चितवन । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ।
देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः १० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनअनुसार दिउँसो ३ः ४० बजे नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ । नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ।
नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मको उच्च जलसतह आज मापन भएको हो । पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उहाँले बताउनुभयो।
कार्यालयका अभिलेखअनुसार विसं २०८१ असोज १२ गते नारायणी नदीमा उच्चतम जलसतह ११ दशमलव छ मिटर पुगेको थियो । विसं २०८० साउन २९ गते आठ दशमलव ३३ मिटर, विसं २०७९ असोज २० गते नौ दशमलव ५२ मिटर र विसं २०७८ असार २ गते १० दशमलव ५० मिटर उच्चतम जलसतह मापन गरिएको अभिलेखमा उल्लेख छ । उहाँका अनुसार देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको हो। रासस


