियो पार्नुपर्ने वाञ्चनीय देखिन्छ । त्यसै गरेर चारैओटा क्षेत्र अर्थात् साहित्य, सङ्गीत, नाट्य र चलचित्र अनि ललितकलाका फाँटबाट सामान्यतया पाँचपाँचजना उच्चस्तरीय प्राज्ञिक व्यक्तित्वलाई कार्यकारी सदस्य बनाउने ऐनको तर्जुमा गर्न आवश्यकता छ’ भन्ने बेहोरा नइबाट सुझावपत्रमा उल्लेख गरिएको थियो । तर त्यस बेला साहित्य, कला, सङ्गीत र ललितकलामा आबद्ध राजनीतिक दलका कार्यकर्ताले नेपालमा विभिन्न प्रज्ञाप्रतिष्ठान गठन गराइ छोडेको तथ्य सत्यमोहन जोशीलाई पनि थाहा भयो । त्यसैले त्यसपछिका दिनहरूमा नेपाल सरकारबाट गठन गरिएका विभिन्न प्रज्ञाप्रतिष्ठानमा दलकै कार्यकर्ताको निर्णायक मतले विभिन्न प्रज्ञाप्रतिष्ठानका पदाधिकारी र सदस्यहरू चयन गरिन थालेको हास्यास्पद बेहोरालाई सत्यमोहन जोशीजस्ता ज्ञानगुन, अनुभव र उमेरले भरिपूर्ण व्यक्तित्वले पनि टुलुटुलु हेर्न परिरह्यो।


सत्यमोहन जोशीकालीन नेपाल प्रज्ञाप्रतिष्ठानमा नेपाली भाषासाहित्यका शङ्कराचार्यहरूको आसन हुने गथ्र्यो। राजा महेन्द्रपछाडि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा केदारमान व्यथितदेखि सूर्यविक्रम ज्ञवाली हुँदै लैनसिंह वाङ्देल र माधव घिमिरेसम्म कुलपति भएका थिए । त्यस ठाउँमा मदनमणि दीक्षित, मोहन कोइराला र प्रा.डा.वासुदेव त्रिपाठीको उपकुलपतित्व पनि बौद्धिक समुदायलाई झट्टै पचाउन सहज भएन । (प्रा.डा.ईश्वर बराल, दीक्षित, कोइराला र त्रिपाठीका पालामा प्रज्ञाप्रतिष्ठानका कुलपति प्रधानमन्त्री हुने व्यवस्था थियो । त्यसैले उनीहरूलाई नै प्रज्ञाप्रतिष्ठानका प्रमुखसरह मानिन्थ्यो ।) यी तीनजना स्रष्टाको अनुहार क्रमशः उपकुलपतिको पदमा गाँसिएपछि विद्वज्जनले भन्ने गथ्र्यो— ‘नाट्यसम्राट् बालकृष्ण समदेखि प्रा.डा.ईश्वर बरालसम्म बसेको कुर्सी सानो हुँदै जान थाल्यो ।’ जब कि दीक्षित, कोइराला र त्रिपाठी नेपाली भाषासाहित्यका महारथी नै मानिन्छन् । वास्तवमा त्यस बेलासम्म पनि कुलपति या उपकुलपतिको गरिमामय पदमा सत्यमोहन जोशीकै आसन हुने कुरामा विद्वज्जनबाट आशा गरिएको थियो । यति हुँदाहुँदै २०६६ सालपछि कुलपति, उपकुलपति र प्रायः सम्पूर्ण सदस्यहरू झन् साह«ै केटाकेटी शैलीमा मनोनयन हुन थालेका थिए । कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा सदस्य भएको ठाउँमा भूपी शेरचन र ईश्वरवल्लभजस्ता शीर्षस्थ कविलाई पनि सदस्यमा बसेको देख्ता अचम्म मान्ने पनि कुनै समय थियो, किनभने त्यति बेलासम्म पनि त्यहाँ तीभन्दा पनि मर्यादित, गरिमाशाली र प्रख्यात स्रष्टाहरू नै कुलपति, उपकुलपति र सदस्यहरूमा मनोनीत भएको हेर्न चाहने आँखाहरू थिए । तर २०६६ सालपछि मनोनीत प्रायः सम्पूर्ण प्राज्ञहरू ईश्वरवल्लभका दौराको फेरसम्मका उचाइमा पनि आउन नसक्ने मान्छेहरू प्राज्ञको कुर्सीमा आसिन भएको सत्यमोहन जोशीले नै पनि देख्नुपरेको थियो । तर पनि उनले यी बेहोरामा कहिले पनि तीतो पोख्न चाहिँ चाहेनन्।

सत्यमोहन जोशीजस्ता अमर प्राज्ञ सरकारी स्तरको सर्वोच्च साहित्यिक संस्था नेपाल प्रज्ञाप्रतिष्ठानको प्रमुख पदमा नपुगे तापनि २०४६ सालपूर्वका कुलपतिहरूको झै नै उनको मर्यादा भएको बेहोरा सर्वमान्य छ । तर पनि त्यसपछि त्यो संस्था नाङ्गिँदै, खिइँदै र दुब्लाउँदै गएको प्रसङ्ग जोशीका लागि पनि सन्तोषको विषयचाहिँ थिएन । पछिपछि गएर त यस संस्थाको बनोट नै अचम्मको ढङ्गमा विकसित हुन थालेको देखिन्छ । भनौं, सत्तरी वर्षका प्रौढ व्यक्तिको नाउँमा सिलाइएका दौरा, सुरुवाल, कोट, टोपी अथवा गुन्यूँचोली सात वर्षका बालकले लगाउँदा कस्तो देखिन्छ ? त्यस्तो लुगा लगाएर बस्नेलाई पनि कति सकस हुन्छ ? र त्यस्तो दृश्य देख्नेलाई पनि कति काउकुती लाग्छ ? त्यति मात्र होइन, त्यो कपडा जसका नाउँमा छेकाइएको या तयार गरिएको थियो— ऊचाहिँ नाङ्गाको नाङ्गै भएको बेहोराले कति टिठ लाग्छ ? यस्तो साक्षत घटना पनि सत्यमोहन जोशीजस्ता प्रौढ व्यक्तित्वले महसुस गर्नुपरेको थियो । सुरुमा यो रोग नेपाल प्रज्ञाप्रतिष्ठानमा मात्र थियो, तर त्यस्तै खेलाँचीमा अरू प्रज्ञाप्रतिष्ठानको गठनसँगै तिनलाई पनि हिँडाएको बेहोराले प्राज्ञजगत् नै आतङ्कित भइरह्यो । यस्तो कालो रीतले सत्यमोहन जोशीजस्ता ऋषितुल्य स्रष्टाको छातीमा चाहिँ सायद अपमानको वाणले पनि निसाना ताकिएको होला भन्ने स्रष्टाजगत्मा कचहरी नै भएको थियो । तर उच्च स्वाभिमानी, कर्मठ, कर्तव्यशील व्यक्तित्व र सदासर्वदा सकारात्मक सोचले ओतप्रोत स्रष्टाको सेरोफेरोमा विवेकहीनहरूद्वारा ताकिएका अवमूल्यनका कुनै पनि वाणहरूले प्रवेश गर्न भने सकेन । वास्तवमा शताब्दी पुरुष सत्यमोहन जोशी सधैं आफ्नो कर्तव्यमा मात्र केन्द्रित भए; उनले अधिकार माग्नेतिर आफूलाई राज्यसामु कहिल्यै धकेलेनन्।

स्रोतः शताब्दी पुरुषः सत्यमोहन जोशी (२०७२)



.















Comments

comments