कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

फाइल तस्बिर

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि रु ९६ करोड ८० लाख स्रोतको सहमति प्राप्त भएको छ।

मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि अर्थमन्त्रालयले स्रोत सहमति दिएको हो । कोरला सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।

आयोजनाका अनुसार कोरला सडकअन्तर्गत पर्वत–म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना, थासाङ–२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थान, थासाङ गाउँपालिका–टुकुचेस्थित थापाखोलाको बेलिब्रिज रहेको स्थानमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो।

पाँच वटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने प्रमुख शर्माले उल्लेख गरे । उत्तर/दक्षिण जोड्ने कोरला सडक आयोजनाअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको जनाइएको छ। रासस





Comments

comments

138630