तीज मनाएर बिदा भएकी छोरी बेपत्ता, प्रहरी प्रशासन गम्भीर भएन

माइतीमा तीज मनाएर घर फर्किएकी एक महिला झन्डै महिना दिनदेखि बेपत्ता भएकी छन् । शिवसताक्षी नगरपालिका १, धरमपुरमा रहेको माइतीमा तीज मनाएर इलाम चुलाचुलीस्थित घर हिँडेकी १६ वर्षीया मनीषा भनिने पम्फा कार्की बेपत्ता भएकी हुन् ।

छोरी बेपत्ता भएको ३ सातासम्म नभेटिएपछि उनको घरपरिवार तथा माइती पक्ष तनावमा छन् । मनीषा भदौ २९ देखि बेपत्ता भएकी हुन् । मनीषा चुलाचुलीबाट तीज मनाउन भदौ २६ गते धरमपुरस्थित माइती आएकी थिइन् ।

माइतीसँग तीज मनाएर २८ गते बुबाआमासँगै मनीषा शिवसताक्षी ११ स्थित दुधेमा रहेको आफन्तकोमा पाहुना गएकी थिइन् । आमाका काका नाता लाग्ने पूर्णबहादुर पौडेलका घरमा एक रात बसेर मनीषा भदौ २९ बिहानै घर जाने भन्दै निस्किएकी थिइन् । घरबाट निस्किँदै गर्दा मामा पर्ने पूर्णबहादुरका छोरा गणेश पौडेल पनि सँगै निस्किएका थिए । गणेशले ‘भान्जी (मनीषा) लाई म केर्खासम्म पुर्‍याइदिन्छु,’ सँगै गएको परिवारको भनाइ छ ।

तर, गणेश र मनीषा केर्खा आएनन् । उनीहरू उक्त दिन सीमावर्ती झापा गाउँपालिकास्थित कुमरखोद गए । उनीहरू त्यहाँ एक रात बसेर भदौ ३१ गते बिहान हिँडेको गणेशले बताए । कुमरखोददेखि सँगै आएर मनीषालाई केर्खा जान भन्दै आफू दुधेमा ओर्लिएको गणेशको भनाइ छ । ‘त्यसपछि मनीषा कहाँगइन् थाहा भएन,’ गणेशले भने । घरबाट हिँडेपछि मनीषाले कुमरखोदमा भाइ भेट्न जान मन लागेको भनेपछि आफूले उनलाई त्यता लगेको गणेशले बताए ।

छोरी रहस्यमय तरिकाले बेपत्ता भएको उनकी आमा उर्मिला पोखरेलले बताइन् । ‘चुलाचुली घर जान्छु भन्दै राम्रै गरी मसँग बिदा भएर निस्किएकी थिइन्,’ उर्मिलाले भनिन्, ‘घरबाट निस्किनेबित्तिकै भान्जी पर्ख, तिमीलाई म केर्खासम्म पुर्‍याइदिन्छु भन्दै गणेश पनि हिँडेको थियो तर अहिले छोरी घर पुगेकी छैनन् । हामीसँग पनि छैनन् । कहाँ गइन्, कसरी बेपत्ता भइन् ? हामी तनावमा छौं ।’

उनले छोरी बेपत्ता भएकोबारे गणेश जिम्मेवार हुनुपर्ने बताइन् । ‘हामीले सबैतिर खोजी गरिसक्यौं, छोरी कहीं भेटेनौं,’ उर्मिलाले भनिन्, ‘छोरी कहाँ गइन् भन्नेबारे सँगै हिँडेका गणेशबाहेक अरू कसलाई थाहा होला र ?’

बुबा केशवप्रसादले २३ दिनसम्म जवान छोरी बेपत्ता हुनु गम्भीर भएको बताए । उनले भने, ‘भान्जीलाई केर्खासम्म पुर्‍याइदिन्छु भन्दै गणेशले हाम्री छोरीलाई किन कुमरखोद लिएर गयो ? अहिले छोरी बेपत्ता हुँदा उनीहरू हामीलाई केही थाहा छैन भनिरहेका छन् ।’

उनले छोरी बेपत्ता भएको विषयमा प्रहरी प्रशासनबाट पनि सहयोग नपाएको गुनासो गरे । उनले भने, ‘छोरी बेपत्ता भएलगत्तै हामीले इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थियौं । प्रहरीले पनि छोरीको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी दिएको छैन ।’ स्थानीय दिनेश श्रेष्ठले पनि प्रहरी प्रशासनले यो घटनालाई गम्भीर रूपमा नलिएको आरोप लगाए । उनले २३ दिनसम्म बेपत्ता युवतीका विषयमा प्रहरी कार्यालयमा उजुरीसमेत दर्ता नहुनु दु:खद भएको बताए । उनले प्रहरीलाई घटनाबारे जानकारी भए पनि कानुनीभन्दा पनि सहमतीय ढंगबाट अघि बढ्नु लापरबाही भएको बताए ।

‘यो विषयमा जानकारी गराउँदा प्रहरीले मनीषाको हुलिया मात्र माग्यो । हुलियाअनुसार एक सातासम्म अनुसन्धान गरेपछि पुन: १० दिन सयम दिनुहोस् भन्यो,’ श्रेष्ठले भने, ‘आजसम्म केही पत्ता लागेन ।’ इप्रका झिलझिलेका प्रमुख प्रहरी निरीक्षक कैलाश राईले बेपत्ता युवतीको खोजी जारी रहेको बताए । उनले पीडित परिवारले नै लिखित उजुरी नदिएकाले अनुसन्धान अघि बढाउन नसकिएको बताए । पीडित परिवारले छोरी बेपत्ता बनाएको भनी किटानसहित लिखित उजुरी दिए तत्काल सोहीअनुरूप अघि बढ्ने उनको भनाइ छ । कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

25190