गोरखालीको बहादुरी र तागतलाई कसैले रोक्न सक्दैन: भारतीय राजदूत पुरी

गिता राना मगर-

पोखरा । भारतीय राजदूत मन्जिभ सिंह पुरीले गोरखाली सेनाको बहादुरी र तागतलाई कसैले रोक्न नसक्ने वताएका छन्।

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पोखरामा आयोजना गरेको पांचौ वीर गोरखा दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै राजदूत मन्जिभ सिंह पुरीले भारतीय सेनामा कार्यरत गोरखाली सेनाको तागतलाई कसैले रोक्न नसक्ने वताएका हुन्।

पुरीले भारतीय सेनामा कार्यरत रही विदाको समयमा नेपालमा फर्कने क्रममा भारतीय रेलमा ८ जना डांकाहरुलाई परास्त गरी रेलमा सवार धेरैजनाको ज्यान जोगाउन सफल भारतीय सेना विष्णु बहादुर श्रेष्ठलाई इगित गर्दै भारतीय सेनामा कार्यरत नेपाली बहादुर सैनिक जवानहरुले आफ्नो कार्यकौशलतालाई जहाँ अफ्ठेरो पर्छ त्यहाँ प्रयोग गर्ने क्षमता भएकाले गोरखाली सेनाको बहादुरीपना र तागतलाई कसैले रोक्न नसक्ने वताए। त्यही बहादुरीलाई सम्बोधन गर्दै भारत सरकारले सूर्य चक्रबाट समेत श्रेष्ठ जस्ता सयौ सेनालाई विभूषित गरेको पुरीको भनाइ रहेको थियो।

त्यसैगरी पुरीले भारतीय सेनाबाट अवकास प्राप्त गरिसकेपछि पनि भारतिय भुतपूर्व सेनाहरुले नेपालमा सामाजिक कामको माध्यामबाट सम्पूर्ण भूपूहरुलाई एकताबद्ध बनाइ नेपालको बिकासमा लागेको र त्यसमा भारत सरकारले समेत थप सहयोग गरी सामाजिक कामलाई गाउ गाउमा समेत पुर्याउन सफल भएको वताए । आगामी दिनमा पनि गोरखा भूपूहरुसंग सहकार्य गरी भारत सरकारले नेपालको सामाजिक, आर्थिक र अन्य बिकासका कामहरुलाई अगाडि वढाउने वताए । पुरीले भूपू गोरखाहरुले नेपालको नागरिकताको समस्याको बारेमा उठाइएको कुराको बारेमा भने केही सम्बोधन गरेनन्।

सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले भारतीय र नेपाली सेना तथा प्रहरीमा कार्यरत अवकास प्राप्त सैनिकहरुको सहकार्यले सामाजिक कामसंगै वर्षमा एक पटक भएपनि सवैजना एकै थलोमा भेटघाट भइ आफ्ना अनुभवहरु साटासाट गर्ने वीर गोरखा दिवसले भूपूहरुलाई एकजुट हुने मौका प्रदान गरेको वताउदै सम्पूर्ण मिलेर देशको बिकासतर्फ लाग्नुपर्नेमा जोड दिए।

संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका सह अध्यक्ष डाक्टर लक्ष्मीकान्त पाण्डेले अवकास प्राप्त भारतीय सेनाका श्रीमतीहरुले अझैपनि नागरिकताको नामकै कारण पेन्सन प्राप्त गर्नका लागि विभिन्न बाधाव्यवधान उत्पन्न भइरहेको र यसबारेमा भारतीय सरकारले चासो देखाउनुपर्ने वताएका थिए । पाण्डेले नागरिकताको समस्यासंगै भूपूका छोराछोरीहरुलाई भारतीय सरकारले डाक्टर इन्जीनियर क्षेत्रमा अध्ययन गर्नका लागी छात्रबृद्धिको सुविधा भारत सरकारले गर्न सकेको खण्डमा राम्रो हुने वताएका थिए।

त्यस्तै महासंघका अध्यक्ष कर्णेल धन बहादुर थापाले भारत सरकारले भूपूहरुसंग मिलेर आफूहरुको सीपलाई प्रवद्र्धन गराउनका लागी नेपाल सरकार संग आग्रह गरिदिन समेत आग्रह गरे । उक्त अवसरमा भारतिय सेनाका छोराछोरीहरु डाक्टर र इन्जिनियर पदमा कार्यरत एक दर्जनवढीलाई सम्मान गरिनुका साथै भारतीय सेनाबाट अवकास प्राप्त सेनाहरुले आफ्नो पल्टनमा देखाइने खुकुरी नृत्य, विभिन्न सांस्कृतिक नृत्य, पञ्चे वाजाहरुको प्रदर्शनी गरिएको महासंघका महासचिव तिल बहादुर उप्रेती केसीले जानकारी दिए।

यसैविच संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पांचौ वीर गोरखा दिवस २०७५ को अवसरमा आयोजित लक्की ड्र मार्फत ४३ गोर्खा राइफलका अवकास प्राप्त पोखरा १३ पाटन वेसीका आर्मी धनबहादुर गुरुङले विगो स्कुटर हात पारेका छन । महासंघले पांचौ वीर गोरखा दिवसको अवसर पारी विभिन्न १८ विद्यामा लक्की ड्र मार्फत बिजेता घोषणा गरेको थियो।





Comments

comments

28630