पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मध्यरातमा पक्राउ, सुरक्षा थ्रेट कि न्यायिक हस्तक्षेप?

–

एचकेनेपाल डट कम –
काठमाडौँ। नेपालका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गएराति महाराजगञ्जस्थित उनको निवासबाट नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको विशेष टोलीले चलाएको यो मध्यरातको अपरेशनका क्रममा प्रहरीले अदालतबाट कुनै पक्राउ पुर्जी लिएको थिएन। प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी दिएर सिधै टेकुस्थित कार्यालयमा पुर्‍याएको हो।

यस आकस्मिक घटनालाई लिएर प्रहरी प्रशासन र गृह मन्त्रालय सम्बद्ध स्रोतहरूबाट फरक–फरक दाबी र कारणहरू सतहमा आएका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा संवेदनशीलता र ‘थ्रेट’ का कारण नियन्त्रणमा राखिएको दाबी गरेका छन्। जबराका भाइ प्रभुशमशेर जबराका अनुसार पनि प्रहरीले निवासमा पुगेर ‘तपाईंलाई जेनजी अभियन्ताहरूबाट सुरक्षा थ्रेट छ, केही अप्रिय घटना हुन सक्छ’ भन्दै सुरक्षा दिने बहानामा लिएर गएको थियो।

तर, गृह मन्त्रालय र न्यायिक स्रोतहरूले भने जबराको पछिल्लो अस्वाभाविक राजनीतिक सक्रियता र न्यायिक हस्तक्षेपका कारण उनलाई नियन्त्रणमा लिइएको बताएका छन्।

उनीमाथि अदालतमा विचाराधीन रहेका बहुचर्चित टेरामाक्स भ्रष्टाचार मुद्दा र वीरगञ्जका मेयर राजेशमान सिंह जोडिएको संवेदनशील मुद्दामा सेटिङ गर्न खोजेको र न्यायाधीशहरूलाई प्रभावमा पार्न खोजेको गम्भीर आरोप लागेको छ।

पछिल्लो समय उनको निवासमा राजनीतिक व्यक्तिहरूको आउजाउ निकै बढेपछि गुप्तचर निकायहरूले उनीमाथि निरन्तर निगरानी राखिरहेका थिए।

विशेष अदालतका न्यायाधीशहरूले समेत उनको दबाब र हस्तक्षेपका कारण काम गर्ने वातावरण नभएको भन्दै उच्च तहमा गुनासो गरेपछि यो कदम चालिएको बुझिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसङ्घको महासभाबाट नेपाल फर्किएको केही घण्टामै यो आकस्मिक निर्णय लिइएको हो।

आज सार्वजनिक बिदा परेका कारण पूर्वप्रधानन्यायाधीश जबरालाई सोमबार मात्रै म्याद थपका लागि अदालतमा उपस्थित गराइने तयारी छ।

अदालतमा हाजिर गराएपछि मात्र उनीमाथि कुन कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइने हो वा प्रहरीको दाबी अनुसार सुरक्षा व्यवस्थापन पछि उनलाई छाडिने हो भन्ने कुरा आधिकारिक रूपमा स्पष्ट हुनेछ।





Comments

comments

141066