संभावना भए केही देशमा गरि खाने कसलाई रहर हुन्थ्यो होला परदेश जाने

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
नोभेम्बर २७ कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा १०७ औं देबकोटा जयन्तीको अवसरमा साहित्यिक कवि गोष्ठि, नया कार्यसमितीलाई कार्यभार हस्तान्तरण र गायक तथा संगीतकार बसन्त लम्सालको गिती एल्बम आमा देश र परिवेशको विमोचन भयो।

बु्रमफिलस्थित जाईका रेष्टुरेन्टमा सञ्चालन भएको कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देबकोटाको तस्विरमा माल्यार्पण गरि सुरु गरिएको थियो।

कार्यक्रममा बिमोचित गीति एल्बम आमा देश र परिवेशबाट “संभावना भए केही देशमा गरि खाने कसलाई रहर हुन्थ्यो होला परदेश जाने” भिडीयो क्लिप हेरिरहंदा उपस्थित सबै स्तब्ध बनेका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्माको प्रमुख आतिथ्यता तथा बरिष्ठ कलाकर्मी मुकुन्दकिशोर भट्टराई विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा १७ जनाभन्दा बढी कवि, कवयित्री, तथा सर्जकहरुले आफ्ना सृजना प्रस्तुत गरेका थिए।

कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य, कवि, कवयित्री, गायक, कलाकार,व्यवसायी, बाल बालिका तथा सर्वसाधरणको उपस्थितीले कार्यक्रमको रौनक बढाएको थियो।

गद्य, पद्य, श्रृंगारिक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा महाकवि लक्ष्मीप्रसाद देबकोटाले नेपाली भाषा साहित्यमा पुर्याएका योगदान, मातृभूमि नेपाल र अमेरिकामा नेपालीहरुको अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो भाषा सस्कृति, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो।

कार्यक्रमका प्रमुख अतिथि पदम बिश्वकर्मा, विशेष आतिथि तथा बरिष्ठ कलाकर्मी मुकुन्दकिशोर भट्टराई, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य, कवि, कवयित्री, गायक, कलाकार तथा पत्रकारले गायक तथा संगीतकार बसन्त लम्सालको गीति एल्बम आमा, देश र परिवेश संयुक्त रुपमा बिमोचन गरेका थिए।

त्यसैगरी हरेक दुई दुई बर्षमा लक्ष्मी जयन्तीको अवसर पारेर नयां कार्यसमितीलाई कार्यभार हस्तान्तरण गरिने गरेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको सोही कार्यक्रममा नव निर्वाचित अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको टिमलाई कार्यभार हस्तान्तरण गरिएको थियो।

निर्वाचन समितिका संयोजक बिनोद त्रीपाठीले नवनिर्वाचित पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित भएको प्रमाणपत्र बितरण गर्दै उनीहरुलाई शपथ खुवाएका थिए । यसरी निर्वाचित हुनेहरुमा अध्यक्ष , उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश कृष्णमुरारी ढुङ्गेल, मिना पौड्याल, गौतमसागर राई, दामोदर लेईटेल र रमेश कोईराला रहेका छन्।

कार्यक्रमको अन्तिम सत्रमा कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिष्ठ अथिति र अतिथिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा उपाध्यक्ष कपिलदेब सुवेदीको प्रस्तुतीमा सम्पन्न साहित्यिक गोष्ठीमा रमेश गुरुङले बिमोचित गीति एल्बम आमा, देश र परिवेशको समिक्षा गरेका थिए । त्यसैगरि महासचिब दिनेश कार्कीले संस्थाको प्रगति बिवरण र कोषाध्यक्ष रमेश कोईरालाले आर्थिक बिवरण प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यक्रममा उपस्थित पूर्व बरिष्ठ प्रहरी उपरिक्षक नार्कोन्नका दक्षिण एसिया प्रमुख बसन्त कुंवरले अवसरको खोजीमा बिदेशिएका नेपाली दाजुभाई दिदी बहिनीका धेरै सन्तानहरु लागुपदार्थको कुलतमा फसेको पाईएको हुंदा यसतर्फ बेलैमा सचेत हुन सबैलाई आग्रह गरेका थिए।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ।





Comments

comments

Leave a Reply

15232